• ९ मंसिर २०८१, आइतबार

पुस १६ : जे देखियो, जे भोगियो

blog

२०३३ पुस १६ गतेको काठमाडौँको राजनीतिक तापक्रम मौसमी चिसोलाई हपक्कै तताउन सफल थियो । प्रजातान्त्रिक राजनीतिक चेतना भएका उपत्यकावासी सबैमा आज त्रिभुवन विमानस्थलमा के हुन्छ ? त्यहाँ कसरी सहभागी हुने ? सहभागिताको प्रत्यक्ष सफलता मिल्ने हो वा होइन, ठूलै दुर्घटना हुने हो कि ? जस्ता जिज्ञासा र उत्सुकता थियो । उपत्यकावासीमा दुर्घटनाको आशङ्का भए पनि उत्सुकताले जितेको थियो । जस्तोसुकै खतरा मोलेर भए पनि त्रिभुवन विमानस्थलमा बीपीलाई हेर्ने र स्वागत गर्ने दृढ चाहना थियो । त्यस दिन बीपी भारत प्रवासबाट पटना हुँदै त्रिभुवन विमानस्थलमा अवतरण गर्दै थिए । म र भाइ (२०७० मा दिवङ्गत प्राध्यापक) कुमार आचार्य पनि उपत्यकाको त्यस हुलभित्र समाहित थियौँ । 

मैले किशोर कालमा बीपीका बारेमा सुनेको थिएँ । उनी ठूला विचारक र साहित्यकार हुन् रे । प्रजातान्त्रिक नेपालका संस्थापक हुन् रे । उनको चिन्तन र साहित्य नेपालको प्रजातान्त्रिक इतिहास र आधुनिक नेपाली साहित्यको इतिहासमा महìवपूर्ण छ रे । पहाड गाउँतिर दाउरे–घाँसेहरू उच्च स्वर हालेर बीपीबारे गीतका दुई पङ्क्ति गाउँथे–

“पानी प-यो, असिना ओइरालो

मन्त्री भयो, विश्वेश्वर कोइरालो ।”

यो गीत सुन्दा म बालकै थिएँ । किशोर हुँदै गएपछि मैले गाउँमै बीपीबारे थोरै थाहा पाएँ । प्रस्तुत लोकगीतको भाखा र लयमा खासै औपचारिकता नभए पनि ग्रामीण हार्दिकता थियो । बीपी प्रधानमन्त्री भएको गाउँ भाखाले पनि थाहा पाएको थियो । २०२७–२०२८ तिर म खोटाङको दुर्गम गाउँ चुइचुझाबाट अध्ययननार्थ सुनसरी धरान झरेपछि मैले बीपीबारे थप जानकारी पाउने मौका पाएँ । त्यस बेलासम्म पनि बीपीलाई प्रत्यक्ष रूपमा देख्ने मौका भने पाएको थिइन । 

मैले सुनेको थिएँ– बीपीले निर्दलीय पञ्चायती व्यवस्था नेपाल र नेपाली जनताका लागि उपयुक्त छैन । यस देशको सर्वाङ्गीण विकासका निमित्त प्रजातन्त्र अपरिहार्य छ भन्दा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी र उनको सरकारलाई हठात् अपदस्थ गरी उनलाई लामो समयसम्म काठमाडौँ सुन्दरीजल कारागारमा राखेका थिए रे । उनी केही समय पहिले रिहा भएका छन् रे र क्यान्सरका बिरामी छन् रे । त्यसपछि फेरि सुने– बीपी स्वास्थ्योपचारका निमित्त देशबाहिर गए रे र अचेल प्रवास (भारतको बनारस) मा बस्छन् रे । नेपाली कांग्रेसका नेता, कार्यकर्ता र विद्यार्थीहरू भूमिगत रूपमा गोप्यता अवलम्बन गर्दै बनारसमा बीपीलाई भेट्दा रहेछन् तर मलाई भने त्यो अवसर मिलेको थिएन । सायद त्यसबेला म मा त्यस्तो राजनीतिक चेतना र आँटको विकास भएको थिएन, जसको बलमा उनीहरूले जस्तो बनारस गएर बीपीलाई भेट्न सकूँ । बीपीलाई भेट्ने इच्छा भने म मा तीव्र रूपमा जागृत भएको थियो । 

२०३३ सालमा म उच्च अध्ययनार्थ धरानबाट काठमाडौँ आएँ । त्यस बेला मुलुकभरिका धेरै विद्यार्थी उच्च अध्ययनार्थ काठमाडौँ नै आउने गर्थे । अरू विकल्प खासै थिएन । ठीक यसै सालको पुस १६ गते बीपी राजनीतिक प्रवासबाट स्वदेश फिर्ने हल्लाले काठमाडौँलाई तताएको थियो । हामीहरू पनि तरङ्गित थियौँ । बीपी भारतको पटनाबाट काठमाडौँ अवतरण गर्दै छन् भन्ने ठूलो हल्ला भित्रभित्रै चल्न थाल्यो । खुला रूपमा प्रचारप्रसार गर्न र सोधखोज गर्न कडा प्रतिबन्ध थियो । हामीहरू भित्रभित्रै बीपीको स्वागतका लागि तयार भयौँ । सो दिन लुग्दै–छिप्दै त्रिभुवन विमानस्थल पुगेपछि मात्र हामीलाई थाहा भयो– कति ठूलो सङ्ख्यामा युवा विद्यार्थी र पार्टीका समर्थकहरू बीपीलाई स्वागत गर्न लालायित रहेछन् । विमानस्थल खचाखच थियो । सेना, प्रहरीका जवान र सरकारी मानिसहरू पनि सराबर थिए । 

दूरदर्शी राष्ट्रवादी चिन्तक बीपीले सोचका थिए– “अब पनि राजा र जनताबीच द्वन्द्व चर्कियो भने मुलुकमा तेस्रो शक्ति (विदेशी शक्ति) हाबी हुनेछ र राष्ट्र सङ्कटमा पर्नेछ । अब राजशक्ति (राजा) र जनताबीच मेल हुनु आवश्यक छ । राष्ट्रियता जोगाएर राष्ट्र बचाउने यो एक मात्र प्रजातान्त्रिक राजनीतिक उपाय हो । मलाई थाहा छ, अहिलेको अवस्थामा स्वदेश फर्किनु भनेको ज्यानको बाजी लगाउनु हो । मेरो ज्यानै पनि लिन सक्छन् तर देश र जनताभन्दा मेरो ज्यान कदापि ठूलो होइन ।” यो आत्मचिन्तनबाट प्रभावित भएर बीपी ‘राष्ट्रिय मेलमिलाप’ को नीतिका साथ स्वदेश फर्किन लागेका थिए । कांग्रेसका स्वदेशी मित्रहरू, प्रजातन्त्रप्रेमी नेपाली जनता र विदेशी प्रजातान्त्रिक समाजवादी नेताहरूले समेत नेपालमा बीपीको जीउ ज्यानमा खतराको स्थिति रहेको जानकारी गराउँदा गराउँदै पनि बीपी आफ्नो जीउ ज्यानको पर्वाह नै नगरी राष्ट्र र राष्ट्रियताको रक्षाका लागि भारत प्रवासबाट स्वदेश फर्किएको दिन हो २०३३ पुस १६ । 

हामीहरू तिनीहरूसँगै उभिएर बीपीको जहाजको अवतरणको प्रतीक्षा गरिरहेका थियौँ । बीपीलाई प्रत्यक्ष रूपमा देख्ने उत्कट चाहनामा हामीले आइपर्ने जुनसुकै खतरालाई पनि बिर्सिएका थियौँ । उपस्थित जनसमूहले बीपीको जहाज अवतरण भएको सङ्केत ग¥यो । एक्कासि हुलमा चारैतिर वीर विश्वेश्वर जिन्दावाद, प्रजातन्त्र ल्याउँछौँ, ल्याउँछौँ को नारा घन्किन थाल्यो । स्वागतमा उपस्थित प्रजातन्त्रप्रेमी सबैको मनमा बीपीलाई देख्ने ठूलो उत्सुकता थियो । एकैछिनमा त्यहाँ भीषण दोहोरो भीडन्त हुन थाल्यो । सरकार र व्यवस्थाले प्रजातन्त्रप्रेमी नेपालीमाथि त्यस्तो बर्बर साङ्घातिक आक्रमण गर्ला भन्ने हामीले सोचेका थिएनौँ । त्यसैले हामी कसैमा पनि त्यस किसिमको भिडन्त र पाशविक कार्यको कल्पना थिएन । हामीहरू निहत्था थियौँ । व्यवस्थाका मण्डलेहरू सुनियोजित ढङ्गले तयारीका साथ आएका रहेछन् । उनीहरूले चक्कु, छुरी, खुकुरी, चेन, तरबार, ढुङ्गामुढाले चारैतिरबाट हामीमाथि आक्रमण गरे । उनीहरू उग्र थिए र बीपी विरोधी नारा पनि लगाइरहेका थिए । 

साथीहरूले मण्डलेहरूको साङ्घातिक आक्रमणको प्रतीकार गर्न खोजे तर हातहतियारका अगाडि कसैको केही लागेन । कति साथीहरू गम्भीर घाइते भए । कतिलाई ज्यान जोगाएर भाग्न धौधौ प¥यो । बीपीलाई सेनाले सिधँै गिरफ्तार गरेर सुन्दरीजल लग्यो । बीपीलाई देख्ने हाम्रो चाहना सफल भएन । हामी निराश रह्यौँ । हामीले निराशाको अनुभूति पनि गर्न पाएनौँ । लेखक आफैँ, भाइ कुमार आचार्य, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, प्रह्लाद आचार्य आदि धेरै साथी घाइते भयौँ । घाइते साथीहरूलाई स्वस्थ हुन धेरै समय लाग्यो । प्रजातान्त्रिक सङ्घर्षको इतिहासमा २०३३ पुस १६ मा त्रिभुवन विमानस्थलमा यस्तो बर्बर, अप्रजातान्त्रिक, पाशविक दृश्य देखियो र भोगियो । 

अहिलेको प्रजातान्त्रिक खुला वातावरणमा बसेर साढे चार दर्शक पहिलेको त्यस अवस्थाको दृश्य सम्झिँदा स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकारका दृष्टिले निकै परिवर्तन भएजस्तो लाग्छ तर के यो परिवर्तन केवल टाठाबाठा नेपालीहरूका लागि मात्र भएको हो अथवा कागजमा मात्र सीमित हो भन्न सकिने अवस्था छैन । बीपीले आजीवन गरेको राजनीतिक सङ्घर्ष र त्याग के का निमित्त थियो ? नेपाली जनताको राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक र सांस्कृृतिक परिवर्तनको निमित्त थिएन र ? बीपीको राष्ट्रिय मेलमिलापको नीतिको सम्झना र चर्चा गर्दा इमानदार भएर त्यसको मर्मसम्म पुग्ने प्रयत्न गर्ने हो भने नेपाली जनचाहना अपूर्ण र अधुरै रहेको अनुभव हुँदैन ? राष्ट्रिय मेलमिलाप दिवसले हाम्रो चेतनाको बन्द ढोका खोल्न प्रेरणा देओस् ।