• २० असोज २०८१, आइतबार

जिल्लाका उत्पादन बेच्ने कोसेली घर बन्द

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, पुस १५ गते । रुकुमपश्चिमको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको रुकुमेली कोसेली घर दुई वर्षदेखि बन्द अवस्थामा रहेको छ। नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा कोसेली घर सञ्चालनमा ल्याइएको थियो।

मुसीकोट नगरपालिका–१, शहीद मैदानस्थित कोसेली घर ११ वर्ष पहिले सञ्चालनमा ल्याइएको थियो। सञ्चालक समितिका अध्यक्ष विवेक ओलीका अनुसार आर्थिक सङ्कटका कारण कोसेली घर बन्द अवस्थामा रहेको छ। आर्थिक समस्या र अघिल्लो सञ्चालक समितिले नयाँ कार्यसमितिलाई हिसाबकिताब नबुझाएकाले कोसेली घर बन्द भएको अध्यक्ष ओलीको भनाइ छ। कोसेली घर सञ्चालक समितिका पूर्वसचिव कर्णबहादुर ओलीले घरमा स्थानीय उत्पादन जम्मा गरिएको भए पनि बजारीकरणको समस्याका कारण बन्द भएको बताउनुभयो। स्थानीय सरकारले बजारीकरणमा ध्यान दिएमा सञ्चालनमा कुनै समस्या नहुने उहाँको भनाइ छ। 

कोसेली घरबाट भेडाको रौँबाट बनेका राडीपाखी, अल्लोबाट उत्पादित कपडा, काठबाट उत्पादित विभिन्न कलाकृति, दूधजन्य उत्पादन, घिउ, मह, अमला, बीउबिजन, विभिन्न फलफूलको जुस बिक्री गरिँदै आएको थियो। रुकुमकोटको कमलदहमा पाइने कमलको चाना, लोक्ताबाट बनेका वस्तु, बाँस तथा हस्तकलाका साधनसमेत बिक्रीका लागि राखिने गरिएको थियो।

मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले कोसेली घर पुनः सञ्चालनका लागि पहल गरिने बताउनुभयो।