• १३ साउन २०८१, आइतबार

युद्धको त्रासमा बाँचेको वर्ष

blog

सन् २०२२ समग्रमा सुखद रहेन। रुस र युक्रेनबीचको युद्धले विश्वको सबै क्षेत्र प्रभावित भयो। यसले विश्वव्यापी रूपमा महँगी र बेरोजगारी बढायो। रुसले फेबु्रअरी २४ देखि युक्रेनमाथि आक्रमण सुरु गरेसँगै युद्ध चर्केको हो । रुसको तुलनामा युक्रेन सानो र कमजोर भए पनि आत्मसमर्पण गरेन । रुसविरुद्ध कडा नाकाबन्दी लगाउँदै अमेरिकालगायतका पश्चिमी मुलुकले युक्रेनलाई हतियार र आर्थिक सहयोग गर्दा युद्ध लम्बियो । यो युद्धमा सेना र सर्वसाधारण गरी ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने अर्बौं डलरको भौतिक क्षति भइसकेको छ । युद्ध अन्त्य हुने लक्षण छैन । 

रुसले कब्जा गरेका युक्रेनका चार प्रान्त लेहान्स्क, डोनेट्स्क, जापोरिजा र खेअर्सनमा जनमत सङ्ग्रह गराइ आफूमा विलय गरायो। 

यता आर्थिक सङ्कटले श्रीलङ्का टाट पल्टियो। चरम महँगी र इन्धन अभावले जनआक्रोश सामना गर्न नसकेपछि राष्ट्रपति गोटाबाय राजपाक्ष भागेर सिङ्गापुर पुग्नुभयो। उहाँले राजीनामा गर्नुभयो । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई राष्ट्रपति बनाइयो । उहाँले मुलुकको समस्या समाधान गर्न नीतिगत सुधारका कार्यक्रम ल्याए पनि समस्या समाधान हुन सकेन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपछि ७३ वर्षे युवराज चाल्र्स नयाँ राजा बन्नुभयो । उहाँलाई राजा चाल्र्स तृतीय भनिन्छ । नयाँ राजाले मुलुक र मुलुकवासीको हितमा काम गर्ने बताउनुभएको छ । 

यस वर्ष बेलायतमा राजा मात्र होइन तीन जना प्रधानमन्त्री फेरिए। मुलुकले भोग्नु परेको आर्थिक सङ्कट तथा सत्तारूढ कन्जर्भेटिभ पार्टीभित्रको विवादका कारण प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिनुभयो। उहाँको सट्टा लिज ट्रस प्रधानमन्त्री बन्नुभयो। उहाँ ४५ दिनमै असफल भई राजीनामा दिन बाध्य हुनुभयो । उहाँले राजीनामा दिएपछि ४२ वर्षीय पूर्वअर्थमन्त्री ऋषि सुनक प्रधानमन्त्री बन्नुभयो । उहाँले पार्टीभित्रको विवाद मिलाइ मुलुकको अर्थ व्यवस्थामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

इजरायलमा १२ वर्षपछि सत्ताबाट बाहिरिनुभएका पूर्वप्रधानमन्त्री बेन्यामिन नेतान्याहुको लिकुड पार्टीसहितको गठबन्धनले संसदीय निर्वाचनमा बहुमत ल्याएपछि उहाँ पुनः प्रधानमन्त्री बन्नुभयो । १४ महिनाअघि उहाँलाई सत्ताबाट हटाएको आठ दलीय गठबन्धनको सरकार ढलेपछि चार वर्षमा पाँचौँ पटक निर्वाचन भयो । नेतान्याहुले इजरायललाई कमजोर हुन नदिने बताउनुभएको छ । उहाँले प्यालेस्टाइनप्रति नरम नीति नल्याउने सङ्केत गर्नुभयो । 

चीनमा सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भयो। महाधिवेशनले राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालका लागि अनुमोदन ग¥यो। उहाँ निर्विकल्प नेता बन्नुभयो। उहाँको प्रतिस्पर्धी कोही देखा परेन। राष्ट्रपति सीले चीनलाई समृद्ध मुलुक बनाउने घोषणा गर्नुभयो। अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको विवादास्पद भ्रमण गरेसँगै चीन र अमेरिकाबीच चरम कूटनीतिक विवाद भयो। 

चीनले ताइवानविरुद्ध सैन्य अभ्यास मात्र गरेन कि चीनविरोधी गतिविधि नरोके बल प्रयोग गर्ने धम्की दियो। चीनले ताइवानलाई नउचाल्न अमेरिकालाई समेत सचेत गरायो।

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा ७७ वर्षीय वामपन्थी नेता लुइज इनासिया लुला दा सिल्भा दोस्रो चरणको राष्ट्रपति निर्वाचनमा विजयी हुनुभयो। उहाँले घोर दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्नुभयो। यसअघि दुई पटक राष्ट्रपति बनिसक्नुभएका लुलामाथि लगाइएको भ्रष्टाचारको मुद्दा गलत साबित भएपछि उहाँ चुनाव लड्नु भएको हो। प्रहरी हिरासतमा यातना दिएर इरानकी २२ वर्षीया महिला महसा अमिनीको मृत्यु भएपछि इरानमा हिजाब विद्रोह भयो। हिजाबविरुद्ध स्वदेश तथा विदेशमा ठूलठूला विरोध प्रदर्शन भए। विरोध प्रदर्शनमा लाखौँ महिला सहभागी भए। सरकारले दमन नीति लिँदा एक सयभन्दा बढीको ज्यान गयो भने  हजारौँ पक्राउ परे। इरानमा क्रान्तिपछि यस पटक महिलाले गरेको सबैभन्दा ठूलो विरोध प्रदर्शन थियो।

द्रौपदी मुर्मु भारतको पन्धौँ राष्ट्रपति निर्वाचित हुनुभयो। उहाँ भारतको सर्वोच्च पदका पुग्ने आदिवासी समुदायकी प्रथम सदस्य हुनुहुन्छ । ६४ वर्षीया आदिवासी नेत्री मुर्र्मुको जन्म उडिसा राज्यमा भएको हो। राष्ट्रपति रामनाथ कोविन्दकाको कार्यकाल सकिएपछि उहाँ नयाँ राष्ट्रपति बन्नुभएको हो। अस्ट्रेलियाको आमनिर्वाचनमा लेबर पार्टीका प्रधानमन्त्री स्कट मरिसनलाई हराएर विपक्षी लेबर पार्टी विजयी भयो। सो पार्टीका नेता एन्थोनी अल्बानिज नयाँ प्रधानमन्त्री बन्नुभयो। जर्मनीमा जी ७ को शिखर सम्मेलन सम्पन्न भयो। विश्वका धनी सात मुलुकका नेताहरूले गरिब मुलुकका लागि छ खर्ब डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२७) इजिप्टको सार्म इल शेखमा सम्पन्न भयो। विश्वको तापक्रम १.१५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि विश्वव्यापी चिन्ता बढिरहँदा विश्वका नेताले जलवायु परिवर्तनको असर कम गर्न, विश्व तापमानलाई सन्तुलनमा ल्याउन विभिन्न प्रतिबद्धता व्यक्त गरेका छन्। अहिलेको अवस्थामा सुधार नगर्ने हो भने विश्वको तापक्रम बढेर दुई डिग्री सेल्सियस पुग्ने खतरा छ।   

पाकिस्तानमा प्रधानमन्त्री इमारान खानले विघटन गरेको संसद् सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएसँगै उहाँविरुद्धको अविश्वासको प्रस्ताव पारित भयो। उहाँको सरकार ढल्यो। पाकिस्तान मुस्लिम लिग नवाजका नेता शहबाज सरिफ नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभयो। सत्ताबाट बाहिरिएका खानलाई सर्वोच्च अदालतले पाँच वर्ष चुनाव लड्न प्रतिबन्ध लगाएको छ। विरोध प्रदर्शन गर्दै लङ मार्चमा रहनुभएका उहाँमाथि पन्जाबमा गोली प्रहार भयो। गोली प्रहारबाट उहाँ घाइते हुनुभयो। 

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गरियो। गोली लागि गम्भीर घाइते उहाँको उपचारका क्रममा निधन भयो।  ६७ वर्षीय उहाँ लिवरल डेमोक्रयाटिक पार्टीका नेता हुनुहुन्थ्यो। नारा सहरमा आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला उहाँमाथि गोली प्रहार भएको थियो। उहाँलाई छातीमा गोली लागेको 

थियो। तत्काल एम्बुलेन्समा हालेर अस्पताल लगिएको थियो। आक्रमणकारी ४२ वर्षीय तेत्सुया यामागामीमाथि कानुनी कारबाही सुरु भएको छ। उनी भूतपूर्व जलसैनिक हुन्।

तत्कालीन सोभियत सङ्घका अन्तिम नेता तथा राष्ट्रपति मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भयो। तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव गोर्भाचोभले सोभियत सङ्घमा खुला गर्ने नीति अङ्गीकार गरे पनि सोभियत सङ्को विघटन रोक्न सक्नुभएन। उहाँ सन् १९८५ देखि १९९१ सम्म नेतृत्वमा रहनुभयो। उहाँको खुलापनबारेको नीति ग्लास्नोस्तले त्यसअघि अकल्पनीय मानिएको सरकारलाई जनताले आलोचना गर्न अनुमति प्रदान गरेको थियो। सोभियत सङ्घको आधुनिकीकरणका निम्ति भनेर ल्याइएको उक्त नीतिले अन्ततः सोभियत सङ्घकै विघटन ग¥यो।

भारतीय प्रसिद्ध गायिक लता मङ्गेसकरको ९२ वर्षको उमेरमा निधन भयो। उहाँले हजारौँ कालजयी गीत गाउनु भएको थियो। म्यान्मारमा सैनिक सरकार झन् कठोर बन्यो। त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा २६ वर्ष जेल सजाय तोकेको छ। उहाँलगायत सयौँ नेता तथा कार्यकर्तालाई जेलमा हालिएको छ। त्यहाँ तत्काल प्रजातन्त्र पुनस्र्थापना हुने सम्भावना कम छ।

हिंसात्मक प्रदर्शन भएपछि कजाकस्तानका राष्ट्रपति कास्यत जोमार्त तोकाएभद्वारा सरकार विघटन गरी सङ्कटकाल लागू गर्नुभयो। रुससँग सैन्य सहयोग मागेपछि रुसी सेना कजाकस्तानमा तैनाथ गरियो। हिंसात्मक प्रदर्शनमा १६४ जनाको ज्यान गयो। बुर्किना फासोमा सेनाद्वारा सत्ता कब्जा ग¥यो। राष्ट्रपति रोच मार्च क्रिश्चियन काबोरलाई बर्खास्त गरियो। उत्तर कोरियाली नेता किम जोङ उनले सत्ता सम्हालेको १० वर्ष पूरा भयो। यो अवधिमा चार पटक परमाणु हतियार परीक्षण गरियो। सम्बन्ध सुधार गर्ने भनिए पनि दक्षिण कोरिया, जापान र अमेरिकासँग कटुता घटेन। एक दर्जनभन्दा बढी क्षेप्यास्त्र परीक्षण गरी आफ्नो असहमति प्रकट ग¥यो। चर्चित लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा छुरा प्रहार भयो। उहाँ गम्भीर घाइत हुनुभयो। उहाँको अवस्था अहिले सामान्य बनेको छ। 

यता अल कायदाका नेता अयामान अल जबाहिरी अमेरिकी ड्रोन आक्रमणमा अफगानिस्तानमा मारिए। उनी मारिएपछि अल कायदालाई ठूलो क्षति भयो। सिरियामा गरिएको अमेरिकी कारबाहीमा आईएस स्टेटका वरिष्ठ नेता अबु इब्राहिम अल हसिमी अल कुरेसीको मृत्यु भयो। इन्डोनेसियामा फुटबल हेर्ने क्रममा भागदौड हुँदा १७४ जनाको मृत्यु भयो भने दक्षिण कोरियामा हेलोविन पर्व मनाउन जम्मा भएका मानिसबीच भागदौड मच्चिँदा १५४ जनाको ज्यान गयो। भारतको 

गुजरातमा झोलुङे पुल भत्किँदा १४१ जनाको मृत्यु भयो। अफगानिस्तानमा ६.१ रेक्टर स्केलको भूकम्प जाँदा ९२० जनाको मृत्यु भयो, हजारौँ घर क्षतिग्रस्त भए। फिलिपिन्समा आँधी र पहिरोबाट १५० भन्दा बढीको मृत्यु भयो। चीनमा जेट विमान दुर्घटना हुँदा १३२ जनाको ज्यान गयो। दक्षिण अफ्रिकामा बाढीपहिरोबाट ४४३ जनाको मृत्यु भयो। ब्राजिलमा बाढीपहिरोबाट चार सय जनाको मृत्यु भयो। कङ्गोमा पानीजहाज दुर्घटना हुँदा १८० जना बेपत्ता भए।  

चीनमा शीतकालीन ओलम्पिक सम्पन्न भयो। १६ स्वर्णसहित ३७ पदक जितेर नर्वे प्रथम भयो। भारत, अमेरिका लगायतका मुलुकले कूटनीतिक बहिष्कार गरे। एसियाको सानो मुलुक कतारमा सम्पन्न विश्वकप फुटबलको २२औँ संस्करण अर्जेन्टिनाले जित्यो। फाइनल खेलमा अर्जेन्टिना र फ्रान्सबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। टाइब्रेकरमा फ्रान्सलाई ४–२ को गोल अन्तरले पराजित गर्नमा अर्जेन्टिनाका महान् खेलाडी लियोनेल मेसीको महìवपूर्ण भूमिका रह्यो। अर्जेन्टिनाले ३६ वर्षपछि तेस्रो पटक विश्व कप जितेको हो।