• १३ साउन २०८१, आइतबार

रेले खोला जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न

blog

आयोजनाको बाँध स्थलमा संरचना निर्माण गरिँदै तस्बिर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, पुस १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजनाको पचास प्रतिशत निर्माण सम्पन्न भएको छ । एक वर्ष अघि निर्माण थालेको आयोजनाले अगामी असार मसान्त सम्म निर्माण सक्ने लक्ष्य राखेको छ । 

हिम कन्सल्ट प्रा.लिले प्रवर्द्धक रहेको आयोजनामा बाँध स्थल,पाइपलाइन र विद्युतगृहको निर्माण एकसाथ अगाडि बढाइएको छ । आयोजना स्थलमा पर्याप्त मात्रामा उपकारणका साथै मजदुर र कर्मचारी गरी एक सय ६० जना जनशक्ति परिचालन गरिएको छ ।  

अन्नपूर्ण हिमालबाट बगेर आउने रेल खोलालाई तिन हजार ६ सय मिटर लामो पेन स्टक पाइपबाट ल्याएर पाँच सय ५ मिटरको हेडबाट हरिस्वारामा रहेको विद्युत गृहमा पानी खसालेर  विद्युत् निकाल्ने योजना छ ।  

सिभिलको ठेक्का पाएको साकुरा पावर कन्स्ट्रक्सन कम्पनीले आयोजनाको बाँध, पाइ पलाइन र विद्युत गृहको संरचना करिब ५० प्रतिशत निर्माण सम्पन्न गरेको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिनुभयो ।  

उहाँका अनुसार कालो खोलामा रहेको बाँध स्थलमा हेडवक्र्स, इन्टेक,पानी थिङ्ग्राउने(डिसेन्डर) गरी ५०प्रतिशत निर्माण सम्पन्न भएको छ । आयोजनाले हरिस्वारामा विद्युतगृह निर्माण थालेको उहाँले बताउनुभयो । 

नारच्याङको बेसी देखि लेक गाउँ हुँदै आयोजना स्थलमा पहुँच मार्ग पुर्याउन आयोजनालाई करिब ४ वर्ष लागेको उहाँले बताउनुभयो । अत्यन्तै कठिन पहरा फुटालेर पहुँच मार्ग निर्माण गर्दा समय लागेको आयोजनाले जनाएको छ । 

आयोजना निर्माणका लागि करिब १८ किलोमिटर सडक निर्माण गरेका छौँ आयोजनाका इन्जिनियर भट्टराईले भन्नुभयो ‘लामो पहुँच मार्ग बनाउनुपर्ने,चिसो मौसम र बर्खाका समय बाढी पहिरोका कारण सडक अवरुद्ध हुने जस्ता समस्याहरू हुँदा पनि आयोजना निर्माणलाई गति दिएका छौँ ।’  आयोजना सम्पन्न गर्न प्रतिमेगावाट २० करोड रुपियाँ  लागत अनुमान गरिएको छ ।

कूल लागतको ७० प्रतिशत लगानी बैङ्कले गरेका छन् । हिमालय बैङ्कको अगुवाइमा राष्ट्रिय वाणिज्य बैङ्कले  ऋण लगानी गर्ने भएको छ । हिमालयले कूल लागतको ५० प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कले २० प्रतिशत लगानी गरेको कम्पनीले जनाएको छ । 

आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत् काली गण्डकी कोरिडोर प्रसारण लाइनका दाना सब स्टेसनमा जोडिनेछ । दाना सब स्टेसनसम्म कम्पनीले ४ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिने आयोजनाले जनाएको छ । 

नारच्याङमा मात्रै ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजना सञ्चालनमा छन् । निलगिरी हाइड्रो पावरले निर्माण गर्ने एक सय १० मेगावाटका  निलगिरी पहिलो र निलगिरी क्यासकेड आयोजना निर्माणको अन्तिम चरण पुगेका छन् ।