• २० असोज २०८१, आइतबार

हिल्साबाट आयात सुरु

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस १४ गते  । कोरोना महामारी सुरु भएसँगै बन्द भएको नेपाल र चीनको सिमाना हिल्सा नाकाबाट व्यापारिक प्रयोजनका लागि सामान आउन सुरु भएको छ । स्थानीय प्रशासनको पहलमा सिमकोट र नाम्खा गाउँपालिकाका व्यवसायीले सामान आयात सुरु गरेका हुन् । 

पहिलो चरणमा १८ वटा पिकअप भ्यानमा बुधबार चिनियाँ पक्षले भन्सारका कर्मचारीको उपस्थितिमा सामान ल्याइएको हो । आयात गरिएका समानमा व्यापारिक प्रयोजनका साथै विकास निर्माणका सामान पनि भित्रिएका छन् । चिनियाँ पक्षले अब नियमित रूपमा ताक्लाकोटबाट सामान पठाउने तर हाललाई नेपालबाट भने नलिने चिनियाँ पक्षको निर्णय भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । लामो प्रयासपछि हिल्सा नाकाबाट व्यापारिक प्रयोजनका लागि सामान भित्र्याउन सफल भएको बताउनुभयो । उहाँले चिनियाँ पक्षसँग खाद्यान्न र इन्धनका विषयमा पनि कुराकानी भइरहेको जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले गत कातिकमै नाका खुलाउन परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावासमा पत्राचार गरेको थियो । राजस्व सङ्कलनका लागि यारी नाकामा भन्सार कार्यालयका प्रमुख राजराज जैसी खटिनुभएको छ । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले कोरोनायता पहिलो पटक चीनको ताक्लाकोटबाट व्यापारीको सामान नेपालमा ल्याउन सफल भएको बताउनुभयो । २०७६ सालबाट कोरोनाका कारण चीनबाट हिल्सा नाका हुँदै हुम्लामा सामान आउन छोडेको थियो । 

उहाँले लत्ताकपडालगायतका सामान पहिलो पटकमा नेपाल भित्रिएको बताउनुभयो । अहिले करिब तीन करोड रुपियाँ बराबरको सामान आयात भएको व्यवसायीले बताएका छन् ।