• १९ असोज २०८१, शनिबार

जनताको घरदैलोमा सेवा दिँदै व्यास नगरपालिका

blog

स्थानीयको घरमै पुगेर स्वास्थ्य जाँच गरिँदै । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

दमौली, पुस १३ । सङ्घीयताको मूल मर्म अनुसार केन्द्रीय शासन सत्तालाई विकेन्द्रित गरी जनताको घरदैलोमा सेवा पु¥याउन स्थानीय स्तरमा पालिका बनाइएका हुन् । तिनै स्थानीय स्तरका पालिकाहरु हिजोआज भने मूल मर्म अनुसार नै जनताको घरदैलोमा नै पुगेर सेवा प्रवाह गर्न थालेका छन् ।

यो सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण एक अंश पनि हो । यस्तैमा घर घरमा सिंहदरबारको प्रत्याभूति दिलाउन तनहुँको व्यास नगरपालिका जनताको घरदैलोमा पुगेको छ । नगरपालिकाले सबै वडामा योजनाबद्ध तरिकाले ग्रामीण भेगका सेवाग्राहीलाई लक्षित गरी  एकीकृत घुम्ती सेवामार्फत  घर आँगनमै पुगेर सेवा दिन थालेको हो । पहिलो चरण अन्तर्गत एकीकृत घुम्ति शिविरमार्फत सोमबार पुस ११ गतेदेखि पुस २० सम्म सेवा प्रदान गर्ने कार्य भइरहेको छ ।


 शिविरमा नगरपालिका तथा वडाबाट सम्पादन हुने विविध कार्यहरु शिविरमार्फत घरदैलोबाटै सम्पादन हुने व्यवस्था मिलाइएको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो । ‘ग्रामिण भेगका जनतालाई स्थानीय स्तरमै झन्झटरहित सेवा प्रवाह गर्न शिविर सञ्चालन गरेका हौं’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ।

नगरपालिका अनुसार वडा नं १ को कार्यालयबाट सञ्चालनमा ल्याइएको शिविर नगरपालिकाको वडा नं १ र ५ देखी १४ सम्मका वडाहरुमा सञ्चालन गरिने छ  । १४ वटै वडामा पहिलो चरणको सेवा प्रदान गरिने र यसको प्रभावकारिताको अध्ययन गरेर र नागरिकहरुको सहभागिताको आधारमा पुनः सञ्चालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । ‘नागरिकलाई नगरपालिकाले प्रदान गर्ने सेवाहरु उहाँको घरदैलोमा नै लिएर गाउँ गाउँमा पुगेका छौं’ नागिलाले भन्नुभयो ।

नागिलाका अनुसार योजना सम्झौता घर आँगनमै गर्ने, एकीकृत स्वास्थ सेवा अन्तर्गत स्वास्थ्यका आधारभूत सेवाहरु उपलब्ध गराइएको छ । कृषि अन्तर्गत कृषि परामर्श र औषधी, बीउ बिजनहरु शिविरबाटै प्रदान गरिएको छ । बालीमा देखापर्ने रोगको जैविक विषादी, तरकारीका उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिनेछ । पशु औषधि र पशुपरामर्श पनि शिविरबाटै भइराखेको छ । पशु स्वास्थ्य सेवाको लागि उपचार, रोग निदान, सामान्य शल्यक्रिया, पशु स्वास्थ्यका लागि औषधि वितरण र पशु भ्याक्सिन लगायतका सेवा पशुपन्छी उपशाखाबाट प्रदान गर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।


 महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट सञ्चालन गरिने परिचयपत्र गरिएको  सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जीकरण एकाइबाट व्यक्तिगत घटना दर्ता जस्ता सेवा दिन दिइएको छ ।  विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य, पाठेघरको मुख र स्तन क्यान्सर, औलो रोग, मधुमेह, उच्च रक्तचापलगायत परीक्षण गरिनेछ ।

कोभिड–१९को खोप, आङ खस्ने समस्या जाँच र उपचार, औषधि वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा र दुई वर्षमुनिका बालबालिकाहरुको वृद्धि अनुगमन र पोषणसम्बन्धी सेवा प्रदान गरिएका छन् । आयुर्वेद एकाइबाट विभिन्न २५ किसिमका आयुर्वेद औषधि वितरण र आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धमा आवश्यक ज्ञान दिइने नगरपालिकाले जनाएको छ ।

 शिविरमा दुई दिनको अवधिमा पाँच सय जना लाभान्वित भएको सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो । दोस्रो दिन मङ्गलबार  वडा नम्बर ६ को शिसाघाटमा सञ्चालन गरिएको छ । नगरपालिकाले घुम्ती सेवा शिविरको आयोजना गरेर नगरपालिकाको सबै सेवा वडा–वडामा पु¥याउँदा जनतामा उत्साह छाएको छ । बिरामी भएर स्वास्थ्य जाँच गर्न आउनुभएकी शिसाघाट निवासी गोमा कुमालले नजिकको सरकार भएको महसुस भएको बताउनुभयो ।