• १९ असोज २०८१, शनिबार

मनाइयो तोत्ङरी ल्होसार

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस १३ गते । हिमाली क्षेत्रमा बसोबास गर्दै आएको लामा समुदायले तोत्ङरी ल्होसार मनाएको छ। ल्होसारको अन्तिम दिन जिल्लाका सबै लामा समुदायले सिमकोटस्थित लामा सांस्कृतिक मञ्चमा परम्परागत पहिरनमा सजिएर ल्होसार मनाएका हुन्। मञ्चका अध्यक्ष धर्मनन्द लामाले निकै हर्षोल्लासका साथ तोत्ङरी ल्होसार मनाइएको बताउनुभयो। 

लामा समुदायको नयाँ वर्ष २१५० का अवसरमा यो ल्होसार पर्व मनाइने गरिन्छ। यो नयाँ वर्षबाट लामा समुदायको ह्रोल्हो वर्ष सुरु भएको छ। पहिलो, दोस्रो र तेस्रो दिन आआफ्ना घरमा पूजापाठ, नाचगान गरेर ल्होसार मनाइयो। यी तीन दिनमा नातेदार, आफन्त र साथीभाइलाई घरघरमा बोलाएर मीठा परिकार पनि खुवाइने गरिन्छ। 

अन्तिम दिन सोमबार सिमकोट र नाम्खा गाउँपालिकामा लामा समुदाय मिलेर संयुक्त रूपमा ल्होसार मनाइएको हो। उहाँले बिहानैबाट सदरमुकाम सिमकोटमा बस्दै आएका लामा समुदायका महिला र पुरुषहरू जम्मा हुने, नयाँ लिङ्गो गाड्ने, पूजापाठ गर्ने, खानपिनका परिकार पठाउने र दिउँसोबाट खानेकुरा खाँदै नाच्ने गरिएको बताउनुभयो। यस पर्वमा महिलाले पुराना र बहुमूल्य गरगहना एवं परम्परागत पहिरन लगाउने गर्छन्।  पुरुष पनि बक्खु लगाएर परम्परागत पोसाकमा सजिन्छन्। 

महिला र पुरुष मिलेर स्याब्रु नाच पनि नाच्ने गरिन्छ। त्यसैगरी एक वर्षअगाडिदेखि तयार पारिएको उवाको छ्याङ पनि पिउने गरिन्छ। यस पर्वमा मान्यजनबाट आशीर्वाद लिने र मान्यजनलाई सम्मान गर्ने कार्य पनि गरिन्छ। यहाँ प्रत्येक घरधुरीबाट नगद उठाएर यो पर्व मान्ने व्यवस्था गरिन्छ। ल्होसारकै अवसरमा बाहिर रहेका परिवारका सदस्यसमेत घर फर्कने गर्छन्।