• १९ असोज २०८१, शनिबार

अध्ययनसँगै पुर्ख्यौली पेसा

blog

गुल्मी समाचारदाता 

गुल्मी, पुस १३ गते । गुल्मीको इस्मा गाउँपालिका–२, हस्तीचौरकी सम्झना नेपाली १८ वर्ष हुनुभयो । सदरमुकाम तम्घासकै सिद्धबाबा माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गर्नुभएकी सम्झना अहिले जुत्ता सिलाउन व्यस्त हुनुहन्छ । 

स्नातक तह अध्ययन गर्ने सुरसारमा रहेकी सम्झना १२/१३ वर्षको उमेरदेखि नै जुत्ता सिलाउन बुवा चन्द्रबहादुर नेपालीसँग सिकेको बताउनुहुन्छ । बुवासँग सिकेको जुत्ता सिलाइको सीप विद्यालयमा प्राप्त सैद्धान्तिक ज्ञानभन्दा बढी उपयोगी बनेको छ जीविकोपार्जनका लागि । उहाँले अहिले सदरमुकाम तम्घासको भीमचोकमा बुवासँगै जुत्ता सिलाउँदै आउनुभएको छ । दलित समुदायका मानिसले जुत्ता सिलाउने पेसालाई पुख्र्यौली पेसाका रूपमा लिने गर्छन् तर पछिल्लो समय त्यस समुदायका मानिस जुत्ता सिलाउने पेसाबाट पलायन भइरहेका बेला सम्झनाले भने आफ्नै पुख्र्यौली पेसा गरी उदाहरण प्रस्तुत गर्नुभएको छ । 

“काम कहिल्यै पनि सानोठूलो हुँदैन,” उहाँले भन्नुभयो, “कुनै पनि काम गरेर जीविका चलाउन लजाउनु हुँदैन ।” उहाँले जुत्ता सिलाउने पेसा र उच्च शिक्षा अध्ययन सँगै अगाडि बढाउने बताउनुभयो । सम्झना मात्र होइन, तम्घासमै उहाँकी आमासहित अन्य महिला पनि जुत्ता सिलाउने गर्छन् । 

सम्झनाका बुवा चन्द्रबहादुर नेपाली १३ वर्षअघि जन्मथलो इस्मादेखि तम्घास आउनुभएको थियो । उहाँले पुख्र्यौली जुत्ता सिलाउने पेसालाई निरन्तरता दिनुभयो । जुत्ता सिलाएरै उहाँले छोराछोरी पढाउँदै तम्घासमै दुईतले पक्की घर पनि बनाइसक्नुभएको छ । छोरीले सीप सिकेर पुख्र्यौली पेसालाई व्यावसायिक रूपमा अगाडि बढाउने सोच र आत्मविश्वास लिएको देख्दा चन्द्रबहादुर गौरवान्वित हुनुहुन्छ । “छोरीले पुख्र्यौली पेसासँगै अध्ययनलाई पनि निरन्तरता दिएको देख्दा खुसी लागेको छ”उहाँले भन्नुभयो ।