• १९ असोज २०८१, शनिबार

‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरको’

blog

सुर्खेत/भेरीगङ्गा, पुस १३ गते । ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरको’ कार्यक्रममार्फत कर्णाली प्रदेश सरकारले हालसम्म प्रदेशका १४ हजारभन्दा धेरै छोरीका बैङ्क खाता खोलिदिएका छन्। 

२०७६ साउनदेखि जन्मिएका छोरीको बैङ्क खाता खोलिदिएकामा पछिल्लो समय कतिपय पालिकाले आधिकारिक तथ्याङ्क नपठाउँदा समस्या भएको प्रदेश सरकारले जनाएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारलाई पालिकाले बैङ्क खाता खोलेको आधिकारिक तथ्याङ्क उपलब्ध नगराउँदा गत वर्षदेखि उक्त खातामा जम्मा गर्नुपर्ने रकम अझै दिइएको छैन। 

उक्त मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले अर्थ मन्त्रालयले बजेट छुट्याएर पालिकामा रकम नबुझाउँदा सम्बन्धित मन्त्रालय नै अन्योलमा रहेको बताउनुभयो। गत वर्षदेखि नै रकम पालिकामा नपठाउँदा यो कार्यक्रम र आगामी कार्यक्रम के गर्ने भन्ने अन्योल भएको छ, उहाँले भन्नुभयो। स्थानीय तह र प्रदेश सरकारको समन्वय नहुँदा कार्यक्रम प्रभावकारी नहुने देखिएको छ। सामाजिक विकास मन्त्रालयले स्थानीय तहसँग प्रभावकारी रूपले समन्वय नगर्दा कार्यान्वयनमा समस्या देखिएको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारुलले भने मन्त्रालयले छुट्टै टोली बनाएर डाटाबेसमा काम गरे कार्यक्रम उपलब्धिमूलक हुने बताउनुभयो। उहाँले केही स्थानीय तहमा कठिन भूगोल र प्रविधिका कारण पनि समस्या देखिएको भन्दै आगामी दिनमा नयाँ मोडलबाट अगाडि बढ्ने जानकारी दिनुभयो। सुरुका वर्ष कार्यक्रमका लागि सरकारले आर्थिक वर्ष २०७६/७७ मा सात करोड रुपियाँ विनियोजन गरेको थियो। 

आव ०७७/७८ मा १२ करोड ६० लाख रुपियाँ छुट्याइएको आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विद्याप्रसाद उपाध्यायले बताउनुभयो। उहाँका अनुसार गत आर्थिक वर्ष ०७८/७९ मा १६ करोड रुपियाँ विनियोजन गरेको प्रदेश सरकारले चालू आवमा २० करोड रुपियाँ बजेट उक्त कार्यक्रमका लागि विनियोजन गरिए पनि खर्चको विवरण अहिलेसम्म प्राप्त नभएको अधिकृत उपाध्यायले बताउनुभयो।