• ८ पुस २०८१, सोमबार

स्वास्थ्य केन्द्रमा छैन सिटामोल

blog

बुलबुले समाचारदाता

सुर्खेत, पुस १३ गते । सरकारी स्वास्थ्य संस्थाबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीतिगत व्यवस्था सरकारको छ। यद्यपि पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका स्वास्थ्य संस्थामा ज्वरोको औषधिसमेत पाउन मुस्किल छ। 

चौकुने गाउँपालिका–७ मा रहेको धामीडाँडा स्वास्थ्य सेवा केन्द्रमा सिटामोलको समेत सधैँ अभाव हुन्छ। केन्द्रकी इन्चार्ज योगिता लामिछानेका अनुसार तीन/चार महिनाको फरकमा एक पटक त्यही पनि न्यून मात्रामा औषधि आउँदा वितरणमा समस्या परेको थियो। स्वास्थ्य जाँचपछि निजी क्लिनिकमा औषधि किन्नु पर्ने बाध्यता रहेको जनाइएको छ। चौकुनेका अन्य वडामा रहेका स्वास्थ्य सेवा केन्द्रमा पनि औषधि र जनशक्तिको अभाव छ। वडा नं. ८ का अध्यक्ष धनीराम धमलाले निःशुल्क वितरण गर्नुपर्ने औषधि पर्याप्त नआएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “निःशुल्क उपलब्ध गराउनुपर्ने औषधि समयमै उपलब्ध हुँदैन। अधिकांश बिरामीले अहिले पनि सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन्। स्वास्थ्य चौकी गुटुमा पनि औषधिको हाहाकार छ।”

दैलेखको आठबीस नगरपालिका–९ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्य औषधिको समेत अभाव छ। स्वास्थ्य केन्द्रका इन्चार्ज प्रशान्त सिजापतीले सेवाग्राहीको मागअनुसार सेवा दिन कठिन भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले पनि आइरन चक्कीको अभाव छ। कुनै बेला त औषधि नै हुँदैन।” औषधि अभाव हुँदा सामान्य बिरामीलाई समेत प्रदेश अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। दैलेखको यो स्वास्थ्य केन्द्र प्रतिनिधि मात्र हो। अन्य सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव हुन्छ।

चौकुने गाउँपालिका–५ मा रहेको आधारभूत स्वास्थ्य एकाइ केन्द्रमा औषधिको चरम अभाव छ। स्वास्थ्य एकाइ केन्द्रका इन्चार्ज देवीराम बीसीले निःशुल्क वितरण गर्नुपर्ने औषधि छिटफुट मात्र आउने गरेको बताउनुभयो। सङ्घीय सरकार र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पनि पालिकामा रहेका स्वास्थ्य संस्थामा औषधि उपलब्ध गराउँदै आएका छन्। 

पालिका आफैँले पनि बर्सेनि ठूलो रकम खर्चिएर औषधि खरिद गर्छन्  तर स्वास्थ्य संस्थामा भने सधैँजसो निःशुल्क उपलब्ध हुनुपर्ने औषधिको अभाव भइरहन्छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले तीन तहका सरकारले छुट्टाछुट्टै औषधि खरिद गर्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “कुन औषधि कुन तहको सरकारले किन्ने भन्ने हुन्छ, त्यसैगरी औषधि खरिद भइरहेको छ।” अहिले दुई तहमा निःशुल्क औषधिको वितरण भइरहेको उहाँले जानकारी दिनुभयो।