• १९ असोज २०८१, शनिबार

रघुगङ्गाबाट थप एक करोड ८५ लाख बजेट विनियोजन

blog

रघुगङ्गा गाउँपालिकाको १४ औँ गाउँसभा । तस्बिर : गोरखापत्र

साधन घर्ती 

म्याग्दी (दरबाङ ), पुस १२ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरूमा एक करोड ८५ लाख रुपियाँ थप बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँ सभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो ।

गाउँसभाले बृहत् घोप्टेखोला र बृहत् चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको एक प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको छ । सङ्घीय सरकारमार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगङ्गा गाउँपालिको वडा नम्बर २ भगवती, ३ पिप्ले र ७ चिम खोलालाई समेट्ने बृहत् चिमखोला, पिप्ले भगवती खानेपानी आयोजना र वडा नम्बर ५ झिँ र ६ पाखा पानीलाई समेट्ने बृहत् घोप्टे खोला खानेपानी योजना सम्झौताको लागि उपभोक्ताले जुटाउनुपर्ने स्रोतका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी वडा नम्बर ५ झिँको वडा कार्यालय भवनको लागि थप २५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । सभाले प्रदेश र सङ्घीय सरकार विशेष र समपूरक योजनासमेत माग गर्ने निर्णय गरेको छ । प्रदेश समपूरक अन्तर्गत पाखापानी–कोटगाउँ– रायखोर–घ्यासीखर्क सडकलाई ५० लाख रुपियाँ , सङ्घीय समपूरक कोष अन्तरगत  झिँ वडा कार्यालयलाई थप ३० लाख रुपियाँ, सङ्घीय समपूरक अन्तर्गत मुक्तिधाम मावि प्राविधिक धारको भवन निर्माण गर्न १ करोड ५० लाख रुपियाँ बजेट माग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सङ्घीय विशेष अनुदान अन्तर्गत वडा नम्बर १ बेगको भुइँपाइले फुटबल खेलमैदान, वडा नम्बर २ को बैँसेरी–साझा पानी लिफ्ट सिँचाइ योजना, वडा नम्बर ४ को शिव आधारभूत विद्यालय पुनर्निर्माण, वडा नम्बर ५ को उच्च उचै खेलमैदान, र वडा नम्बर ३ को रघुगङ्गा माविको खेलमैदान निर्माणका लागि बजेट माग गरिएको छ भने प्रदेश विशेष अनुदानमा वडा नम्बर ५ को गौरव आधारभूत विद्यालयको पूर्वाधार निर्माणको योजना माग गर्नुका साथै विभिन्न खोलामा वारपारका लागि झोलुङ्गे पुल माग गर्ने निर्णय गरिएको छ ।

सभाले जग्गा वर्गीकरणका लागि स्थानीय जग्गा वर्गीकरण कार्यान्वयन समिति गठन गरी समितिमार्फत नै आवश्यक कार्य अघि बढाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक वर्षमा निर्वाचनलगायतका कारण योजना कार्यान्वयनमा ढिलाइ भएको बताउँदै योजनाहरूलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धित वडाहरू र उपभोक्ताहरूले तत्परता देखाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सीमित स्रोत र साधनका बीच गाउँपालिकाले आवश्यकतालाई प्राथमिकतामा राखेर योजना छनाेट र बजेट विनियोजन गरेको बताउँदै पालिकाको स्रोत र साधनले नभ्याउने योजनाहरूका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले निर्वाचनपछि पालिकामार्फत सञ्चालन हुने योजनाहरूको कार्यान्वयनको गति बढेको बताउँदै पालिकामार्फत सम्पादित प्रगतिबारे जानकारी गराउनुभएको थियो ।