• १९ असोज २०८१, शनिबार

गर्भपतन गराउने बढे

blog

बुलबुले समाचारदाता

सुर्खेत, पुस १२ गते । सरकारको नारा छ, ‘बिहेबारी बीस वर्षपारि’ यद्यपि कर्णालीमा २० वर्षभन्दा कम उमेर समूहका महिलाको गर्भपतन सङ्ख्या वृद्धि हुँदै छ। स्वास्थ्य सेवा निर्देशनालयले दिएको जानकारीअनुसार गर्भपतन गराउनेको सङ्ख्यामा तुलनात्मक रूपमा वृद्धि भएको छ। कर्णालीमा २० वर्षभन्दा कम उमेरका २१ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन्। 

नेपाल सरकारले सूचीकृत गरेको स्वास्थ्य संस्था र सूचीकृत स्वास्थ्यकर्मीसँग गत वर्ष चार हजार ८६० जनाले सुरक्षित रूपमा गर्भपतन गराएका थिए। प्रदेशमा ५७ प्रतिशत महिलाले असुरक्षित रूपमा गर्भपतन गराउने गरेको जनाइएको छ।

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका प्रा. श्याम लम्सालका अनुसार जनचेतनाको अभावले असुरक्षित गर्भपतनको दर बढेको हो। नेपालमा १९ प्रतिशत जन्म अनिच्छित गर्भधारणबाट हुने गरेको छ। गर्भपतनका कारण ७ प्रतिशत मातृ मृत्युदर हुन्छ। २५ प्रतिशतलाई गर्भपतन सेवाबारे जानकारी छैन।

जनचेतनाको अभावले सुरक्षित गर्भपतन सेवाबाट महिला वञ्चित भइरहेका छन्। एक तथ्याङ्कअनुसार नेपालमा अनुमानित १२ लाख महिला गर्भवती हुने गरेकामा पाँच लाख ३९ हजार अथवा ४५ प्रतिशत अनिच्छित गर्भवती हुने गरेका छन्। त्यसमध्ये एक लाख २८ हजार अनिच्छित जन्म हुन्छ। तीन लाख ५१ हजार गर्भपतन हुने गरेको छ। बाँकी ६१ हजार आफैँ खेर जाने गर्छन्। लम्सालले एक चौथाइ अनियोजित जन्म हुने र दुई तिहाइ गर्भपतन हुने गरेको बताउनुभयो।

नेपालमा ४१ प्रतिशत १५ देखि ४९ वर्षका महिलाले मात्र गर्भपतनको मान्यता पाएको बारे जानकारी पाउने गरेका छन्। ४८ प्रतिशत महिलालाई मात्र सुरक्षित गर्भपतनका बारेमा जानकारी छ। ५२ प्रतिशत महिलाले गर्भपतनपश्चात् परिवार नियोजन सेवाबारे परामर्श पाउने गरेका छन्। 

२० वर्षभन्दा कम उमेरका महिलाले गर्भपतन गराउने दर घटाउनका लागि किशोर किशोरीलाई परिवार नियोजनका साधनबारेमा पूर्ण रूपमा जानकारी गराउन आवश्यक रहेको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले बताउनुभयो। उहाँका अनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु र किशोरकिशोरीलाई परिवार नियोजनका साधनका बारेमा जानकारी नहुँदा २० वर्षभन्दा कम उमेरका महिलाले गर्भपतन गराएको देखिन्छ।

अधिकांश महिलाले सूचीकृत स्वास्थ्य संस्थामा नगई औषधि पसलबाट किनेर खाने गरेकाले स्वास्थ्य समस्या देखिने गरेकोसमेत भट्टराईले जानकारी दिनुभयो। गर्भपतन गराउनु नै पर्ने अवस्था आएमा सूचीकृत स्वास्थ्य संस्था र सूचीकृत स्वास्थ्यकर्मी भएको स्वास्थ्य संस्थामा गएर मात्र सुरक्षित रूपमा गर्भपतन गराउनसमेत उहाँले आग्रह गर्नुभयो। 

२० वर्षभन्दा कम उमेरका महिलाले गराएको गर्भपतनमा अधिकांश विवाहित महिला नै हुने गरेका उहाँको भनाइ छ। सोमबार वीरेन्द्रनगरमा असुरक्षित गर्भपतन र जनस्वास्थ्य नीति निर्माण र जनचेतनामा सञ्चारकर्मीको भूमिकाबारे अन्तक्र्रिया गरिएको थियो। सत्य सूचना प्रवाहबाट नै असुरक्षित गर्भपतन न्यूनीकरण हुने सहभागीको भनाइ थियो।