• १९ असोज २०८१, शनिबार

खार्पुनाथले बनायो सत्र कानुन

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस १२ गते । खार्पुनाथ गाउँपालिकाले आफ्नो हिउँदे गाउँ सभाबाट १७ वटा कानुन निर्माण गरेको छ। सभाले ऐन, नियम, नियमावली र निर्देशिका पारित गर्दै कानुनी बाधा अड्चनसमेत फुकाएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले हिउँदे गाउँ सभाले गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन पारित गर्न सफल भएको बताउनुभयो। 

उहाँले गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन, नियम, नियमावली, कार्यविधि र निर्देशिका पारित भएको र अब राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो। गाउँ सभाद्वारा विषयगत समिति कार्यविधि २०७९, स्थानीय तहको सामाजिक समावेशीकरण नीति २०७९, विपत् व्यवस्थापन ऐन २०७९, बालसंरक्षण ऐन २०७९, स्थानीय पूर्वाधार विकास आयोजना कार्यविधि २०७९, अनुगमन तथा सुपरिवेक्षण कार्यविधि २०७९, स्थानीय पूर्वाधार मर्मतसम्भार कोष तथा कार्य सञ्चालन कार्यविधि २०७९, सार्वजनिक खरिद नियमावलीलगायतका कानुन पास गरिएको बताइएको छ।

सभाले पारित गरेका अन्य ऐन कानुनहरूमा आकस्मिक कोष सञ्चालन तथा व्यवस्थापना कार्यविधि २०७९, विपत् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कायविधि २०७९, गाउँ शिक्षा नीति २०७९, कन्टिजेन्सी रकम व्यवस्थापन तथा खर्चसम्बन्धी कार्यविधि, गरिबी निवारण कोषद्वारा प्रत्योजित सामुदायिक संस्था तथा साना पूर्वाधार विकास आयोजना सञ्चालन मार्गदर्शन, स्थानीय तहमा सेवा प्रवाहसम्बन्धी व्यवस्था, शिक्षण सिकाइ अनुदान व्यवस्थापन कार्यविधि, शिक्षा नियमावली संशोधन र स्थानीय वातारण संरक्षण ऐन २०७९ रहेका छन्। अध्यक्ष कर्णबहादुर रावलले ऐन, कानुनको निर्माणले अब गाउँपालिकालाई काम गर्न सहज भएको र त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउने बताउनुभयो। 

गत वर्ष खार्पुनाथ गाउँपालिकाले १९ वटा ऐनहरू निर्माण गरी कार्यान्वयनमा ल्याएको थियो। हालसम्म उक्त गाउँपालिकाले ३६ वटा ऐन, कानुन निर्माण गरेको जनाएको छ। सङ्घीय मामिला तथा कानुन मन्त्रालयले ५२ वटा नमुना कानुनका नमुनाहरू गाउँपालिकालाई पठाएको थियो।