• १९ असोज २०८१, शनिबार

ढुङ्गा बिछ्याएर अस्थायी पुल

blog

तुलसीपुर समाचारदाता

तुलसीपुर, पुस १२ गते । रोल्पा–दाङ सडकखण्डको ग्वार खोलामा ढुङ्गा बिछ्याएर हिउँदे पुल तयार पारिएको छ। मध्यदाङको बिजौरी, श्रीचौर हुँदै रोल्पाको होलेरी दहवन र सल्यान जोड्न ढुङ्गा बिछ्याएरै हिउँदे पुल बनाएका छन्।

तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा पर्ने खोलामा पालिकाकै बजेटबाट पुल निर्माण गरे पनि रुन्टीगढी गाउँपालिका–८, रानीबास क्षेत्रमा ग्वार खोलाको पानीको बहाव बढेकाले यातायातका साधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ। 

पुल बनाएपछि असोजदेखि जेठ महिनासम्म यात्रा गर्नका लागि सहज भएको स्थानीय सुरेन्द्र बुढाले बताउनुभयो। यो सडकखण्ड भएरै सल्यानको कपुरकोट गाउँपालिका, रोल्पाको रुन्टीगढी गाउँपालिकावासीलाई कृषिजन्य वस्तुको बिक्री वितरण, औषधोपचारका लागि सहज भएको स्थानीय शिक्षक बाने खड्काले बताउनुभयो।  

सडकखण्डको करिब २८ किलोमिटरमध्ये बिजौरीदेखि बाँसगडीसम्म दुई किलोमिटर कालोपत्रे भएको छ। बाँसगढीदेखि कुटेचौरसम्म पाँच किलोमिटर कालोपत्रेको काम भइरहेको छ। रुन्टीगढी गाउँपालिकाको दहवनदेखि झेनामसम्म कालोपत्रे भइरहेको छ।

पुल निर्माण भएपछि बिजौरी हुँदै दहवनसम्म दैनिक बस, ट्याक्सी यातायातका साधन सञ्चालनमा आएका छन्। यस सडकखण्डलाई बाह्रै महिना सञ्चालनका लागि रुन्टीगढी गाउँपालिका–८ को रानीबास क्षेत्रको ग्वार खोलामा पुल निर्माणका लागि प्रदेश सरकारसँग माग गरिएको छ। 

गाउँपालिकाका अध्यक्ष जनक पुनले तुलसीपुर उपमहानगरपालिका र रुन्टीगढी गाउँपालिकाबीच संयुक्त रूपमा त्यस क्षेत्रका पुल निर्माणका लागि माग गरिएको बताउनुभयो। यस सडकलाई तीन जिल्ला जोड्ने रणनीतिक मार्गका रूपमा अघि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो।