• १३ साउन २०८१, आइतबार

राष्ट्रिय गानमा एकरूपता

blog

सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली ...

सबैलाई थाहै छ, यो २०६४ साल साउन १८ गतेदेखि लागू गरिएको र नेपालको संविधानमा पनि आधिकारिक मान्यता दिएको हाम्रो नयाँ राष्ट्रिय गान हो। व्याकुल माहिलाद्वारा रचित यस गानमा अम्बर गुरुङको सङ्गीत र समावेशी ढङ्गले चुनिएका जम्मा बीस जना गायक÷गायिकाको स्वर छ। आवश्यक विधि–प्रक्रिया पूरा गरेर छानिएको यस गानमा रहेका शब्द, यसले बुझाउने अर्थ र यसले बोकेको राष्ट्रिय भावनामाथि हामी सामान्य नागरिकले प्रश्न उठाउने कुरै भएन। यद्यपि कतिपय विद्वान्ले यसमा प्रयुक्त केही शब्दलाई लिएर फरक मत राख्ने गरेका छन्। केही महिनाअघि यसका रचनाकारले राखेको मागका विषयमा पनि सन्तुष्ट हुन सकिएको थिएन। 

जे होस्, राष्ट्रिय गान हाम्रो उच्चतम राष्ट्रिय गौरव, राष्ट्रप्रेम तथा समग्र राष्ट्रको प्राकृतिक, भौगोलिक, सांस्कृतिक, धार्मिक जातीय महिमागान हो। यसको मर्म बुझेर यसप्रति नतमस्तक हुनु सम्पूर्ण देशवासीको परम कर्तव्य पनि हो। त्यसैले, राष्ट्रिय उत्सव, विभिन्न औपचारिक कार्यक्रम, विभागीय (फौजी) सामेली, सैन्य सम्मान, विद्यार्थीको प्रार्थना, खेलकुदको समारोह, रेडियो, टीभी आदिमा यसको अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने कुरा राजपत्रमै उल्लिखित छ। त्यसको पालना सोहीअनुसार हुँदै आएको पनि छ। तर यस्तो अति महिमाशाली राष्ट्रिय गान गाउँदाको अवस्थामा भने देशव्यापी एकरूपता पाइँदैन। 

कतै स्थानीय स्तरमा आयोजित सामान्य ढङ्गको कार्यक्रममा उपस्थित जनसमुदायले यो गाउँदा, छातीमा हात राखेको पाइन्छ। कतै भने विशेष कार्यक्रममै उपस्थित अति विशिष्ट र विशिष्ट महानुभावहरूले पनि छातीमा हात राखेर गाइएको पाइँदैन। दुई हात एकले अर्कोलाई समाती कम्मरका बीचमा अगाडि राखेर सतर्क भएको पनि देख्न पाइन्छ। छातीमा हात राख्दा पनि कसैले हत्केला मुठी पारेर राख्ने, कसैले हातको पञ्जा फिँजाएर छपक्क राख्ने र कसैले चाहिँ आफ्नो मुटु नै ठम्याएझैँ गरी चारवटा औँलाले प्वाइन्ट ताकेर राख्ने गरिएको पाइन्छ। कोही थोरै शिर झुकाउँछन्। कोही चाहिँ राष्ट्रिय गान गाउन्जेल सतर्क हुने र सिध्याउने बेलामा शिर झुकाएर एउटा वा दुवै हात छातीमा राख्ने गर्छन्। स्काउट र सैनिकले सलाम पनि गर्छन्। प्रायः दाहिने हात राखिने कुरामा चाहिँ एकरूपता देखिन्छ। 

विभिन्न धर्म, जातजाति, भाषा, संस्कृति भएकाले फरक फरक ठाउँमा, फरक फरक स्वर, अनुहार र पोसाकमा गाइए पनि, गाइने राष्ट्रिय गान त आखिर एउटै हो। अनि यो गाउने लय र तरिका पनि एउटै हो। यस्तो फरक फरक तरिका किन भएको होला! यस विषयमा बुझ्न खोज्दा विद्वत्वर्गको मतैक्य पनि पाइँदैन। कसैको मत छ ः “राष्ट्रिय गान गाउँदा उच्चतम राष्ट्रिय गौरवबोध जनाउनका लागि पनि छातीमा हात राख्नैपर्छ, यो अनिवार्य छ। कसैलाई साँचो कुरो बताउन लाउँदा छातीमा हात राखेर भन्न लगाउनुको कारण पनि यही हो।” फेरि कोही भन्छन्, “छातीमा हात राख्दा सत्यताको अनुभव, आनन्द र ढुक्क हुने भएकोले पनि यो एकदमै आवश्यक छ।” यो पनि सही होला। 

फेरि कोही भन्छन्, “छातीमा हात राख्ने कुरामा कुनै अनिवार्यता छैन। यो आ–आफ्नो इच्छाको कुरो हो। यो उल्लेख गर्नैपर्ने नियम र वैधानिकताको कुरो केही पनि नभएर हाम्रो हार्दिकता र आत्मीयतासँग सम्बन्धित छ। राष्ट्रप्रति सच्चा माया र गर्व अनुभव गर्नेले राष्ट्रिय गान गाउँदा छातीमा हात राख्छन्, त्यस्तो नगर्नेले राख्दैनन्। कुरो यति नै हो।” यो तर्क पनि सही नै हो भन्ने लाग्छ। कतिपयको मत फेरि, “राष्ट्रिय गान गाउँदा सतर्क हुनुपर्ने भएकोले छातीमा हात राख्नु हुँदैन, यो आवश्यक नै छैन” भन्ने पनि छ।  

जति मान्छे उति कुरा भन्छन्! हुन पनि विचार आ–आफ्नो हुँदोरहेछ। यसै सन्दर्भमा एकथरीको तर्क बेग्लै छ। उनीहरू भन्छन्, “खासगरी ‘बोर्डिङ स्कुल’हरूमा प्रार्थना गराउँदा अनुशासन कायम गराइने नाममा पनि छातीमा हात राख्न लगाइन्छ। सरकारी विद्यालयमा र अन्यत्रचाहिँ यो कुनै अनिवार्य देखिँदैन।” 

यसरी हेर्दा, राष्ट्रिय गान गाउँदा छातीमा हात राख्ने वा नराख्ने भन्ने कुरा जसलाई जे सही लाग्छ त्यही हिसाबले गरिएको हो कि जस्तो आभास पनि हुन्छ। अझ कसैकसैले त यो चलनै आयातित वा कसैको सिको हो पनि भन्छन्। अब यस्ता अनेकथरी विचार र तर्क सुन्दा, यस विषयमा यकिन वा वास्तविक कुरा के हो भनेर टुङ्गोमा पुग्न सकिँदैन। 

यसबारेमा नेपाल सरकारद्वारा पछिल्लो पटक २०७६ भदौ २ मा प्रकाशित राजपत्र भाग ५, राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०७६ अन्तर्गत परिच्छेद–३/१४ राष्ट्रिय गानको प्रयोग समय र विधिमा भने, “... ...सबैले सतर्क अवस्थामा उभिएर शिर ठाडो गरी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्नेछ” भनिएको छ। राजपत्रमा लेखिएको कुरा नै आधिकारिक र कानुन पनि हो। तर यसरी त्यहाँ पनि राष्ट्रिय गान गाउँदा छातीमा हात राख्नुपर्छ भन्ने लेखिएको पाइएन। 

केही वर्षअघिसम्म चक्रपाणि चालिसेद्वारा रचित ‘श्रीमान् गम्भीर नेपाली ..’ भन्ने पुरानो राष्ट्रिय गान गाएको पनि हामीलाई थाहै छ। राजतन्त्रको एकदलीय व्यवस्था र कडा अनुशासनको जमानामा समेत त्यो गान गाउँदा कसैले पनि छातीमा हात राख्दैनथे; राख्नुपर्दैनथ्यो। अब गणतन्त्र आएपछि नेता, जनता सबै पहिलाभन्दा बढ्ता राष्ट्रप्रेमी र सभ्य सदाचारी भएका हुन् भन्ने बुझाउनका लागि राष्ट्रिय गान गाउँदा छातीमा हात राख्ने चलन स्वतःस्फूर्त र हार्दिक रूपमा चलेको हो भन्ने अनुमानमा पनि पटक्कै विश्वास गर्न सकिँदैन। 

वास्तवमा विचार वा भावना भन्ने कुरा बाहिरी रूपबाट देखिने नभई भित्रबाट आउनुपर्छ। भित्रबाट आउनुपर्ने यस्तो कुरालाई, कुनै बाहिरी हाउभाउ वा बनावटी रूपमा झल्काउन खोजियो भने त्यो प्राकृतिक नभएर कृत्रिम अभिनय मात्र हुन सक्छ। अझ, राष्ट्रप्रेम भन्ने पवित्र र भावनात्मक कुरा, राष्ट्रिय गान गाएको बेलामा छातीमा हात राख्नासाथ एकाएक उत्पन्न भइहाल्ने र त्यसरी नराख्दा स्वाट्टै हराइहाल्ने हुँदैन। 

छातीमा हात राख्दैमा राष्ट्रभक्तिको भावना झल्कने हो भने ठग, चोर र अपराधीहरूले पनि छातीमा हात राखेर आफूलाई सभ्य नागरिक तथा सच्चा राष्ट्रप्रेमी देखाउने भए। अनि राष्ट्रप्रेमी, सत्यवादी, इमानी र सदाचारीहरूले पनि छातीमा हात राखेनन् भनेचाहिँ राष्ट्रघाती, झुटा, बेइमानी र भ्रष्टाचारी ठहरिने भए। त्यसैले, राष्ट्रिय गान गाउनेजस्तो राष्ट्रिय गौरव र महìव जोडिएको अत्यन्त गम्भीर कुरामा, स्वैच्छिक नभई औपचारिकताकै लागि भए पनि सर्वत्र एकरूपता देख्न पाए साह्रै असल हुने थियो।