• ९ मंसिर २०८१, आइतबार

चुनावी संयम

blog

भर्खरै प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भयो। मतपरिणामले कुनै पनि राजनीतिक दलको बहुमत देखिएन। आफूले विजय हासिल नगरिञ्जेल विजयी मात्र हुन पाए त भन्ने ध्यान रह्यो। जब मतपरिणाम टुङ्गो लाग्यो, त्यसपछि सरकार कसरी बन्छ र को सामेल हुने, कसलाई सामेल गराउने अर्को परिस्थिति र खेल सुरु हुँदै छ। निर्वाचित सांसदको शपथ ग्रहण पनि ढिला भयो।

गठबन्धन सरकारको गृहकार्य, आफ्नै दलभित्रको संसदीय नेतृत्व चयन आदि आदिले देशको अर्थतन्त्र र अवस्थाबारे कसले सोच्न भ्याउनु ? यति रफ्तारमा नेतृत्वहरू दौडिरहेका छन् कि त्यो दौड कहाँ गएर टुङ्गिने हो भन्ने आँकडासम्म निकाल्न कठिन छ। मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति ? अब सबैलाई आफू हुनुको महत्व पदको प्राप्ति र त्यही नै सफलता र सम्पन्नता ठान्छ। यसैलाई आफ्नो परिचय र प्रतिष्ठा बनाउने मन हुन्छ। उसलाई थाहा हुँदैन, पद र प्रतिष्ठामा सम्पन्नता छ या यसलाई हेर्ने दृष्टिमा ?

भड्किँदै जान्छ तृष्णा र अपेक्षा, कहिल्यै छुट्ने रहेनछन् भन्ने अनुमान नै गर्न नसक्ने गरी समय धेरै अगाडि बढिसकेको हुन्छ। आफ्नै नातावाद, आर्थिक चलखेल, स्वार्थी प्रवृत्ति केन्द्रमा राखेपछि पछाडि के के कुरा छुटे, अब त्यो समय र ती कुरा फर्केर आउँदैनन्। जीवनमा पाउनुपर्ने चिज र थाहा नपाइनहुने विषयबीचको फरक कसरी थाहा पाउने, त्यतातिर संयम बन्ने फुर्सद खोइ ? यसो हेर्दा त वर्तमानमा जे छौँ त्यही हाम्रो परिचय हो। जति आफ्नाबारे कथा बन्छन् त्यति जीवनलाई नजिक र शाश्वत तरिकाबाट बुझ्न सकिँदैन।

जीवनलाई हरेक पल र हरेक कर्मलाई सिनेमाझैँ हेर्न सके, त्यहाँ आफ्नो जीवन जीवन्त पाउन सकिन्छ कि ? नत्र त यो संसारकै परिचय र सम्पन्नतामा पनि कहिले आफूलाई खुसी र सुखी व्यक्तिजस्तो लाग्छ त कहिले दुःखी। कहिले सफल भएझैँ लाग्छ त कहिले असफल। कहिले प्रेम र सम्मान पाएको महसुस हुन्छ त कहिले घृणा महसुस हुन्छ। कहिले आफूमा जिम्मेवारी थपिएको बोध हुन्छ त कहिले अरूले आफूलाई केही गरिदिएनन्जस्तो लाग्छ। कहिले संसारको यो परिचय र जीवनशैलीप्रति सबैलाई धन्यवाद व्यक्त गरौँजस्तो लाग्छ त कहिले सबैप्रति गुनासो भाव प्रकट हुन्छ। 

बाहिरको कर्तव्य र दायित्व निर्वाह गर्ने व्यक्ति हुँ म ? प्रवाहमान गतिमा बगिरहेको नदीजस्तै जीवनको अनन्त यात्रामा हिँड्ने यात्रु हुँ म ? स–साना उद्देश्यमा रोकिएर गहन ज्ञानबाट वञ्चित भएको त छैन ? कुनै धर्मको गुरु, सिद्धान्त, वाद, सम्प्रदायको नेतृत्व हुँ म या यी सबै सम्प्रदाय र आस्थाबाट माथि उठेर मात्र जीवनको उद्देश्यलाई साक्षात्कार गर्ने व्यक्ति हुँ म ?

कुनै राज्यमा नागसेन नामका भिक्षु थिए। उनी सधैँ मस्त, आनन्दमा रहन्थे। उनलाई कुनै लोभलालच थिएन, न त कुनै चिन्ता, सधैँ प्रसन्न रहन्थे। यो कुरा राजाले थाहा पाएपछि, सधैँ राज्य जित्ने चिन्तामा रहेका राजालाई नागसेनसँग भेट्ने इच्छा भएछ। राजाले मन्त्रीलाई नागसेनकहाँ गएर एक दिन राजालाई भेट दिनु रे भनेर अह्राए। मन्त्री नागसेनकहाँ पुगे र प्रणाम गर्दै नागसेनलाई सोधे– हजुर नै हुनुपर्छ नागसेन भिक्षु। नागसेनले भने म नागसेन होइन। मन्त्री अलमलमा परे। नागसेन उनै हुन् तर होइन भन्छन्। मैले राजाको तर्फबाट निम्तो दिएँ, अब नागसेन हुन् कि होइनन्, त्यो कुरा दरबारमा गएर राजालाई नै बिन्ती गर्नुपर्ला भनी मन्त्री नागसेनबाट बिदा भए।

मन्त्रीले दरबारमा पुगेर नागसेनसँग भएका सबै कुरा बताए। राजाले पनि ठीकै छ किन म नागसेन होइन भनेछन् भेटमै सोधौँला भने। नागसेनले दिएको समयबमोजिम मन्त्री र सिपाहीसमेत रथ लिएर नागसेनलाई लिन गए। दरबारमा प्रवेश गरेपछि बस्न आग्रह गर्दै राजाले भने– नागसेन तपाईंका बारेमा मैले धेरै सुनेको छु। तपाईं आनन्दले सन्तत्वको जीवन बिताइरहनुभएको छ रे। तपाईंलाई सबैले नागसेन नामबाटै चिन्छन् तर तपाईंले म नागसेन होइन भन्नुभएछ। किन त्यसो भन्नुभयो ? यहीँबाट हाम्रो कुराकानीको सुरुवात गरौँ न त।

नागसेनले राजालाई अनुरोध गरे– महाराज त्यो रथ तान्ने घोडा फुकाएर यहाँ ल्याउन मिल्छ ? राजाले भने किन नमिल्नु, तपाईंले जे–जे ल्याउन भन्नुहुन्छ सबै तपाईंको अगाडि तयार हुन्छ। सिपाहीले घोडा अगाडि ल्याएर राखिदिए। नागसेनले राजालाई सोधे– महाराज यो रथ हो ? राजाले हाँस्दै भने– यो कसरी रथ हुनु, यो त रथ तान्ने घोडा हुन्। नागसेनले रथको छाता ल्याउन भने र सोधे– महाराज यो रथ हो ? राजाले भने– यो त रथमा लगाइएको छाता हो। क्रमशः पाङ्ग्रा, बस्ने सिट, सजावटका सामान सबै अलग अलग ल्याउन लगाएर सोधे– यो रथ हो ? राजाले आश्चर्य मान्दै जवाफ दिइरहेका थिए– यी सब रथ तयार गर्न आवश्यक सामग्री हुन्। 

तब नागसेनले राजालाई बताए, म पनि नागसेन होइन किनकि म शरीर होइन, मन होइन, विचार होइन, बुद्धि होइन, अहङ्कार होइन। देखिने र प्रष्फुटन हुने सबै कुरा ममा छन् तर ती चिज म होइन। मभित्रको निराकार, चैतन्य, छु र हुँ भन्ने बोध मात्रै म हुँ महाराज। यो मेरो, त्यो मेरो, पद, धन सबै मेरो भन्नुको कुनै तुक छैन। ती सबैलाई अलग गरेर हे¥यो भने के बाँकी रहन्छ हजुरको ? राजा नतमस्तक भए, जुन कुरा मेरो र मैले आर्जन गरेको भन्ठानेका थिएँ त्यो त केवल बाहिरी आर्जन रहेछन्। आफू हुनुको बोध, होस, जागरण र अन्तर आकाश नै म भन्ने चिज रहेछ। 

कथा बुझ्न सजिलो या कठिन दुवै हुन सक्छ तर वास्तविक सन्देश यही हो कि म को हुँ ? यी सबै प्रपञ्च म के हात पार्नका लागि गर्दैछु ? हात परेपछि पनि मेरो जीवन आनन्दित छ या फेरि दुःखी ? यो कुराको बोध गर्न सक्नु जीवनको ठूलो उपलब्धि हुन आउँछ। जीवनमा प्राप्त जे चिजलाई आफ्नो ठानेका छौँ र जे छैन अनि अभाव महसुस गर्दै ती चिज प्राप्तिका लागि मरिहत्ते गरेका छौँ। 

एक दिन थाहा हुन्छ, यी सब चिज मनले खोजेका छन्, विचारको प्रतिफलबाट प्राप्त छन् तर ती वस्तु या धन, पद र सम्मान म होइन। मेरोभित्रको परम् चेतनाको बोध म हुँ। भित्रको चेतनालाई आनन्दित रहन बाहिरको जित–हार र सफलता–असफलताले कुनै असर गर्दैन भन्ने कुराको बोध हामीमा हुन सकेको दिन हाम्रो जीवन आनन्द नै आनन्दले परिपूर्ण हुनेछ। यो बाहिरी अहङ्कारको पद र प्राप्तिसँगै आन्तरिक रूपमा स्वयंको ज्ञान दृष्टिले आफ्नो आत्मालाई जान्ने समय कहिले मिल्छ थाहा पाए त त्यो समयको धैर्यताका साथ प्रतीक्षा गरे हुन्थ्यो। 

कसको समय कहिलेसम्म अनिश्चित हुँदाहुँदै पनि आन्तरिक ज्ञान दृष्टिले हेर्न, जान्न र थाहा पाउन ढिला गर्ने हो भने यो पदलोलुपताले जीवनको लक्ष्य नै यही हो भन्ने अवस्थामा पु¥याइदिन्छ। कहिलेकाहीँ आफ्नै मनलाई शान्त र स्थिर राखेर, मन र बुद्धिभन्दा भित्रको चेतनालाई बोध गर्न सक्ने हो भने कम्तीमा अरूलाई दिने दुःखबाट त बच्न सकिएला ? अनि त बाहिरी पद पाए पनि, नपाए पनि सन्तोष र साक्षित्व त अनुभूति हुन्थ्यो।