• १२ असोज २०८१, शनिबार

विद्यालयको आठ कोठे पक्की भवन बन्दै

blog

विद्यालय भवन शिलान्यास गर्नुहुँदै गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४ साँवास्थित साँवा माध्यमिक विद्यालयको पक्की भवन निर्माण हुनेभएको छ । एक अन्तर्राष्ट्रिय संस्था ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) को आर्थिक सहयोगमा आठ कोठे पक्की भवन निर्माण हुने भएको हो ।

सो विद्यालयमा निर्माण हुने पक्की भवनको सोमबार मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले शिलान्यास गर्नुभयो । गाउँपालिका अध्यक्ष कार्कीद्वारा पक्की भवनको शिलान्यास भएसँगै निर्माण कार्य सुरु भएको विद्यालयले जनाएको छ । 

विद्यालयको पक्की भवन कुल ९० लाख ६५ हजार ४०४ रुपियाँको लागतमा निर्माण हुन लागेको हो । कुल लागत रकमको ६२ प्रतिशत अर्थात् ५६ लाख ३२ हजार २७४ रुपियाँ एचपीएफको सहयोग र ३८ प्रतिशत अर्थात् ३४ लाख ३३ हजार १३० रुपियाँ विद्यालयले व्यवस्थापन गर्ने भएको छ ।

विद्यालयले व्यवस्थापन गर्नुपर्ने रकम भने गाउँपालिकाले उपलब्ध गराउने भएको पालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार एक रोपनी क्षेत्रफल बराबरको जग्गामा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणका लागि जग्गा स्थानीय सञ्जयकुमार लिम्बू, धनवीर लिम्बू र सिंहराज लिम्बूले निःशुल्क उपलब्ध गराउनुभएको हो ।

यता, भवन शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष डण्डु लामा, वडा ४ र ५ का वडाध्यक्ष क्रमशः सदनकुमार लिम्बू र ग्यान्जे शेर्पा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार साँवा लगायतको उपस्थिति रहेको थियो । विद्यालयका अनुसार पक्की भवन आउँदो चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने भनिएको छ ।