• १९ असोज २०८१, शनिबार

इन्धन अभावले यमनी अस्पताल बन्द

blog

एडेन, पुस ११ गते । यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा रहेको सबैभन्दा ठूलो अस्पतालमा इन्धनको चरम अभावका कारण आइतबारदेखि बन्द भएको छ ।

अस्पतालका एक चिकित्सकले इन्धनको चरम अभावका कारण सेवा नै बन्द गर्नु परेको सिन्ह्वालाई बताउनुभयो । उहाँले नाम गोप्य राख्ने सर्तमा भन्नुभयो, “मिर्गौला रोगीहरूको उपचारमा विशेषज्ञता प्राप्त केन्द्र पनि समावेश रहेको अल–थावरा जनरल अस्पतालका सबै शाखाहरू इन्धनको गम्भीर सङ्कटपछि बन्द गरिएको छ ।”

“ताइजमा रहेको सबैभन्दा ठूलो अस्पतालले घना बस्ती भएको ताइज सहरमा हजारौँ बिरामीका लागि सेवा प्रदान गर्दछ,” उहाँले भन्नुभयो । अस्पताल बन्दले बिरामीको ज्यान जोखिममा पारेको उहाँले बताउनुभयो ।

अस्पतालका अधिकारीका अनुसार अस्पतालले अन्तर्राष्ट्रिय संस्था र संयुक्त राष्ट्रसङ्घका निकायलाई सङ्कटबाट पार पाउन र स्वास्थ्य विपत्तिबाट बचाउन इन्धन उपलब्ध गराउन तत्काल अपिल गरेको छ ।

सन् २०१४ को अन्त्यतिर इरान समर्थित हुथी लडाकुसमूहले उत्तरी सहरहरूमा आक्रमण गरी साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालेपछि यमन गृहयुद्धमा फसेको छ ।यस युद्धले दसौँ हजार मानिसको ज्यान लिइसकेको छ भने ४० लाख मानिस विस्थापित भएका छन् । युद्धले देशलाई भोकमरीको सङ्घारमा पुर्‍याएको छ । रासस/सिन्ह्वा