• ८ पुस २०८१, सोमबार

पालिकाको प्राथमिकतामा सडक

blog

बुलबुले समाचारदाता

सुर्खेत, पुस ११ गते । अघिल्लो कार्यकालमा स्थानीय सरकारले सडक पूर्वाधार निर्माणमा ठूलो लगानी गरे। स्थानीय तहको पहिलो कार्यकालमा वडैपिच्छे सडकका ट्र्याक खोलिए। गएका पाँच वर्ष सडक खन्ने कामलाई प्राथमिकता दिएका स्थानीय सरकारले अहिले तिनै सडकको स्तरोन्नतिमा जोड दिएका छन्। 

चालू आर्थिक वर्षमा पनि अधिकांश पालिकाको पहिलो प्राथमिकता सडक पूर्वाधार नै परेको हो। पालिकावासी सबैको सडकमा भरपर्दो र सहज पहुँच पु-याउने उद्देश्यले सडक निर्माणलाई तीव्रता दिइएको स्थानीय तहका जनप्रतिनिधि बताउँछन्।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले यो वर्ष नयाँ सडक निर्माणभन्दा भएका सडक सुधार गर्न धेरै बजेट विनियोजन गरेको छ। सडकको ट्र्याक विस्तार गर्नेभन्दा स्तरोन्नतिका कार्यक्रमलाई जोड दिएको नगरप्रमुख लालवीर भण्डारीले बताउनुभयो। 

पालिकासँग पर्याप्त बजेट नहुँदा भने काम गर्न असहज भइरहेको जानकारी उहाँले दिनुभयो। यो पटक नयाँ सडक कम र पुरानाको स्तरोन्नतिमा बढी जोड दिइएको भण्डारीले बताउनुभयो। उहाँका अनुसार पञ्चपुरीका सबैजसो सडक कच्ची छन्। सडक पूर्वाधार गतिलो नहुँदा नगरवासीले बाह्रै महिना सास्ती खेप्नु परिरहेको छ। विकास ओसार्ने मुख्य माध्यम सडक नै भएकाले पनि पालिकाले यसलाई प्राथमिकतामा राखेको जनाएको छ। नागरिकको सहजताका लागि भरपर्दो सडक पूर्वाधार निर्माणमा जोड दिइएको नगरप्रमुख भण्डारीको भनाइ छ।

पालिकामा अघिल्लो कार्यकालमा धमाधम खनिएका सडक गुणस्तरीय छैनन्। ती सडकमा तीन महिना पनि मुस्किलले गाडी सञ्चालन हुन्छन्। प्राविधिकको सल्लाहबिना नै जथाभावी खनिएका सडक थुप्रै छन्। कच्ची र जोखिमपूर्ण सडकले सास्ती हुन थालेपछि अहिले नागरिकस्तरबाट पनि गुणस्तरीय बाटो निर्माणको माग गर्न थालिएको छ। 

धमाधम खोलिएका सडकले दुर्घटना हुन थालेपछि सडक स्तरोन्नतिको माग धेरै आउने गरेको जनप्रतिनिधि बताउँछन्। सुर्खेतको लेकबेँसी नगरपालिका जिल्लाका अन्य पालिकाको तुलनामा भौतिक पूर्वाधारमा पछाडि छ। यहाँ सबैभन्दा धेरै सडक निर्माण र स्तरोन्नतिको माग हुने गरेको नगरप्रमुख उमेशकुमार पौडेलले बताउनुभयो।

लेकबँेसीमा पहिलो कार्यकालमा तीनवटै तहका सरकारको समन्वयमा बाटो निर्माणमा जोड दिइएको थियो। चालू आर्थिक वर्षमा नगरपालिका आफैँले सडक पूर्वाधारका लागि करोडौँ बजेट विनियोजन गरेको छ। त्यसका साथै प्रदेश र सङ्घीय सरकारका सडक आयोजना पनि सञ्चालन भइरहेका छन्।

नगरप्रमुख पौडेलले भन्नुभयो, “सडक सुधार विस्तारमा पालिकाले ठूलो लगानी गर्दै छ। खासगरी कच्ची र जीर्ण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने योजनासहित कामहरू भइरहेका छन्।”

यो वर्ष सडक स्तरोन्नतिका कार्यक्रमका लागि बजेटसमेत पर्याप्त छुट्याइएको जानकारी उहाँले दिनुभयो। सहरी विकास तथा भवन निर्माण कार्यान्वयन एकाइ सुर्खेतले लेकबेँसीका तीनवटा ठूला सडक स्तरोन्नतिको काम अघि बढाएको छ। नगरको वडा नं. ४ मा एक करोड ३५ लाख रुपियाँमा सडक कालोपत्रे गरिँदै छ भने वडा नं. १ मा ९५ लाख रुपियाँको लागतमा सडक सुधारका काम भइरहेका छन्। 

प्रदेशको समपूरक बजेटमा पालिकाका वडा नं. १, ७ र ८ मा दुई करोड ६२ लाख लगानीमा सडक स्तरोन्नति थालिएको छ। यस्तै वडा नं. ९ मा ४५ लाख लगानीमा सडक सुधारको काम अघि बढेको नगरप्रमुख पौडेलले बताउनुभयो । नगरका विभिन्न स्थानमा एक करोड ४० लाख बजेटमा नालीसहितका सडकहरू ग्राभेल गर्ने कार्य सुरु गरिएको छ। लेकबेँसीमा सञ्चालन भएका धेरै सडक योजना भने बहुवर्षीय हुन्।