• ४ जेठ २०८२, आइतबार

हट्यो पानीको दुःख

blog

गोकर्ण पौडेल

तुलसीपुर, पुस १० गते । तुलसीपुरकी ७५ वर्षीया मङ्गली विश्वकर्माको बाल्यकालदेखि नै डोकामै पानी बोकेर जीवन बिताउनुभयो। तुलसीपुर–१९ स्थित सक्रामको मुहानबाटै पानी बोकेरै छिल्लीकोट घरसम्म आउँदा जाँदा उहाँको चार घण्टा बित्थ्यो।

तर, अहिले गाउँमै पानी पुगेको छ। मुहानबाट करिब १५ समय मिटर उचाइमा रहेको पैँयाटाकुरामा पानी पुग्ला भन्ने मङ्गलीलाई विश्वास नै थिएन। मङ्गलीजस्ता कैयन महिलाको जीवन यसरी नै पानी बोक्न मै बित्यो। समय, अवस्था र व्यवस्था फेरिएसँगै उहाँको जीवनमै पानी बोक्ने कथा समेत बदलिएको छ। मङ्गली भन्नुहुन्छ, मेरा नातिनातिनाको जीवन पनि पानी बोक्नमै जान्छ कि भन्ने लाग्थ्यो। अब त गाउँमै पानी आयो सुखमै बित्ने भयो। 

 लुम्बिनी प्रदेश सरकारले रोल्पाको रुन्टीगढी गाउँपालिका–७ को सातमुलेको मुहानबाट लिफ्ट गरेर पैँयाटाकुरामा पानी पु-याएको छ। छिल्लीकोट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव कृष्णबहादुर खड्काका अनुसार पैँयाटाकुरामा ३५ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ।

सौर्य ऊर्जाबाट लिफ्ट गरेर त्यस क्षेत्रमा पानी पु-याएको हो। लुम्बिनी प्रदेश सरकारले तुलसीपुर–१९ को छिल्लीकोट, पैँयाटाकुरा, पीपलडाँडाका एक सय घरधुरीका लागि एक करोड १९ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न गर्न थालेको छ।