महिलालाई खोरमा थुनेर संसार बनाउँछु भन्नु निरर्थक सोचाइ हो। नरनारी सँगसँगै हिँडाइयो भने कुनै पनि अमानवीय संस्कारको विकास हुन सक्दैन। यस हिसाबले अब सबै नरनारीले आ–आफ्नो कमीकमजोरी हटाएर विश्वमा नयाँ लहर ल्याउन सक्छन्। महिलालाई समाजमा स्वतन्त्र र निडरका साथ उठ्न, हिँड्न दिइएन भने संसारमा नयाँ सभ्यता र सिर्जनाको आशा गर्नु व्यर्थ छ। विश्वका कैयौँ राष्ट्रमा कैयौँ महिला रानी बने, बनेका छन्। कैयौँ राष्ट्रप्रमुख बने, कैयौँ प्रधानमन्त्री, मन्त्री र निर्णायक ठाउँमा काम गर्ने मौका पाए तर महिलामाथिको शोषण, अत्याचार बलात्कारबाट मुक्त गर्ने कुनै पनि भरपर्दो कार्यक्रम कहीँ कतैबाट आएन। सामाजिक र कानुनी रूपमा महिलालाई स्वतन्त्र र सुरक्षित हुन सक्ने मानवीय कार्यक्रम नै महिला समाजको उन्मुक्ति हो। संसारमा कस्ता कस्ता महिलाले चमत्कारीपूर्ण नेतृत्व गरेर देखाए भन्ने कुराको पनि यथार्थतालाई मनन गरौँ। अत्यन्त गरिब परिवारमा हुर्केका महिला बाध्यतावश बाँच्नका लागि वेश्यालयमा पुग्छन्। यस्ता दुईवटा महिलामा अर्जेन्टिनाकी इभीता र मिश्रकी किलोपेट्रा रहेका छन्।
अर्जेन्टिनाकी इभीता साह्रै सुन्दरी भएकोले त्यस्तै मानिसले फकाउने र फसाउने हुन्छ। अर्जेन्टिनाका मान्छे भन्थे– कस्ती राम्री ? उज्यालो अनुहार, भरिला गालाको चमक, चम्किला आँखा, शरीरको डाल मिलेकी यस्ती राम्री सुन्दरीको पनि गरिबका घरमा जन्म भएको थियो। यता–उती उनी हिँड्दा हेर्नेहरू बडो गम्भीर भएर हेर्ने गर्थे रे। तर गरिबकी छोरी ठानेर कसैले बोलचाल गर्न नचाहने रे। चिनेका स्वास्नी मानिसहरू पनि बोल्दैनथे रे। इभीताको पनि केही सहारा थिएन। गरिबी, अभावै अभावले घरपरिवार चलेको थियो। बाध्यता हो– उनी पनि केटाहरूसँग नजिकिन थालिन्। हुँदाहुँदै उनी पुरुषले जता बोलाए पनि जाने भइन्। लगभग पाँच जना जति केटाले उनीसित यौन सम्पर्क गरे। दुई चार पैसा पनि जम्मा गरिन्।
समय र परिस्थितिको कुरा हो एक पटक सन् १९४४ मा ठूलो भूकम्प गयो। त्यो भूकम्पमा निरीक्षण गर्न आएका अर्जेन्टिनाका श्रममन्त्री जे. पेरुनसँग उनको देखादेख भयो। ती मन्त्रीले इभीतालाई देखेर साहै्र मख्ख परे। साहै्र राम्री– अर्जेन्टिनाकी परीजस्ती। इभीतालाई देखेर मन्त्री मोहित बने। अभीताले पनि देखिन्– आँखा जुधाजुध भयो। प्रेम गाँसियो। अब इभीताको भाग्य खुल्यो। श्रममन्त्री जे. पेरुनले इभीतालाई सँगै लिएर गए। उनी सिनेमा पनि खेल्न थालेकी थिइन्। रहँदाबस्ता उनीसँग विवाह गरे। यो उनको इभीतासँगको दोस्रो विवाह थियो। पेरुनका दुई श्रीमती स्व. भइसकेका थिए। इभीताको विवाहपछि बच्चा भएनन्। एक पटक विरोधीका अनेकौँ षड्यन्त्रका कारण श्रममन्त्री पेरुन् जेलमा पर्छन्। इभीता त्यो बेला अत्यन्त लोकप्रिय भइसकेकी थिइन्। पेरुन जेलमा परेपछि इभीताको नेतृत्वमा अर्र्जेन्टिनाका हजारौँ मजदुरको जेलमा ठूलो जुलुस पुग्यो। मजदुरको आक्रोश बढ्न थालेपछि पेरुन जेलमुक्त भए। यो सबै कार्य इभीताबाट भएको थियो। मिलनसार प्रेममय शक्ति र उनको व्यवहारले इभीता जनताको प्रिय बनिन्।
इभीताले महिलाको प्रतिष्ठा र महत्व कति हुन्छ भन्ने कुरा व्यवहारबाट देखाइन्। अर्जेन्टिनामा महिलालाई भोट दिने अधिकार थिएन। उनैको कारणले सन् १९४७ सालदेखि महिलाले भोट दिन पाउने अधिकार प्राप्त गरे। इभीता यस्तो सक्रिय थिइन् कि अर्जेन्टिनाका जनताको हरेक काम उनले पूरा गर्ने गरेकाले उनी सबैको प्रिय बन्न पुगिन्। परिस्थिति यस्तो आयो कि उपराष्ट्रपति जे. पेरुन इभीताको लोकप्रियताको कारणले अर्जेटिनाको २९औँ राष्ट्रपति भए। पेरुन राष्ट्रपति भएपछि इभीतालाई मन्त्री बनाए। उनी मन्त्री भएपछि यति मान्छेको काम गरिन् कि सारा जनता इभीता भनेपछि भुतुक्कै हुन्थे। मान्छेहरू भन्थे– इभीताको कारणले पेरुन फेरि दोस्रो पटक राष्ट्रपति बने। राष्ट्रपति जे. पेरुन युरोपको भ्रमणमा प्रथम महिला इभीताका साथ गए। इरानमा ठूलो सत्कार र स्वागत भयो। तर बेलायतको भ्रमणमा बकिङ्गम दरबारमा इभीतालाई गरिब परिवारकी छोरी अवैद्य ठाउँमा समेत पुगेकी भनेर प्रवेश निषेध गरियो। यस कुराले उनी साहै्र निराश भइन्। इभीताले सन् १९५१ मा उपराष्ट्रपतिमा उठ्ने घोषणा गरिन् तर यसमा दबाब परेकाले उनी उठिनन्। दुःखको कुरा उनी क्यान्सर पीडित भइन्। क्यान्सरकै कारणले ३३ वर्षको उमेरमा उनी स्वर्गीय भइन्। उनको निधन भएपछि अर्जेन्टिनाका मानिस शोकमा डुबे, कैयौँ शोकले घायल भए, शोकमा १० जना मरे। अर्जेन्टिनामा पाँच दिनसम्म राष्ट्रिय शोक मनाइयो। त्यहाँका जनताले एक महिनासम्म शोक बनाए। सेनाले शोक धुन बजायो, राष्ट्रिय झन्डा झुकाइयो। आत्मीयताका साथ गाउँ, सहर सबैतिर स्वतःस्फूर्त झन्डा झुकाइयो। अर्जेन्टिनाका व्यापारीहरूले तीन दिन शोक मनाए, तीन दिन हवाई यातायात बन्द गरे। अमेरिकका राष्ट्रपति, बेलायतकी महारानीले पनि शोक मनाइन्।
इभीताकी आमा तथा तीन बहिनीसमेत आएर मृत शरीरमा फूल चढाएर शोक मनाए। पोप पीयूस बाह्रौँसमेत काठको बाकसमा राखिएको मृत शरीरमा श्रद्धाञ्जलि दिन आएका थिए। इभीताको नाममा अर्जेन्टिनामा प्रतिष्ठान स्थापित गरियो। दुःखको कुरा जे पेरुनको निधन पनि सन् १९७४ जुलाईमा भयो। एउटा सशक्त नेतृत्वको अवसान त भयो तर इभीताले अर्जेन्टिनाको प्रतिष्ठा बढाउन जनताको जीवनस्तर उठाउने अनेकौँ कार्य गरेकाले उनी मरेर गए पनि अमर भइन्। इभीताको मृत शरीरलाई हेर्न मान्छेहरूको दिनमा ६५ हजार जनासम्मको लाइन हुन्थ्यो। छोटो समयमा इभीताको निधन भयो तर कसैको निधनमा यस्तो शोक मनाइएको संसारमा कमै हुन्छ। इभीताको अनुहार हेर्नु पेरुनको सन् १९५२ जुन ४ अन्तिम थियो। सन् १९५७ मा इभीताको लासलाई मुस्कुकोमा गाड्ने निर्णय भयो। सन् १९७१ सम्म त्यही राखियो। इभीताको निधन भइसके तापनि इभीताकै कारणले जे. पेरुन फेरि तेस्रो पटक अर्जेन्टिनाको राष्ट्रपतिको निर्वाचनमा विजयी भए। सन् १९७४ जुलाईमा जे. पेरुनको निधन भएपछि जे पेरुनको चिहानसँगै इभीताको शरीर पनि सँगै राखियो। के कारण हो बीबीसीले सबै विवरण सुनाएको थियो।
त्यस्तै मिश्रकी एक अत्यन्त सुन्दरी किलोपेट्रा नामकी सुन्दरीले रोमन साम्राज्यको अधीनमा रहेको युनानका राजा जुलियस सिजारलाई प्रभाव पारेर प्रेम जालोमा फसाउँछिन्। सुन्दरीहरूका कारणले दुनियाँमा कति ठूलो परिवर्तन हुन सक्दो रहेछ भन्ने कुरा मिश्रकी एक अत्यन्त सुन्दरी किलोपेट्राको जालमा रोम साम्राज्य युनानका राजा जुलियस सिजार फसेको प्रसङ्ग पनि उत्तिकै घतलाग्दो छ। मिश्रलगायत युरोपका कैयौँ देश रोमन साम्राज्यका अधीनमा चलेका थिए। यो घटना इसापूर्व ४०/५० तिरको हो। रहँदा बस्दा जुलियस सिजारले किलोपेट्रालाई रानी बनाए। राजाको विश्वासप्राप्त बनेपछि राजा निदाएका बेलामा किलोपेट्राले राजाको हत्या गरिन् भनिन्छ। राजाको हत्या भएपछि रोमन साम्राज्यको अधीनमा रहेको मिश्रलाई स्वतन्त्र राष्ट्र घोषणा गरेर किलोपेट्रा मिश्रकी रानी बनिन्। वास्तवमा यस हिसाबले किलोपेट्रालाई एक महान् देशभक्त मान्नै पर्छ। स्मरण होस् किलोपेट्रा अत्यन्त सुन्दरी भएकाले उनैको नाममा किलोपेट्रा रक्सी पनि बनेको थियो।
नेपालको सन्दर्भमा नेपालका महिलाहरू पुरुषको दाजोमा अत्यन्त देशभक्त छन्। नेपालका महिलाहरू आफ्नो देशको धर्म, रीतिरिवाज, धर्मप्रति आस्थावान् छन्। नेपालमा धर्मनिरपेक्ष राज्यको रूपमा घोषणा गरे तापनि नेपालका महिला एक प्रतिशत पनि आफ्नो धर्म छोडेका छैनन्। त्यसैले अहिले पश्चिमाहरूको साह्रै टाउको दुःखेको छ। नेपालको सम्पत्ति भनेका महिला नै हुन्। घरकाजदेखि घरको सभ्यता, छोराछोरीको भविष्य बनाउने कुरामा नेपाली महिला धेरै सशक्त छन्। नेपाली महिलाको उन्नति, सुरक्षा र स्वतन्त्रताका बाटाहरू खुला राख्न राज्यले वातावरण, नियम कानुन बनाउनुपर्छ।