लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ। घर, कार्यालय, सार्वजनिक स्थल, कार्यालयलगायतका क्षेत्रमा हुने महिलामाथिको हिंसा न्यूनीकरणका लागि जनचेतना जगाउने उद्देश्यले यो अभियान चलाइन्छ। अभियानकै अवधिमा पनि अनेक किसिमका हिंसा भइरहेका समाचार बाहिरिएकै हुन्छन्। लैङ्गिक हिंसा हरेक वर्ष कम हुनुको साटो बढ्दै गएको छ।
हिंसाका अनेक रूप बाहिर आएका छन्। बाहिरबाट प्रस्ट देखिने लैङ्गिक हिंसाका रूपमा यौन दुव्र्यवहार, दाइजोको निहुँमा हत्या, बोक्सीको आरोपमा कुटपिटलगायतका घटना बढी मात्रामा सुन्ने गरिन्छ। अझ ग्रामीण क्षेत्रमा यस्ता घटना बढी भएको मानिन्छ। सहरी क्षेत्रमा हुने महिला हिंसाका घटना तुलनात्मक रूपमा कमै मात्र सार्वजनिक हुने गरेका छन्। सहरी र शिक्षित महिला शारीरिक रूपमा हिंसाको सिकार कम हुने गरेको देखिएजस्तो लागे पनि हिंसाका अनेक प्रवृत्तिबाट उनीहरू यातनाको सिकार भइरहेका छन्। यी महिलाले भोग्ने हिंसाका बारेमा कमैले मात्र चासो दिने गरेका छन्।
हिंसा भनेको हत्या हुनु, बाहिर देखिने गरी कुटपिट हुनु, बलात्कार हुनु मात्र होइन, भावनामाथिको खेलबाड, विचार, सोच र क्षमताअनुसार कार्य गर्न नदिनु र आफ्नो विवेक प्रयोगमा अवरोध खडा गर्नु पनि हो। सहरी क्षेत्रका पढेलेखेका महिला यस्तो हिंसाको सिकार बढी भइरहेका छन्। हिंसामा परिवारका अग्रजदेखि आफ्नै जीवनसाथी र सन्तानसमेत संलग्न भइरहेका हुन्छन्। महिलालाई उनीहरूको क्षमताअनुसार काम गर्न नदिने कार्य उनीहरूको योग्यताको अवमूल्यन र महिलालाई केवल शारीरिक सुखभोगको साधन अनि भातभान्सा गर्ने, कपडा धुने मेसिन मात्रै ठान्ने सोचले महिला हिंसाको गुप्त स्वरूपमा कमी आएको छैन।
शिक्षित र सक्षम महिला अनेक प्रकारका दृश्य–अदृश्य हिंसा भोग्न बाध्य छन्, उनीहरू आफूले भोगेको हिंसा वा यातना सार्वजनिक गर्न चाहँदैनन्, जसले गर्दा उनीहरूमाथिको हिंसा अरू बढिरहेको छ। युवा अवस्थाका महिला मात्र होइन, प्रौढ उमेरमा पुगेका महिला पनि हिंसाको सिकार भइरहेका छन्। त्यस्ता महिलाले आफ्नो योग्यता, क्षमता सबै भुलेर हिंसा सहँदै जीवन निर्वाह गरिरहेका अनेक घटना देखिन्छन्। यसमा महिला स्वयंको कमजोरी कति, महिला जतिसुकै सक्षम र योग्य भए पनि उनीहरूलाई मानव होइन, मेसिन ठान्ने प्रवृत्ति र हैकमवादी प्रवृत्ति तथा सोच कति जिम्मेवार भन्ने प्रश्नको सहज उत्तर छैन।
सहरी क्षेत्रका शिक्षित र सक्षम महिला अप्रत्यक्ष हिंसाको सिकार हुनुका अनगिन्ती कारणमध्ये महिलाको आत्मसम्मान गर्न नसक्ने सोच प्रमुख छ। महिलाले बोलेका जतिसुकै राम्रा कुरा पनि इन्कार गर्ने, उनीहरूले अर्ती–उपदेश दिए जान्ने भएको भन्दै दुत्कार्ने प्रवृत्तिले महिलालाई आफ्नो क्षमता प्रदर्शनमा अवरोध गर्ने गरिएको छ। यो हिंसाको चरम रूप हो। बाबुको घरमा बसेर पढे–लेखेर, योग्यता र क्षमता बनाएर आफ्नो खुट्टामा उभिनसक्ने भएकी एउटी युवती विवाहपछि पतिको घरमा पुगेपछि उनका सबै मेहनत खरानीको डल्लोमा परिणत हुन्छ। कर्कलाको पातको पानीजस्तै बन्न पुग्छ। अयोग्य नै भए पनि पति हुनुको अहङ्कारले योग्य महिला हिंसाको सिकार बन्न पुग्छिन्। बुहारी भएर काम गर्ने, घरमा हैकम जमाउन खोजेको भन्दै मानसिक दबाब दिन सुरु गरिन्छ। यसमा सामाजिक बनावट र परिवेश जति जिम्मेवार छ, महिला स्वयंको भूमिका पनि उत्तिकै जिम्मेवार छ। उनीहरू आफ्नो क्षमता प्रदर्शनमा विद्रोह गर्नुको साटो सामान्य गृहिणी बनेरै घरधन्दा सम्हाल्न राजी हुन्छन्। यही हो सहरी र शिक्षित महिलाको समस्या। यसमा अर्को समस्या पारिवारिक मर्यादा पनि रहेको छ। परिवारको इज्जत जाने भन्दै आफूमाथि
भएको हिंसालाई चुपचाप सहने प्रवृत्तिले हिंसाको मात्रामा बढोत्तरी आइरहेको छ।
महिला हिंसाका अनेक रूप, स्वरूप छन्। हिंसामा संलग्न हुनेहरू पनि विविध छन्। मूलतः सहरी, शिक्षित र आत्मनिर्भर रहेका महिलासमेत हिंसामा पर्नुका विविध कारणमा कुण्ठा प्रमुख रहेको हुन्छ र यस्तो कुण्ठाका कारण पति आफ्ना पत्नीमाथि हिंसा गर्न उद्यत भइरहेका हुन्छन्। श्रीमती जतिसुकै योग्य भए पनि उनीहरू श्रीमान्मै आश्रित हुनुपर्ने मान्यता बोकेर आत्मनिर्भर भएकी आफ्नी श्रीमतीसँग हातेमालो गर्नुको साटो यातनाको सिकार बनाउँछन्।
हिंसा प्रभावित महिलाको पीडकसँगको सम्बन्धलाई विश्लेषण गर्दा महिला सबैभन्दा बढी श्रीमान्बाटै जोखिममा छन्। एक तथ्याङ्कअनुसार कुल हिंसा प्रभावितमध्ये ५१ प्रतिशत महिला आफ्नै श्रीमान्बाट, १९ प्रतिशत आफ्नै परिवारका सदस्यबाट, १८ प्रतिशत छिमेकीबाट, सात प्रतिशत आत्मीय व्यक्तिबाट हिंसामा पर्ने गरेका छन्। हिंसा गर्नेमा श्रीमान् नै सबैभन्दा बढी हुने भएपछि नेपालमा महिला मानव अधिकारको अवस्था कस्तो छ र यो अवस्थामा सुधार नआउनुको कारण के भन्ने बुझ्न गाह्रो छैन।
पितृसत्तात्मक सामाजिक संरचना, हानिकारक मूल्य–मान्यता र गलत संस्कृतिका कारण जति सक्षम र योग्य भए पनि महिला दोस्रो दर्जाको नागरिक भएरै जिउन बाध्य छन्। अझ आधाभन्दा बढी महिला आफ्नै जीवनसाथीबाट हिंसाको मारमा पर्नु पक्कै पनि चिन्ताको विषय हो। यसलाई न्यूनीकरण गर्न सामाजिक अभियानका साथ महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भन्ने शास्त्रीय मान्यतालाई पुनस्र्थापित गर्नु आवश्यक छ। वर्षको १६ दिन अभियान चलाएर मात्रै महिला हिंसामा कमी आउँदैन। चेतना प्रमुख कुरा हो। महिलालाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आवश्यक छ। यसका लागि कानुनभन्दा बढी शिक्षाको आवश्यकता छ।
बुझ्नुपर्ने कुरा के हो भने जुन घरमा महिला र पुरुष स्वयं कमाइ गर्ने र उनीहरू एकले अर्कोलाई सम्मान गरेर अघि बढेका छन्, त्यो घरमा सुख, शान्ति र अमनचयन छाएको हुन्छ भने पत्नीको क्षमतालाई आफूभन्दा जान्ने सुन्ने भई भन्दै दुव्र्यवहार गर्नेहरूका घर बिग्रिएका हुन्छन्। आजकल ढल्कँदो उमेरमा सम्बन्ध विच्छेदका घटना बढ्दै जानुको मूल कारण पनि यही हो। यसले परिवार विखण्डित भइरहेको छ भने वृद्धावस्थामा एक्लो र कष्टकर जीवन बिताउनुपर्ने बाध्यता छ।
नेपालको संविधान, २०७२ ले महिला हिंसालाई अपराध मानी सोहीबमोजिमको कानुनी दण्ड–सजाय हुने कुरा निर्दिष्ट गरेको छ। मुलुकी ऐन एवं अन्य विभिन्न ऐनको व्यवस्था छ। महिला हिंसासम्बन्धी विशेष ऐनका प्रावधान छन्। ती ऐन र कानुन कार्यान्वयनका लागि प्रक्रिया र नियम निर्धारण गरिएका विनियमको व्यवस्था भएको छ। महिला हिंसासम्बन्धी घरेलु हिंसा (कसुर तथा सजाय) ऐन, २०६६, घरेलु हिंसा (कसुर तथा सजाय) नियमावली, २०६७, लैङ्गिक हिंसा उन्मूलन कोष (सञ्चालन) नियमावली, २०६६, लैङ्गिक समानता ऐन, २०६३, वैवाहिक बलात्कार ऐन, २०६३, महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धिको ऐच्छिक प्रलेखको अनुमोदन, सन् २००७, मानव बेचबिखन (नियन्त्रण) ऐन, सन् १९८६ लाई प्रतिस्थापन गर्न बनेको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, सन् २००७, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ आदि प्रावधान छन्।
यति धेरै कानुन र ऐन भए पनि महिला हिंसामा कमी आउन सकेको छैन। अझ अपराधीलाई हुने राजनीतिक संरक्षणले कानुन पालनामा अवरोध सिर्जना गरिरहेको छ। तसर्थ महिलामाथि हुने हिंसा महिला मात्रैको सवाल र समस्या हैन, राष्ट्रिय र राजनीतिक सवालका रूपमा स्थापित हुनु जरुरी छ। हिंसा विनाशको बाटो मात्र हो, सिर्जनाका लागि शान्ति, सहिष्णुता र आपसमा सुमधुर सम्बन्ध चाहिन्छ। यस्तो सम्बन्धले व्यक्ति, परिवार, समाज हुँदै राष्ट्रको विकासमा टेवा पुग्छ। परिवार हुँदै राष्ट्र नै समुन्नत हुने आधार नै महिला–पुरुषबीचको क्षमतामा आधारित समानता कायम हुनु हो। यसका लागि कानुन जति बलियो बनाइए पनि कार्यान्वयन नहुनु र हिंसाका घटना लोकलाजको विषय बनाएर घरभित्रै सीमित गर्नु हिंसा वृद्धिका लागि मलजल गरे बराबर हो।
यो अवस्थाको अन्त्य गर्न मुलुकको दिगो विकास अपरिहार्य छ। महिला हिंसाको कुनै पनि स्वरूपमा संलग्नलाई कानुनी दायरामा ल्याउने र हिंसा सहन हुँदैन भन्ने भावनाको विकास गराउन व्यापक अभियान चलाइनुपर्छ। शिक्षा र चेतना अभाव भएका ग्रामीण क्षेत्रका महिला मात्र हैनन्, सहरका शिक्षित भनिने महिलासमेत हिंसा सहेर बस्न बाध्य हुनुको मूल कारण उनीहरूमा आत्मबल र स्वाभिमान विकासको अभाव नै हो, आफ्नो अधिकार र आत्मसम्मानप्रतिको अज्ञानता हो। यी कुरालाई हरेक महिलाको मन–मस्तिष्कमा स्थापित गर्न सकियो भने हिंसा स्वतः न्यूनीकरण हुँदै जानेछ, समाज शान्त रह्यो भने त्यसले मुलुकको विकास र समृद्धिमा टेवा पुग्नेछ।