काठमाडौं, पुस ८ गते । काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहोर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरुपमा व्यवस्थापन भइरहेको स्पष्ट पार्नुभएको हो ।
उहाँले भन्नुभयो, “फोहोर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् ।” प्रवक्ता मानन्धरका अनुसार आज मात्रै एक सय १९ गाडीबाट फोहोर व्यवस्थापन भइरहेको छ । उपत्यकाका १८ स्थानीयतहबाट अहिले दैनिक एक हजार दुई सय मेट्रिकटन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।
तीमध्ये सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिकटन फोहोर निस्किने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आइएको थियो । अहिले निजी र कामपाका करिब दुई सय गाडीले दैनिक फोहोर व्यवस्थापन गर्दै आएका छन् ।