बाबुराम शर्मा
दोलखा, पुस ८ गते । दोलखाको भीमेश्वर नगरपालिका–२ राम्पाका लालकृष्ण थामी जताततै पाइने पिपिरीको पातबाट विभिन्न किसिमका साङ्गीतिक धुन निकाल्नु हुन्छ ।
उहाँ आफूसँग भएको यो सीप कतै पनि नबिक्दा सारै दुःखित हुनुहुन्छ । तीन वर्ष यसै सीपमा व्यतीत गर्नुभएका लालकृष्ण आफ्नो सुरिलो स्वर जस्तो जीवन बन्न नसकेकोमा दुःख लागेको बताउनुहुन्छ ।
सानोमा गाईबस्तु चराउन जाँदा पिपिरीको पातबाट ध्वनि निकाल्न मात्र सिकेको र सबै किसिमका गीतका भाका टिपेर बजाउन भने भुटानबाट सिकेको उहाँले बताउनु भयो ।
गाउँमा जीवनयापन गर्न गाह्रो भएपछि उहाँ १६ वर्षको उमेरमा भुटान जानुभएको थियो । छ वर्ष त्यहाँ बस्दा पूर्वेली राई, लिम्बूले पातबाट विभिन्न भाकाका गीत सुसेलेको देखेपछि त्यसैबाट प्रभावित भएर आफैँले कडा अभ्यास गरेर सिकेको हुँ, उहाँले भन्नु भयो । गीतका जुन सुकै भाकालाई पनि सक्छु ।
खासै खर्च नलाग्ने स्थानीय स्रोत साधनको प्रयोग हुने यो सीप उच्च स्थानमा पुर्याउन नसक्दा अरूले त सिकेनन् आफ्ना सन्तानले पनि नसिकेर लाृप हुन लागेकोमा उहाँले चिन्ता व्यक्त गर्दै भन्नु भयो, पहुँच नभएकै कारण यो सीप सबै सामु पुर्याउन सकिनँ र जीवन पनि धुन जस्तै सुरिलो बनाउन सकिनँ । अरू आम्दानीका स्रोत नभएकाले उहाँले आफ्ना तीन भाइ छोरा र एक छोरी समेतको पालनपोषणका लागि सिकर्मी काम गर्नु भयो ।
अहिले ६७ वर्षको उमेरमा सबै लाखापाखा लागेपछि त्यही सिकर्मी पेसाले जीवन जिउँदै हुनु हुन्छ । अरू साधनभन्दा पातबाट तीखो स्वर र राम्रो धुन आउने उहाँको कथन रहेको छ । पात मिलाएर धुन निकाल्नका लागि दाँत भने मिलेको हुनु पर्छ । उहाँले भन्नु भयो, जिल्लामा त सबैलाई थाहा छ । अन्यत्र पनि यो धुन सुनाउने सारै रहर छ ।