• ९ मंसिर २०८१, आइतबार

फोहोर छुट्याएर सङ्कलन गर्दै चन्द्रागिरि

blog


कीर्तिपुर, पुस ४ गते । कुहिने र नकुहिने फोहोर गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहोरलाई छ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको छ ।

नगरवासीलाई घरबाट निस्किने फोहोरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई छ वटा अलग–अलग झोला वितरण गरिनेछ । नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले सङ्कलन हुने फोहोरको परिमाण उल्लेख्यरुपमा घटाउन र बाँकी फोहोर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न यस्तो कार्यक्रम सुरु गरिएको हो ।

यसअन्तर्गत नगरवासीलाई हरियो, रातो, कालो, सेतो, नीलो र पहेँलो गरी छ प्रकारका झोला वितरण गरिनेछ । साथै उनीहरूलाई हरियो झोलामा तरकारीलगायतका खाद्यपदार्थबाट निस्किएका फोहोर राख्न भनिने छ । सम्भव भएसम्म हरियो झोलामा सङ्कलन हुने फोहोरबाट मल बनाउन उत्प्रेरित गर्ने नगरपालिकाको अवधारणा छ ।

यसैगरी, रातो रङको झोलामा सिसा र सिसाजन्य फोहर राख्न र त्यसलाई आफैँले कवाडीमा बेच्न प्रेरित गरिनेछ । कालो झोलामा प्लास्टिक र प्लास्टिकजन्य फोहोर राख्ने र त्यसलाई पनि नगरवासी आफैँले बेच्नका लागि प्रेरित गरिनेछ । सेतो झोलामा कागज र कागजजन्य फोहोर थुपार्ने र त्यसलाई समेत कागज पुनः प्रयोग गर्नेलाई बेच्नका लागि प्रेरित गरिने छ ।

फलाम र कवाडी जन्य अन्य सामान थुपार्न निलो रङको झोला उपलब्ध गराइनेछ । त्यसलाई पनि नगरवासी आफैँले बेच्न सक्नेछन् । यसैगरी, व्यक्तिगत तवरमा व्यवस्थापन गर्न नसकिने स्यानिटरी प्याड, डाइपरआदि फोहरलाई पहेँलो झोलामा सङ्कलन गर्न प्रेरित गरिने छ ।

“कुहिने फोहोरमा माटो र धानका भुस र बिरुवाका पात राखेर नगनाउने गरी मल बनाउन सकिन्छ”, नगरपालिकाबाट तयार गरिएको सन्देशमा उल्लेख छ ।  यसका साथै फोहरलाई सङ्कलक नआएको बेला घरभित्र राख्न र सङ्कलक आएको बेलामा मात्र बाहिर निकाल्न पनि नगरपालिकाले आह्वान गरेको छ ।

“कुहिने फोहोर मलका रूपमा र नकुहिने फोहोर पैसाका रूपमा नगरवासीलाई नै फिर्ता दिने उद्देश्यले यो कार्यक्रम गर्न लागेका हौँ”, प्रमुख गिरीले भन्नुभयो ।

फोहरको प्रकृतिअनुसार छुट्याउनका लागि झोला मात्र वितरण नगरी कुन दिन कुन टोलमा छ वटामध्ये कुन प्रकारको फोहोर उठ्छ भन्नेसमेत तय गरिने छ र नगरवासीलाई यसैअनुसार सूचना दिइने नगरपालिकाकी विपद् व्यवस्थापन शाखाप्रमुख भद्रा अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाभित्र कूल छ वटा संस्थाले फोहोर सङ्कलन गरिरहेका छन् । तिनलाई पनि निश्चित बार निश्चित प्रकारको फोहोर मात्र उठाउने गरी प्रशिक्षित गरिने छ ।

घरको फोहोर त्यसको प्रकृतिअनुसार अलग–अलग भाँडामा सङ्कलन गर्ने बानी लगाउन यसो गरिएको नगरप्रमुख गिरी बताउनुहुन्छ । अहिले प्लास्टिकको झोलामा अलग–अलग फोहोर सङ्कलन गर्न लगाउने र पछि बिस्तारै बलियो भाडा दिने सोचाइ नगरपालिकाको छ ।