• ५ जेठ २०८१, शनिबार

गोल्डेन बुटको दौडमा मेस्सी भर्सेस एमबाप्पे

blog

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे । तस्बिर : गो कतार २०२२ फेसबुकबाट

काठमाडौं, मंसिर २९ गते । कतारमा जारी विश्वकप फुटबलको फाइनल समीकरणको रोचकतासँगै सर्वाधिक गोल गर्ने खेलाडीले पाउने गोल्डेन बुटको रस्साकस्सी पनि रोचक बनेको छ । विश्वकपको फाइनलमा साबिक विजेता फ्रान्स र अर्जेन्टिनाले स्थान बनाइसकेका छन् ।

दुई दुई पटक विश्वकपको उपाधि चुमेका फ्रान्स र अर्जेन्टिना आइतबार राति आमनेसामने हुँदा तेस्रो उपाधि चुम्ने लक्ष्यमा छन् । उपाधिसँगै दुवै टोलीका खेलाडीबीच गोल्डेन बुट लगायत व्यक्तिगत पुरस्कार थाप्ने होडबाजीले पनि विश्वकपलाई थप रोचक बनाउने छ । 

विश्वकपमा गोल्डेन बुट सर्वाधिक गोल गर्ने एक खेलाडीलाई दिइन्छ । यस दौडमा अहिले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी हुनुहुन्छ । ३५ वर्षीय मेस्सीले जारी विश्वकपमा ६ खेलमा पाँच गोल गर्नुभएको छ । यसैगरी फ्रान्सका २३ वर्षीय स्टार केलियन एमबाप्पेले पनि पाँच नै गोल गर्नुभएको छ ।

दुवै खेलाडीको समान पाँच पाँच गोल भए पनि गोलका लागि गरेको अशिष्टका आधारमा मेस्सी अगाडि हुनुहुन्छ । मेस्सीले गोलका लागि तीन अशिष्ट दिनुभएको छ भने एमबाप्पेले दुई अशिष्ट दिनुभएको छ ।

त्यसैले गोल्डेन बुटको लागि पनि फाइनल खेलमा यी दुई खेलाडीका लागि महत्त्वपूर्ण हुने देखिएको छ । फाइनल सम्ममा गोल र अशिष्ट समेत बराबरी भएका कम समय खेलेर गोल गरेको आधारमा गोल्डेन बुट विजेताको छिनोफानो हुनेछ । 

मेस्सी र एमबाप्पेसँगै गोल्डेन बुटको दौडमा फ्रान्सकै ३६ वर्षीय ओलिभर गिरोड र अर्जेन्टिनाका २२ वर्षीय जुलिय अल्भारेज पनि हुनुहुन्छ । उहाँहरू दुवै जनाले चार चार गोल गर्नुभएको छ । गिरोड र अल्भारेजलाई यस उपाधि जित्न फाइनलमा थप मेहनत गर्नुपर्ने देखिन्छ । एजेन्सी