नेपाली कांग्रेससँग गठबन्धन गरेर प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा होमिएको नेकपा माओवादी केन्द्रले चुनावको पूर्ण परिणामसमेत आइनसक्दै कांग्रेसबाहेकका अन्य दलसँग समेत मिलेर सरकार बनाउन सक्ने विकल्प खुला भएको भनी बैठकमा छलफल भएको कुरा बाहिर चुहायो । उसले प्रस्टसँग कुनै दलको नाम नलिए पनि उसको खुला विकल्पको अर्थ माओवादीको एमालेसँग पनि सरकार बन्न सक्ने भन्ने सङ्केत गरी कांग्रेस तर्साउने अस्त्रको रूपमा विकल्पलाई प्रयोग ग¥यो। जब कि त्यही एमालेसँग दुई वर्ष अगाडि मात्र छुट्टिएर माओवादी केन्द्र अलग भई कांग्रेससँग सरकार र चुनावमा गठबन्धन गरेको थियो।
यसरी गठबन्धनभित्र सत्ता पासा फाल्ने माओवादी एक मात्र दल भने होइन। एमालेसँग चुनावी गठबन्धन गरेको सङ्घीय समाजवादी फोरमले पनि आफ्ना उम्मेदवारी दिएका निर्वाचन क्षेत्रको मतगणना सकिना साथ चुनावको परिणामसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको घोषणा ग¥यो। जब कि समाजवादी चुनावको केही दिनअघि अगाडि मात्र कांग्रेस गठबन्धनबाट बाहिरिएर एमाले गठबन्धनमा पुगेको थियो।
प्रमुख ठूला दलको आकलन विपरीत अनपेक्षित रूपमा यस चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, जो एक्लै चुनावमा होमिएको थियो, उसले समेत यतिबेला सरकारमा जाने सङ्केत गरिरहेको छ। यद्यपि उसले आफ्ना एजेन्डालाई समर्थन गर्ने गठबन्धमा मात्र सहभागी हुने पासा फालेको छ। यो पासा पनि स्वतन्त्र पार्टीको ‘फेस सेभिङ’ रणनीति मात्र हो। सत्ताको हतारोले त्यो पार्टीलाई भविष्यमा फाइदा नपुग्ने निश्चित छ। गठबन्धन गरेर चुनाव जितेका राप्रपा हुन् वा मधेशकेन्द्रित दलहरू नै किन नहुन्, सबैले सत्तामा जान खुट्टा उचालेका छन्। उनीहरू सत्तामा जाने कि नजाने भन्नेमा पटक्कै दोधारमा छैनन्, बरु ठूला दलले आफूलाई सत्तामा लैजाँदैनन् कि भन्ने त्रासमा मात्र छन्। मानौँ कि उनीहरू सत्ता बिना छटपटाउँछन्।
उता कांग्रेस–माओवादी गठबन्धनले लोकतन्त्र मात्र होइन देश नै सखाप पारिसक्यो भनेर फलाक्ने गठबन्धनको कट्टर आलोचक एमालेले पनि सत्तामा सहकार्यका लागि त्यही आफैँले देश सखाप पार्ने बिल्ला भिराएको माओवादीलाई फकाउने प्रयास गरेको मात्र होइन, उस्तै परे कांग्रेससँगै पनि सत्ता साझेदारी गर्न सक्ने पासा फालेको छ। एमाले र माओवादीका उपल्ला नेता, जसको एकआपसमा कति महिना त बोलचालसमेत भएन, चुनावमा जितेर आएपछि बधाई साटासाट भएको छ। तर प्रस्ट छ यो बधाई साटासाट देखावटी मात्र हो, बधाईको अन्तर्यमा सत्ताप्रेरित छ।
प्रायः सबै दलले अहिले भइरहेको गठबन्धनलाई लत्याएर अर्को गठबन्धनको अभ्यास गर्दा भर्खरै सम्पन्न भएको चुनावको ह्याङ्ओभर पनि गएको छैन। चुनावको परिणामको एउटा अवस्था देखिए पनि समानुपातिकसमेतको अन्तिम परिणाम आइसकेको छैन। निर्वाचन आयोगले परिणाम घोषणा गर्न बाँकी नै छ। कुनै एउटा दलसँग गठबन्धन गरेर चुनाव जित्ने तर मतपत्रममा मतदाताले स्वस्तिक छाप हानेको मसीसमेत सुक्न नपाउँदै तुरुन्तै अर्को पार्टीसँग गठबन्धन गर्नु कति नैतिक हो ? हुन त राजनीतिमा सबै कुरा जायज हुन्छ भन्ने भनाइ छ। तर त्यो सबै कुरा भन्नुको अर्थ अनैतिक काम पनि हो र ? कि राजनीतिमा अनैतिक कर्म पनि नैतिक हुन्छ ?
राजनीतिमा नैतिकतालाई प्रवेश निषेध र अनैतिकतालाई रातो कार्पेटमा स्वागत छ भने त भन्नुपर्ने केही छैन, जसले जता जोसँग जतिबेला जस्तो गठबन्धन गरे पनि हुन्छ। बेलुका घाम अस्ताउने बेलामा एउटा पार्टीसँग गठबन्धन भोलिपल्ट घाम झुल्किँदासम्म रातारात अर्कोसँग गठबन्धन गरेर जनताको अभिमतलाई आफ्नो पेवा ठाने पनि भयो। होइन भने राजनीतिक दलका प्रमुख नेताहरूमा अलिकति पनि नैतिकताको अवशेष अझै बाँकी छ भने गठबन्धनको नाममा यो हदसम्मको तमासा गर्नुभएन। सीमा नाघेर अनैतिक मेलमिलाप र गठबन्धनले लोकतन्त्रलाई मजबुत बनाउँदैन, बरु विकृत बनाउँछ।
पहिलो कुरा त चुनाव अगाडि बनेका गठबन्धनहरू आफैँमा अप्राकृतिक भएको गुनासो पनि आएको थियो। त्योभन्दा बढी अनैतिक हुन्छन्, चुनावअगाडि एउटा र चुनाव लगत्तै अर्को पार्टीसँगको गठबन्धन। हप्ता हप्तामा फेरिने गठबन्धन केका लागि र कसका लागि हुन्छन् ? देश र जनताका लागि कि दलका नेताको सत्ता भागबण्डाका लागि ?
राजनीतिमा पुराना र स्थापित भनिएका दलहरूको गरेका यस्तै अनैतिक क्रियाकलापको परिणामस्वरूप वैकल्पिक दलहरू जन्मन्छन्। तर वैकल्पिक भनिएका दलहरूले पनि पुराना दलहरूको झैँ अनैतिक र अप्राकृतिक गठबन्धन गरे भने त ती वैकल्पिक भनिएका दलहरू पनि जन्मेर बामे सर्न नपाउँदै आफ्नै एजेन्डाले थिचेर बिलाउन सक्छन्। विगतमा जनताले केही आशा गरेका वैकल्पिक दल जन्मेर बामे सर्न नपाइ बिलाइ नै सकेका छन्। आफूलाई वैकल्पिक दाबी गर्ने छोटो समयमै अङ्कुरित त भए तर पुष्पित हुन सकेनन्। यो निर्वाचनले जन्माएका वैकल्पिक दललाई पनि सत्ता हतारोले त्यही हबिगत नगराओस्।
हाम्रो संविधानमा व्यवस्था गरिएको वर्तमान निर्वाचन प्रणालीले हत्तपत्त कुनै पनि दलको सरकार बनाउन चाहिने बहुमत नआउने स्थिति छ। त्यसैले राजनीतिक दलले सरकार निर्माण गर्न मिलीजुली सरकार निर्माण गर्नुको विकल्प छैन। तर त्यस्तो मिलीजुली गठबन्धन एउटा पक्षलाई पूरै निषेध गर्ने खालको हुनु हुँदैन। स्वतःस्फूर्त सरकार निर्माण हुनुपर्छ। लाज हुने गरी पदको भागबण्डा गरेर दुनियाँ हसाउने काम लोकतन्त्रका लागि हितकर हुँदैन।
गठबन्धन गर तर अप्राकृतिक गठबन्धन नगर। राजनीति गर, तर सिद्धान्त विचार र निष्ठालाई तिलाञ्जलि नदेऊ। वैकल्पिक राजनीति गर्छु भन्नेले अहिल्यै सत्तालाई लक्ष्य नबनाऊ। जनताको आँखामा छारो कसैले नहाल। दिउँसै रात पार्ने र दुनियाँलाई भ्रम नछर। राजनीतिलाई फोहोर बनाएर आफू सुकिलो हुन्छु भन्ने भ्रमको जालो हटाउ।
राजनीतिक पेसा व्यवसाय होइन, सेवा हो। राजनीतिको उद्देश्य सिद्धान्ततः सत्ता प्राप्ति होइन, देश र जनताको सेवा हो। व्यवहारतः कुनै व्यक्तिका लागि भने राजनीतिको लक्ष्य सत्ता प्राप्ति पनि होला। जोगी बन्न राजनीति गरेको होइन भन्ने भनाइ आजकल सस्तो भइसकेको छ। सत्ता प्राप्तिकै मोहमा एउटा राजनीतिककर्मी चुनाव जित्न चाहन्छ। देश र जनताको सेवा त सत्तामा नभए नि गर्न सकिन्थ्यो तर जनताकै नाममा सत्तामा जान मरिहत्ते गर्छ।
राजनीति सबैभन्दा बढी नैतिकता देखाउनुपर्ने ठाउँ हो। तर हाम्रो राजनीतिक रङ्गमञ्चमा अनैतिक राजनीतिक फुटबल चलिरहेछ। नैतिकता विनाको राजनीति बास्नाबिनाको फूल जस्तै हो। तर बास्नाबिनाको फूलमा तँछाडमछाड चलिरहेछ। यस्तो क्रियाकलापले लोकतन्त्रलाई विकृत बनाउँछ।
त्यसैले राजनीतिक दलका नेताले गठबन्धन सत्ताका लागि होइन, देश र जनताका लागि गर, स्थिर सरकार लागि गर। राजनीतिमा कम्तीमा पनि एकचिम्टी नैतिकता त देखाऊँ। दिन त्यस्तो आउँदैछ, अनैतिक राजनीतिका खेलाडीहरू इतिहासको गर्तमा बिलाउँछन्। बरु सत्ता त्याग, तर इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरमा लेखाऊ। जनताले सुझाव दिनबाहेक गर्न नै के सक्छ र। पाँच वर्षका लागि डाडू पन्यू सबै तपाईंहरूकै हातमा छ। राजनीतिमा यतिबेला नैतिकताको खँडेरी छ। नैतिकताको जलले सिञ्चन गरी राजनीतिलाई उर्वर बनाउनु आवश्यकता छ। राजनीतिमा धमिलो खोला बगिरहेको छ। दलका नेता धमिलो खोलालाई सङ्लो जल बगाउन मुहान खोलाको मुहान सफा गर्नुको सट्टा धमिलो पानीमा माछा मार्ने दाउमा छन्। राजनीतिक परिदृश्य देख्दा सिद्धहस्त राजनीतिक विश्लेषक पनि भविष्यमा के हुँदैछ भनेर आकलन गर्ने कुरामा असफल हुन्छन्।
हरेक व्यक्ति जन्मेपछि मर्छ। कसैले पनि जन्मिँदै केही ल्याएको होइन। मृत्यु हुँदा पनि सँगै केही लैजाने होइन। मात्र आफूले गरेको सत्कर्मको छाप वा दुष्कर्मको धब्बा छोडेर जाने हो। त्यसैले सत्कर्मको छाप छोड्न नैतिकताविहीन राजनीतिमा पौडी नखेलौँ। बरु यो पुस्ताले अर्को पुस्तालाई समेत शिक्षा हुने खालको नैतिकतासहितको राजनीतिक संस्कार बसालौँ। दुनियाँमा असल खराब दुवै हुन्छन्। असल राजनीतिज्ञले असलबाट सिक्नुपर्छ र असल आचरण गर्नुपर्छ। देशको आजको परिस्थितिले मागेको तस्बिर नै नैतिकतासहितको राजनीति हो।