धर्मेन्द्र झा/रासस
ल्होमन्थाङ (मुस्ताङ), जेठ २ गते । ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठुलो बस्ती र बस्तीको बिच भागमा सुन्दर दरबार । मुस्ताङको ल्होमन्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसको आस्थाको केन्द्र थियो । त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन, मानिसविहीन बनेको छ ।
छ सय वर्षअघि सैनिकहरूले पहरा दिइरहने दरबारको रक्षा यतिबेला एउटा भोटेकुकुरले गरिरहे झैँ देखिन्छ । दरबारछेउमा आउनेलाई तर्साउँदै गरेको देख्दा सोही कुकुरले दरबारको रक्षा गरिरहेको हो कि भन्ने लाग्छ । १५ औँ शताब्दीको यो दरबारलाई स्थानीय ‘टास्सी ध्याफेल दरबार’ भन्छन् । यसको अर्थ ‘भाग्यमानी दरबार’ भन्ने हुन्छ ।
तत्कालीन समयमा यहाँका पहिलो राजा आमेपालले बाहिरी आक्रमणबाट बच्न नौ मिटर अग्लो र ५६३ मिटर लामो पर्खाल निर्माण गर्नुभएको इतिहास छ । दिनभरि खुला हुने दरबार साँझ बन्द गरिन्थ्यो । यही बन्द पर्खालभित्र जनताका घर, गुम्बा र बिच भागमा काँचो माटोले बनेको भव्य दरबार अझै देख्न सकिन्छ । त्यो समयमा पर्खालभित्र १६० वटा घरसम्म थिए भन्ने गरिएको छ ।
तत्कालीन समयमा राज्य सञ्चालनका लागि दरबारनजिकै मन्त्रालयहरू हुन्थे । आआफ्ना जिम्मेवारी बाँडफाँट गरिन्थ्यो । अहिले पनि ती मन्त्रालयका भवन ल्होमन्थाङमा देख्न सकिन्छ ।
माटोले बनेको दरबार भएकाले कसैले यसलाई
‘माटोको सहर’ पनि भन्छन् । ऐतिहासिक र पुराताŒिवक महŒवको यो दरबार हाल संरक्षण, संवर्धन र प्रचारप्रसारको पर्खाइमा छ तर दरबार संरक्षणका लागि राज्यस्तरबाट कुनै सहयोग प्राप्त नभएको स्थानीयको गुनासो छ । विगतमा भूकम्पपछि बाहिरी मानिसलाई दरबारभित्र प्रवेश निषेध गरिएकाले भित्रको अवस्थाबारे धेरैलाई थाहा छैन । यहाँका अन्तिम राजा जिग्मीपलवर विष्टलाई अहिले पनि निकै श्रद्धापूर्वक सर्वसाधारणले सम्मान गर्दै आएका छन् ।
ल्होमन्थाङ दरबार यहाँको इतिहाससँग जोडिएको छ । यसको संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिए यहाँको जीवनस्तर उकास्न सकिने ल्होमन्थाङ गाउँपालिकाका अध्यक्ष टसीन्हर्बु गुरुङ बताउनुहुन्छ । “ल्होमन्थाङ कुनै समय आर्थिक गतिविधिको केन्द्र थियो । तिब्बतको पश्चिममा पर्ने यो ठाउँ भारतदेखि तिब्बतसम्मको व्यापार हुने समयमा आर्थिक केन्द्र पनि थियो । धेरै वर्षपछि जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न सुरु गरे, यहाँका राजाले दूत पठाएर एकीकरणमा ऐक्यबद्धता जनाएपछि यो नेपालमा गाभिएको इतिहास छ,” ल्होमन्थाङ निवासी बुद्धिजीवी कर्मा वाङ्गेलले भन्नुभयो । उहाँ ऐतिहासिक एवं पर्यटकीय दृष्टिले महŒवपूर्ण ल्होमन्थाङमा विदेशी पर्यटक ल्याउन सके यहाँको विकास हुनेमा विश्वस्त हुनुहुन्छ ।
पाँच वटा वडा रहेको ल्होमन्थाङमा करिब दुई हजार जनसङ्ख्या छ । चौतर्फी माटोको पर्खालले घेरिएको यो बस्ती सुक्खा पहाडको काखमा छ । यहाँका दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली ल्होमन्थाङको पहिचान हो । समुद्री सतहदेखि तीन हजार ८८० मिटर उचाइमा रहेको ल्होमन्थाङ उपल्लो मुस्ताङको प्रवेश विन्दु पनि हो । यहाँ दुई हजार वर्षभन्दा पहिले माटोको पहाड खोपेर बनाइएको ‘सिजा झोङ’ छ । गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार गुफाभित्र साना र ठुला गरी कम्तीमा ६० वटा कोठा छन् । “यहाँ आउने जोकोही पर्यटक पनि एक पटक गुफा नहेरी फर्कंदैनन,”, उहाँले भन्नुभयो, “ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावना भएको ल्होमन्थाङले यसबाट लाभ भने लिन सकेको छैन ।”
नीलगिरि र धवलागिरि हिमशृङ्खलाको बिचमा रहेको यस क्षेत्रमा यहाँका २६ औँ राजा अझै पनि यहीँ बसोबास गर्छन् । ल्होमन्थाङ हजारौँ वर्ष पुरानो तिब्बती र बौद्ध संस्कृतिको केन्द्र पनि हो । यहाँका गुम्बा, महल र पुराना चित्रकलामा त्यो इतिहास देख्न पाइन्छ । यहाँ रहेको राजमहल र झम्पा तथा थुब्चेन, छोदे र छोपलाका गुम्बा धार्मिक तथा कलात्मक दृष्टिले विशेष छन् । यसको संरक्षण, प्रवर्धन र विकासका लागि ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाइको केन्द्र बन्न सक्छ ।