• १३ साउन २०८१, आइतबार

मण्डलामा 'कुभिन्डोको कथा'

blog

काठमाडौं, मङ्सिर २८ गते । कलाकार दयाहाङ राईको निर्देशनमा बनेको नाटक 'कुभिन्डोको कथा' काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । यो नाटक मण्डलाले गरेको नाटक लेखन कार्यशालाबाट तयार भएको हो । 

सुदूरपश्चिम प्रदेशका नाटककार प्रनिश मगरले लेखनमा तयार भएको ‘कुभिन्डोको कथा’ लोककथामा आधारित छ । नाटकका सह निर्देशक विकास शाक्य भन्नुहुन्छ, "नाटक पश्चिम भेगको मगर समुदायको लोककथा हो । लोककथा भन्ने बित्तिकै मानिसको जीवनसँग नजिक रहेको र आफ्ना पुर्खाहरूको मुखबाट सुन्दै आएका कथा हो ।"

सह निर्देशक शाक्यका अनुसार नाटककाे थालनी पाँच महिने नाटक लेखन परियोजना २०२२ बाट छनोट भएको हो । उहाँ भन्नुहुन्छ, नाटककार प्रनिशले आफ्नो हजुरआमाबाट सानैदेखि सुन्दै आएको कथालाई नाटकमा रूपान्तरण गर्नुभएको हो ।

नाटक लेखन प्रतियोगितामा ‘कुभिन्डोको कथा’ सहित प्रदेश नं. १ का सन्दीप श्रेष्ठको ‘चन्द्रलाई कसले मार्यो?’, मधेश प्रदेशका सुरज यादवको ‘बहुरिय’ वाग्मती प्रदेशकी समृद्धि नेपालको ‘उनालोम’, गण्डकी प्रदेशका प्रदीप ढुङ्गानाको लेखनमा ‘नवदुर्गा’, लुम्बिनी प्रदेशकी भूमिका चौधरीको ’माघुरामको माघी र कर्णाली प्रदेशका हिरा बिजुली नेपालीको ‘कमरेड ऐलानी’ लाई छनोट गरिएको थियो । 

'कुभिन्डो'लाई आफ्नो सन्तानको रूपमा पालेपछि एकदिन कुभिन्डोले मानिसको रूप लिने लोकथामा यो नाटक बेनेको छ । यसबाहेक नाटक एक छोरी मान्छेको सङ्घर्षको कथा पनि हो । र मानव जीवनमा जोकोहीले पनि भोग्नसक्ने विपद्, सङ्घर्ष, बाच्ने आशा र बलिदानलाई नाटकमा देखाइएको छ । 

“नाटक अनुभूति गर्ने कुरा हो । जुन वास्तविक हुन्छ । किताब एक पाठकले पढेपछि मात्रै पूर्ण भएजस्तै नाटक पनि दर्शकले हेरेपछि मात्रै पूर्ण हुन्छ, सह निर्देशक शाक्य भन्नुहुन्छ, “नाटक आफैँमा श्रव्य र दृश्य माध्यम हो । त्यसरी नै यस नाटकमा हाम्रो समुदाय वा समाजमा भएका संस्कृति र प्रकृतिसँग जोडिएको मानव जीवन मिसिएको छ।” 

यस्तै, 'कुभिन्डो' मानव जीवनमा आश्रित भएसँगै यो नाटकले मानव भावसमेत बोकेको छ । नाटकमा एक नैतिकता, मानवता र प्रकृतिका कुरा समेटिएका छन् । र नाटकमा मगर समुदायको संस्कृति, घाटु, कौडा नाच र शैलीलाई पनि प्रस्तुत गरिएको छ जसले संस्कृति, प्रकृति र सम्पूर्ण प्राणीको पर्यावरण तथा अस्तित्व उजागर गरेको छ । 

एक घण्टा २० मिनेटको नाटकमा कलाकार पवित्र राई, सर्जम मगर, सङ्गीता थापा मगर, सम्झना जिम्बा, सागर भट्टराई, रेणु योगी, रञ्जना ओली, पुष्कर कार्की, पार्वती थापा, नीता राई लगायत १४ जना कलाकारको अभिनय देख्न सकिन्छ । नाटकमा कोरियोग्राफी प्रमिला खनालको रहेको छ ।

नाटक पुस १७ गतेसम्म मण्डला नाटक घरमा मञ्चन हुने भएको छ ।