• ५ जेठ २०८१, शनिबार

ऐतिहासिक यात्रामा मोरक्कोलाई फ्रान्सको चुनौती

blog

दोहा, मङ्सिर २८ गते। कतार विश्वकपमा मोरक्कोको असम्भव देखिने र ऐतिहासिक यात्रा अब करिब करिब अन्तिम परीक्षामा पुगेको छ। अफ्रिकी महादेशबाट पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्ने टिम बनेको मोरक्कोले यो ऐतिहासिक भिडन्त उपाधि रक्षा अभियानमा रहेको फ्रान्ससँग खेल्दै छ। जुन टिममा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको युगपछिका नयाँ सुपर स्टार किलियन एमबापे हुनुहुन्छ।

कतार विश्वकपको पहिलो सेमिफाइनल खेल सांस्वृmतिक र राजनीतिक कारणले पनि महत्वपूर्ण हुनेछ  सन् १९१२ देखि १९५६ सम्म मोरक्को फ्रान्सकै अधीनमा थियो। त्यसैले पनि मोरक्कोले यस खेललाई अझ महìवका रुपमा लिएको हुनुपर्छ।  

यस पटक मोरक्कोलाई विश्वकपमा उदाएको अप्रत्यासित टिम भन्न सकिन्छ। भविष्यमा यो विश्वकपलाई स्तब्धकारी नतिजाका लागि पनि सम्झना गरिनेछ। यसमा सबभन्दा बढी योगदान मोरक्को नै छ। समूह चरणमा विश्व वरीयतामा दास्रो स्थानमा रहेको बेल्जियमलाई हराएर अगाडि बढेको मोरक्कोले नकआउट चरणमा पनि एकसे एक टिमलाई पन्छाउँदै आएको छ। प्रिक्वाटरफाइनलमा पूर्वविजेता स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएर विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने पहिले अफ्रिकी देश बनेको थियो। त्यसको तीन दिनपछि क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई बिदा गरेर मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो। यसअघि अफ्रिकी राष्ट्रहरू सेनेगल, क्यामरुन र घाना क्वाटरफाइनलसम्मको यात्रा गरे पनि अगाडि बढ्न असफल भएका थिए।

बेल्जियम र क्रोएसियाजस्ता टिम भएको समूह जितेर मोरक्कोले नकआउटमा स्थान बनाएको हो। यस विश्वकपमा मोरक्कोले खेलको नतिजा ठूला खेलाडी र टिमको वरीयताले प्राप्त नहुने सिद्ध गरिसकेको छ। त्यसैले मोरक्कोले अहिले नै ९२ वर्षको विश्वकप फुटबल इतिहासमा ठूलो कथा रचिसकेको छ तर मोरक्कोको यात्रा अहिले पनि सकिएको छैन। फ्रान्समा जन्मेका मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुइले भन्नुभएको छ, “मलाई धेरैले तिम्रो टिमले विश्वकप जित्न सक्छ भनेर सोध्ने गर्दछ। किन नसक्नु ? हामीले विश्वकप जित्ने सपना देखेका छौँ र सपना देख्नलाई पैसा तिर्नु पर्दैन।”

विगतका केही संस्करणमा युरोपेली राष्ट्रले विश्वकप जितिरहेको छ। अझ सेमिफाइनलमा मोरक्कोको सामना पछिल्लो पटकको विजेता युरोपकै फ्रान्ससँग हुँदैछ तर प्रशिक्षक वालिदलाई आफ्नो टिमप्रति विश्वास छ। “हामीले यहाँसम्मको यात्रामा शीर्ष टिमलाई हराएका छौँ। जुन सहज यात्रा थिएन। त्यसैले अब अन्य टिमको हामीसँग डराउने पालो हो। फ्रान्स पनि हामीसँग तर्सेको हुनुपर्छ,” उहाँको भनाइ छ।

गत विजेता फ्रान्सको सबभन्दा ठूलो परीक्षा इङ्ग्ल्यान्डविरुद्धको क्वाटरफाइनलमा मानिएको छ। जुन फ्रान्सले पार गरिसकेको छ। सो खेलमा एमबापे भने चल्न सक्नुभएको थिएन। यस विश्वकपमा एमबापे मैदानमा शान्त भएको सोही खेल मात्र हो। २३ वर्षीय एमबापेले क्वाटरफाइनलअघि नै कतार विश्वकपमा ठूलो प्रभाव पारिसक्नुभएको छ। एमबापेले चार खेलमा पाँच गोल गर्नुका साथै दुई एसिस्ट पनि गर्नुभएको छ। हालका लागि उहाँ गोल्डेन बुटका प्रमुख दावेदार हुनुहुन्छ तर मोरक्कोविरुद्धको खेलमा आफ्नो गोल सङ्ख्या बढाउन एमबापेलाई सहज हुने छैन किनभने मोरक्कोले यस प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउने यात्रामा एक गोल मात्र बेहोरेको छ। समूह चरणमा क्यानडाविरुद्ध बेहोरेको सो गोल पनि आत्मघाती थियो। मोरक्कोले स्पेनविरुद्धको पेनाल्टी सुटआउटमा पनि गोल बेहोरेको थिएन। अझ  गत अगस्टमा वालिद प्रशिक्षकमा नियुक्त भएपछि नै मोरक्कोको गोलपोस्टमा विपक्षी टिमले गोल गर्न सकेको छैन। मोरक्कोको यो शानदार यात्रा नौ खेल पुगिसकेको छ।

मोरक्कोका लागि अहिले एउटा चिन्ता भने छ, खेलाडीहरूको चोटका समस्या। डिफेन्डर नइफ अगवर्ड र सेन्टर ब्याक रोमेन साइसले चोटकै कारण फ्रान्सविरुद्धको खेल गुमाउने सम्भावना रहेको छ तर प्रशिक्षक वालिदको रणनीति विशेष व्यक्तिगत खेलाडीमा भन्दा टिमको संरचना र अनुशासनमा भर पर्दै आएको छ। यद्यपि मोरक्को टिममा पोर्चुगलविरुद्ध निर्णायक गोल गर्ने युसुफ इन नेस्रीका साथै युरोपेली लिगमा प्रभाव जमाइरहेका हकिम जिएच, असरफी हकिमी र सोफाइन बाउफलजस्ता खेलाडीमा पनि नजर रहनेछ।

मोरक्कोविरुद्धको सेमिफाइनलमा आफ्नो टिमको हौसला बढाउन फ्रान्सका राष्ट्रपति इमानुअल माकरन अल बाइट रङ्गशालामा उपस्थित हुनुहुनेछ तर सो रङ्गशालामा पहेँलो र रातो जर्सी लगाएका समर्थककै बाहुल्य हुने हुनाले समर्थनको मामिलामा मोरक्को ठूलो फाइदामा हुनेछ। कतारको रङ्गशालामा मोरक्कोका लागि घरेलु मैदानकै रूपमा रहेको छ। यद्यपि सो खेलमा खेलाडीको दक्षता र अनुभवका कारण फ्रान्स नै जितको दावेदारका रूपमा रहनेछ। एमबापे मात्र होइन अनुभवी स्ट्राइकर ओलिभर जिरु पनि शानदार लयमा हुनुहुन्छ। फरवार्डबाट मिडफिल्डरको भूमिकामा परिवर्तित भएको एन्टानियो ग्रिज्म्यानले आफूलाई प्लेमेकर नै साबित गरिसक्नुभएको छ। जिरुले पनि यस विश्वकपमा चार गोल गरिसक्नुभएको छ।

फ्रान्सको आक्रमण मैदानमा जहाँबाट पनि आउनसक्ने हुनाले पनि मोरक्कोलाई खेल कठिन हुने पक्का छ। फ्रान्सका सेन्टर ब्याक राफेल भारानेले विश्व वरीयतामा २२औँ स्थानमा रहेको मोरक्कोसँगको खेलअघि आफ्नो टिम राम्रो मनोबलमा रहेको जानकारी दिनुभएको छ। हामीसँग पर्याप्त अनुभव छ। यद्यपि हामीलाई यो पनि थाहा छ मोरक्को भाग्यले यहाँसम्म पुगेको होइन। अब हामीसँग नै मोरक्कोसँगको युद्धका लागि कसरी तयार हुने भन्ने जिम्मेवारी छ, उहाँले भन्नुभयो। 

सन् १९५८, १९६२ मा ब्राजिलपछि विश्वकप फुटबल उपाधि रक्षा गर्ने पहिलो राष्ट्र बन्नबाट फ्रान्स अब दुई खेल मात्र टाढा छ। ब्राजिलबाहेक सन् १९३४ र १९३८ मा इटाली पनि लगातार विश्वकप च्याम्पियन बनेको थियो। सन् २००२ मा फ्रान्स विश्व विजेताका रूपमा खेल्दा समूह चरणबाट बिदा भएको थियो। सन् २००६ मा फ्रान्स फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा हारेपछि च्याम्पियन बन्न सकेन। चार वर्षअघि पनि फ्रान्स समूह चरणबाट नै बिदा भएको थियो। त्यसैले पनि फ्रान्स यी तिता अनुभवलाई यस पटक भुलाउन चाहन्छ। एपी