काठमाडौँ, मङ्सिर २८ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैङ्कले विशेष पहल गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ ।
महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासङ्घका पदाधिकारीलगायतका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले मङ्गलबार राष्ट्रबैङ्कका गभर्नर महाप्रसाद अधिकारीसहितका उच्च अधिकारीहरूलाई भेटेर उक्त आग्रह गरेको हो ।
भेटमा नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको दाबी गर्दै अध्यक्ष गोल्छाले ब्याजदर स्थायित्व, चालू पुँजी कर्जासम्बन्धी नयाँ व्यवस्थाको स्थगनको माग गर्नुभएको महासङ्घले जनाएको छ । अर्थतन्त्र जोगाऔँ अभियानलाई भन्दै महासङ्घले पछिल्लो समय प्रमुख राजनीतिक दलका शीर्षस्थ नेता, सरकार प्रमुख र अर्थमन्त्री समेतलाई भेटेर समस्या समाधान गर्न आग्रह गर्दै आएको छ ।
प्रतिनिधिमण्डलले सिमेन्ट, डन्डी, घरजग्गा व्यवसाय, निर्माण, अटोमोबाइललगायतका क्षेत्रमा ६० प्रतिशतसम्म गिरावट आएकाले तत्काल यी क्षेत्रलगायत सिङ्गो निजी क्षेत्रलाई चलायमान बनाउने वातावरण बनाउन अध्यक्ष गोल्छाले गभर्नर अधिकारीसमक्ष आग्रह गर्नुभयो ।
निक्षेपको ब्याजका कारण अन्य उपलब्धि नभई कर्जाको मात्रै ब्याज बढ्दा उद्यमी व्यवसायी प्रभावित भएको गोल्छाले बताउनुभएको थियो । भेटका क्रममा गभर्नर अधिकारीले महासङ्घले दिएका सुझाव अध्ययन गरी निर्णय गर्ने विश्वास दिलाउनुभएको महासङ्घले जनाएको छ ।