काठमाडौँ, मङ्सिर २८ गते । इजरायलमा सहायक श्रमिकका रूपमा नेपाली सुसारे (केयर गिभर) नयाँ खुलाउने विषयमा अन्योल भएको छ । वैदेशिक रोजगार विभागले यसअघि छनोटमा परेका ७० जनाको ‘लेबर कन्ट्याक’सहितको करार सम्झौता नआएकाले नयाँ खुलाउन अन्योल भएको हो ।
विभागअन्तर्गतको इजरायल र जापान शाखाका निर्देशक डम्बरबहादुर सुनुवारले इजरायल जानका लागि यसअघि नै छनोट भएकामध्ये केही अझै बाँकी रहेकाले नयाँ खुलाउने विषयमा अन्योल भएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि छनोटमा परेका एक हजार १७५ जनामध्ये एक हजार १९ जना गइसकेका छन् । थप ११ जनाको करार सम्झौता आएकाले जाने प्रक्रिया गरिरहेका छन् ।
छनोट भएकामध्ये ८० जनाले इजरायलको भिसा रद्द गरिसकेका छन् । छनोटमा परेकाको भिसा ढिलो आएकाले नयाँ खुलाउँदा पुरानालाई अन्याय हुन्छ कि भनेर खुलाउन नसकेको निर्देशक सुनुवारको भनाइ छ ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते इजरायलका दीर्घकालीन सुसारे (केयर गिभर)का लागि नेपाली सहायक श्रमिक पठाउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको थियो ।
यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जीटुजी मोडलबाट भएको थियो । इजरायल रोजगारीमा जानेहरू एक वर्षको करार अवधिका लागि जाने भए पनि पाँच वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् ।
इजरायल शाखाका निर्देशक सुुनुुवारले अब इजरायल नयाँ पठाउँदा प्रक्रिया छोटो गर्ने गरी छलफल भएको जानकारी दिनुभयो । यसअघिको प्रक्रिया असाध्यै लामो भएकाले छनोट भएका श्रमिकलाई ढुक्क हुन सक्ने अवस्था नभएको हुँदा यसलाई सकेसम्म छोटो बनाउने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “इजरायल लैजाने प्रक्रिया छोटो हुनुपर्छ भन्ने प्रस्ताव इजरायली पक्षसँग गरेका छौँ । छलफलकै चरणमा छ, टुङ्गो लागेको छैन । हामी सकेसम्म छोटो हुनुपर्छ भनेर लागेका छौँ ।”