काठमाडौँ, मङ्सिर २७ गते । एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
कम्पनीले आजदेखि प्रतिकित्ता रु. १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजी रु. ३४ करोडको १० प्रतिशतले हुन आउने रु. तीन करोड ४० लाख बराबरको कुल तीन लाख ४० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ ।
त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ४० प्रतिशत अर्थात एक लाख ३६ हजार कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका ३ र ४ तथा सूर्योदय नगरपालिका –११ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक इलामको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि बाँकी ६० प्रतिशतले हुने दुई लाख चार हजार कित्ता शेयर निष्कासन गरिने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।
निष्कासन गरिने शेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस १२ सम्म र ढिलोमा पुस २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १२ गतेसम्म अधिकतम २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । निष्कासन गरिने शेयरमा स्थानीयले प्राइम कमर्सियल, ग्लोबल आईएमइ, एनएमबि, सिभिल बैंक तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत् शेयर खरिदका आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारिमा रहेकाले कसरी दिने आवेदन
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत् तथा ‘मेरो शेयर’मार्फत् शेयर खरिदको आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा नेपालीले विप्रेषण (रेमिट्यान्स)बचत खाता खोली त्यसमा दर्ता गरिएको सिआरएन नम्बर उल्लेख गरेर अनलाइनमार्फत् ‘मेरो शेयर’ प्रयोग गरी शेयर खरिद आवेदन दिन सकिने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।
एशियन हाइड्रोपावरलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपी बिबी आईएस्’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले इलामको माईजोगमाई गाउँपालिका र ईलाम नगरपालिकाको जोगमाई खोलामा छ दशमलव दुई मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेकोे छ ।