• १२ असोज २०८१, शनिबार

गुणस्तरीय स्वास्थ्य सेवामा जोड

blog

काठमाडौँ, मङ्सिर २७ गते । स्वास्थ्य सेवाको पहुँच सबै नागरिकसम्म पु-याई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिइएको छ।  ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’का अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु-याई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउनुभयो। 

उहाँले स्वास्थ्य क्षेत्रमा अझै पनि असमानता रहेको भन्दै त्यस्ता असमानता हटाउनुपर्ने बताउनुभयो। उहाँले नागरिकमा स्वास्थ्य सेवा पु-याउन मन्त्रालयले मार्गचित्र तयार पारिरहेको जानकारी दिनुभयो। स्वास्थ्य सेवा नपुगेका ठाउँका सर्वसाधारणलाई सेवाको पहुँच पु-याउन सरकार लागिपरेको जानकारी दिँदै संविधानले व्यवस्था गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाइरहेको उहाँले बताउनुभयो। स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गरेर अगाडि जानुपर्ने भन्दै उहाँले स्वास्थ्यमा असमान हुनेबित्तिकै मानिसको जीवनस्तर घट्ने उल्लेख गर्नुभयो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व रहेको बताउनुभयो। उहाँले संविधानअनुसार नागरिकको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने अधिकारबाट कोही पनि वञ्चित नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बहुपक्षीय सहकार्यमार्फत आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने काम भइरहेको जानकारी दिनुभयो। स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने, विशिष्टीकृत सेवा विकास तथा विस्तार गर्ने, नागरिकलाई स्वास्थ्य बीमामा जोडेर थप सेवा दिनुपर्ने उहाँले बताउनुभयो। 

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक प्राध्यापक डा. दामोदर बसौलाले स्वास्थ्यमा सबै नागरिकबीच समानताका लागि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा बताउनुभयो। उहाँले अझै पनि स्वास्थ्य बीमा कार्यक्रमभन्दा बाहिर रहेका सर्वसाधारणलाई बीमा कार्यक्रममा समेट्नुपर्ने बताउनुभयो। अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममा कम मानिस समेटिएको उहाँको भनाइ छ।