• १२ असोज २०८१, शनिबार

किन्न थालियो भारतबाट बिजुली

blog

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल विद्युत् प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स)को डे अहेड मार्केटबाट विद्युत् खरिद गर्न सुरु गरेको छ । 

करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र उच्चतम माग (पिक डिमान्ड) करिब एक हजार छ सय मेगावाट रहे पनि प्राधिकरणले व्यावसायिक लाभ हेर्दै आयात सुरु गरेको हो । यही रणनीतिअनुसार मङ्सिर २१ देखि आयात थालेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । 

प्राधिकरणले सस्तो हुने समयमा भारतबाट आयात गरी पानी जोगाउने र महँगो पर्ने समयमा भारत निर्यात गर्ने गरी लाभ सुरक्षित गरिरहेको भट्टराईले स्पष्ट पार्नुभयो । 

उहाँका अनुसार बिहान करिब ३ बजेदेखि ११ बजेसम्म विद्युत् आयात गरेर माथिल्लो तामाकोसी तथा कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको पानी सञ्चित गरिन्छ । साँझ भारतमा माग उच्च हुने र मूल्य बढी आउने समयमा भने थप विद्युत् उत्पादन गरी महँगोमा निर्यात हुने गरेको हो । 

भारतमा साँझ करिब ५ बजेदेखि राति १२ बजेसम्मका स्लटमा महँगोमा विद्युत् बिक्री हुन्छ । प्राधिकरणका अनुसार मङ्सिरमा निर्यातको औसत दर करिब सात रुपियाँ ७० पैसा छ भने खरिद दर भने औसत पाँच रुपियाँ १० पैसा छ । “दैनिक ऊर्जा निर्यातभन्दा आयात केही धेरै भए पनि दैनिक व्यवसाय भने नाफामै छ । पुसको पहिलो सातासम्म अवस्था यस्तै रहन सक्छ,” उहाँले भन्नुभयो । मङ्सिर २१ देखि २५ सम्म पाँच दिनमा प्राधिकरणले करिब ३८ लाख युनिट बिजुली आईआईएक्सबाट खरिद गरेको छ । मङ्सिर १ गतेदेखि २५ गतेसम्म ८५ हजार मेगावाट आवर बिजुली बिक्री गरिसकेको छ । 

यसपछि भने जलप्रवाह अझै घटेर विद्युत् उत्पादन कम हुने भएकाले निर्यात रोकिन सक्ने सम्भावना छ । आगामी जेठको अन्तिम साताबाट भने निर्यात पुनः सुरु हुनेछ । प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे सात अर्ब रुपियाँको विद्युत् निर्यात गरिसकेको छ ।

नेपाल विद्युत् प्राधिकरणको आकलनअनुसार चालू आर्थिक वर्षको असारसम्म प्रणालीमा ८११ मेगावाट विद्युत् थप हुँदै छ । यसमध्ये फागुनसम्म ५४३ मेगावाट थप हुनेछ । कुनै विशेष अवरोध नआए चैतदेखि असारसम्ममा २६८.६५ मेगावाट थपिनेछ । 

यी आयोजनाका कारण प्राधिकरणलाई यो वर्षको सुक्खायाममा अघिल्ला वर्षजस्तो परिमाणमा खरिद गर्नु नपर्ने आकलन प्राधिकरणको छ ।