• ९ मंसिर २०८१, आइतबार

बागमती सफाइको पाँच सय हप्ता : २० हजार टन फोहोर निकालियो

blog

काठमाडौँ,  मङ्सिर  २५  गते । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदी सफाइको पाँच सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर बाग्मतीबाट करिब २० हजार टन फोहोर निकालिएको छ ।

वि.सं २०७२ जेठ ५ गते बाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ गरिँदै आएको छ । साप्ताहिकरुपमा यसरी सफाइ गर्दा पनि अत्यधिक फोहोर निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ । सफाइ महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि बाग्मती पूर्णरुपमा सफा हुन सकेको छैन । सर्वसाधारणले बाग्मतीमा यसरी फोहोर फाल्ने हो भने जति सफाइ गरे पनि कहिल्यै सफा बन्दैन । फोहोर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । 

महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा बाग्मती नदीको फोहोर सङ्कलन गरेका छन् । स्वतःस्फूर्तता स्वयंसेवी अभियानमा सहभागी हुँदैआएका छन् । सफाइमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साह बताउनुहुन्छ । 

सफाइ महाअभियान चलेपछि नदी किनारमा करिब १० हजारभन्दा बढी बिरुवा रोपिएको छ । वृक्षारोपणका कारण नदी किनारमा हरियाली छाएको छ । जागरणमूलक बाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाइ अभियान सुरु गरिएको छ । यसबाट नदीको सौन्दर्य बढेको साह बताउनुहुन्छ । 

सफाइ महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत बाग्मती नदी किनारको दायाँ बायाँ २७ किलोमिटर ढल निर्माण गरिएको छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा सुरु भएको वाग्मती सौन्दर्यीकरण कार्यक्रम नदी किनारमा रहेका सुकुम्वासीका कारण प्रभावित भएको छ । 

अधिकार सम्पन्न बाग्मती समितिको सञ्चालक सदस्यसमेत रहनुभएकी सफाइ अभियानकर्मी डा. माला खरेल नदी किनारका सुकुम्वासीको व्यवस्थापन गरेर सुन्दरता बढाउन सूचना सार्वजनिक गरी काम भइरहेको बताउनुहुन्छ । काठमाडौँ महानगरपालिकाको समेत सहयोग लिएर छिटो सुन्दरता बढाउनका लागि नदी किनारका सार्वजनिक जग्गा खाली गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।