• ८ मंसिर २०८१, शनिबार

डेढ हजार विदेशीलाई श्रम स्वीकृति

blog

काठमाडौँ, मङ्सिर २३ गते । नेपालमा सञ्चालित ठूला परियोजनामा विदेशी नागरिकले काम गर्ने गरेका छन् । विशेष गरी चीनको अनुदानमा सञ्चालित र चिनियाँ ठेकेदारले काम गरिरहेका परियोजनामा प्राविधिक जनशक्ति आफ्नै देशलाई प्राथमिकता दिने गरेका हुन् । नेपालमा जुनसुकै क्षेत्रका दक्ष इन्जिनियर छन् तर विदेशबाट सञ्चालित परियोजनामा तल्लो पदमा नेपालीलाई काम दिए पनि माथिल्लो पदमा आफ्नै देशबाट प्राविधिक जनशक्ति ल्याउने गरेका छन् । 

नेपाल उद्योग परिसङ्घअन्तर्गतको ऊर्जा विकास समितिका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले नेपालमा विदेशी ठूलो लगानीका परियोजनाको उच्च पदमा विदेशीले नै प्राथमिकता पाउने गरेको बताउनुभयो । ती परियोजनामा मेसिनरी जडानको काममा सकभर विदेशी प्राविधिक जनशक्ति परिचालन गर्ने गरिएको उहाँको भनाइ छ । उहाँको अनुभवमा चीनको लगानीमा सञ्चालित परियोजनामा दुई उद्देश्यले आफ्नै देशको जनशक्ति प्रयोग गर्छन् । पहिलो भाषागत रूपमा सहज हुन्छ भने अर्को आफ्नो परियोजनाको पैसा आफ्नै देशमा जाओस् भनेर प्राविधिकदेखि अन्य श्रमिक पनि आफ्नै देशको प्रयोग गर्ने गरेका छन् । 

अध्यक्ष प्रधानले नेपालमा जलविद्युत् क्षेत्रमा आवश्यक पर्ने मेकानिकल, सिभिल, इलेक्ट्रिकल सबै प्रकारका इन्जिनियर प्रयोग हुने र ती जनशक्ति पर्याप्त भएको जानकारी दिनुभयो ।    

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । विभागका अनुसार रसुवागढी, त्रिशूली, मध्यभोटेकोसी, काबेली हाइड्रोपावर कम्पनी, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक श्रमिक विदेशी रहेका छन् । 

विभागका अनुसार विभाग २०७९ वैशाखदेखि कात्तिकसम्म (सात महिना)मा एक हजार ५१४ जना विदेशी नागरिकले नेपालमा काम गर्ने अनुमति (श्रम स्वीकृति) लिएका छन् । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नयाँ र नवीकरण गरेर ६७१ जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको सो अवधिमा नवीकरण र नयाँ गरी ७२० विदेशीले श्रम स्वीकृति लिएका थिए । यो हेर्दा गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४९ जनाले घटेको छ । 

त्यसो त विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ ले नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । सोही कानुनअनुसार विदेशी नागरिक स्वदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेको विभागका महानिर्देशक कृष्ण ज्ञवालीले जानकारी दिनुभयो । 

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा दुुई लाख ६५ हजार १८५ जना रोजगारीका लागि विदेशिएका छन् । आव २०७९/८० को पहिलो महिना साउनमा ६३ हजार भदौमा ७६ हजार, असोजमा ५६ हजार र कात्तिक ७० हजारले श्रम स्वीकृति लिएका छन् । 

विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका, २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ तर नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको सङ्ख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष श्रमिकसमेत नेपालमा आउने गरेको पाइन्छ ।

श्रमविज्ञ पूर्णचन्द्र भट्टराईले नेपाली श्रम बजारमा स्वदेशी जनशक्ति उपलब्ध हुन नसके मात्र दक्ष र सीपयुक्त विदेशी जनशक्तिलाई श्रम स्वीकृति दिनुपर्ने व्यवस्था बताउनुुभयो । उहाँका अनुसार नेपालमा उपलब्ध हुन नसक्ने दक्ष विदेशी श्रमिकलाई मात्र श्रम स्वीकृतिका लागि सम्बन्धित मन्त्रालय/विभागको सिफारिस एवं गृह मन्त्रालयको कार्य सहमतिका आधारमा श्रम स्वीकृति प्रक्रिया मिलाउनुपर्ने नीतिगत सुधारको आवश्यकता रहेको छ । विभागले नेपालमा काम गर्ने विदेशीलाई अधिकतम छ वर्षसम्म मात्र नवीकरण हुने जनाएको छ । 

यसैगरी एकै प्रकृतिको कामका लागि श्रम स्वीकृति लिने श्रमिकको सीप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम रहेको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि ६९ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ छन् । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ । 

विभागका अनुसार आव २०७८/७९ मा नेपालमा काम गर्न दुई हजार १८१ जना विदेशीले श्रम स्वीकृति लिएका थिए । सो अवधिमा ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने एक हजार २३१ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । आव २०७७/७८ मा दुई हजार ३९३ विदेशी नागरिकले श्रम इजाजत लिएकोभन्दा गत आर्थिक वर्षमा विदेशबाट आएर श्रम स्वीकृति लिनेको सङ्ख्या केही घटेको पाइएको छ । 

गत आर्थिक वर्ष नेपालमा श्रम इजाजत लिनेमध्ये सबैभन्दा धेरै अर्थात् झन्डै ७५ प्रतिशत चिनियाँ नागरिक छन् । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा काम गर्न इजाजत लिने विदेशीमा एक हजार ६२९ जना चिनियाँ, १०६ जना बेलायती, ८६ जना अमेरिकी, ६१ जना जापानी र ५७ जना भारतीय नागरिक छन् । विभागका अनुसार २०७९ साल सुरु भएयता वैशाखमा १९६, जेठमा ३६० र असारमा ३२७ र साउनमा १६० गरी कुल एक हजार ४३ जना विदेशीले विभागबाट श्रम इजाजत लिएका छन् ।