• ११ असोज २०८१, शुक्रबार

पैँतीस हजार घरधुरी खानेपानीको पहुँचमा

blog

चितवन समाचारदाता

चितवन, मङ्सिर २२  गते । भरतपुर महानगरपालिकाभित्र चार वर्षको अवधिमा खानेपानी प्रयोग गर्ने १५ हजार नयाँ घरधुरी थप भएका छन् ।

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्कअनुसार नयाँ थपिकासँगै खानेपानी प्रयोग गर्नेहरूमा ३५ हजार घरधुरी पुगेको छ । अहिले दैनिक तीन लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । 

भरतपुर महानगरपालिकामा २०७४ मसान्तयता सङ्घीय सरकार, बागमती प्रदेश र स्थानीय तह गरी विभिन्न २३ वटा खानेपानी आयोजनाको निर्माण एवं मर्मत सम्भार भएका छन् । यो अवधिमा करिब तीन अर्ब ७७ करोड रुपियाँ खानेपानीको क्षेत्रमा खर्च भएको बताइएको छ ।

महानगरपालिकाले दिगो विकासको अवधारणाअनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखेको दाबी गर्दै आएको छ । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भएसँगै गरिब तथा विपन्न नागरिकलाई सहुलियत दिने उद्देश्यले निःशुल्क खानेपानी उपलब्ध गर्ने निर्णय गर्नुभएको छ । 

महानगरपालिकाले अहिले खानेपानीको पहँुच विस्तारलाई तीव्र बनाइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । भरतपुरमा केही वर्षअघि घण्टौँ हिँडेर पानी ल्याउनुपर्ने स्थानमा अहिले घरमै पानी आएको छ । अबको केही समयमै शतप्रतिशत भरतपुरवासी शुद्ध खानेपानीको पहुँचमा पुग्ने गरी आयोजना निर्माणाधीन रहेको उहाँको भनाइ छ । 

खानेपानी आयोजनामा कति लगानी ?

भरतपुर खानेपानी व्यवस्थापन बोर्डका अनुसार २०७४ सालपछि बोर्ड र महानगरपालिकाको सहकार्यमा वडा नं. ९, ११ र १२ सेवा क्षेत्र रहने गरी २२ करोडको धनगढा सहलगानी खानेपानी आयोजना सञ्चालनमा आएको छ । 

त्यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. २२, १३ र १४ सेवा क्षेत्र रहने गरी तीन करोड रुपियाँको पटिहानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

बागमती प्रदेश सरकारअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. ६ र १३ सेवा क्षेत्र रहने गरी चार करोड ६४ लाख रुपियाँको लगानीमा देवनगर खानेपानी आयोजनामा दुईवटा ओभरहेड ट्याङ्की र दुईवटा डिप बोरिङसहित पाइपलाइन विस्तार कार्य भई यो आर्थिक मसान्तभित्र सबैका घरमा खानेपानी पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका–१५ सेवा क्षेत्र रहने गरी तीन करोड ६० लाख रुपियाँको लगानीमा मङ्गलपुर खानेपानी आयोजनामा ओभरहेड ट्याङ्की र डिप बोरिङसहित पाइपलाइन विस्तार भई आयोजना सञ्चालनमा आएको छ । 

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सह–लगानीमा दुईवटा ओभरहेड ट्याङ्की र दुईवटा डिप बोरिङसहित करिब ७२ किमि पाइपलाइन विस्तारसहित भरतपुर महानगरपालिका–१० र ११ सेवा क्षेत्र रहने गरी २८ करोड रुपियाँको लगानीमा जखडीमाई सहलगानी खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ । 

भरतपुर गौरीगञ्ज खानेपानी आयोजना दुई करोड, फूलबारी खानेपानी आयोजना दुई करोड ६९ लाख रुपियाँको लागतमा  रामनगर ठिमुरामा जुगेडी खोलाको मुहानबाट पानी उपयोग हुने गरी आयोजनाको चालू आर्थिक वर्षको अन्त्यमा डीपीआर तयार हुने सम्झौता भएको छ ।

यसैगरी प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं. १ हेटौँडा र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं. ५ को कैलाशनगरमा दुई करोड ७१ लाखको लागतमा आनन्दपुर दुई करोड ४९ लाख रुपियाँको लागतमा खानेपानी आयोजना निर्माण भएको छ । त्यसैगरी वडा नं. १५ को मङ्गलपुरमा ओभरहेड ट्याङ्की निर्माणसहित पाइपलाइन विस्तार कार्य सम्पन्न भई सेवा सुचारु भएर सञ्चालनमा आएको छ ।