• ११ असोज २०८१, शुक्रबार

आलु र दूधको गुणस्तरमा नोक्सान

blog

काठमाडौँ, मङ्सिर २२ गते । आलु र दूधको गुणस्तर र परिमाणमा अत्यधिक नोक्सान हुने गरेको एक अध्ययनले देखाएको छ । 

खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले दूध र आलुको उत्पादन बढी हुने बागमती प्रदेशका चार जिल्ला (काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर र चितवन)मा पाँच महिना लगाएर गरेको अध्ययनले आलु र दूधको उत्पादन र गुणस्तरमा समस्या देखिएको हो । काभ्रे  र चितवन जिल्लाका ७७ किसान, सात दूध सङ्कलन केन्द्र र तीनवटा दुग्ध उद्योगमा अध्ययन गरिएको थियो । उत्पादन स्थलदेखि प्रशोधन केन्द्रमा दूधको गुणस्तरमा समस्या देखिएको अध्ययनमा संलग्न खाद्यविज्ञ डा. आलोक श्रेष्ठले जानकारी दिनुभयो । 

किसानको गोठदेखि उद्योगसम्म दूधको गुणस्तरको समस्या के छ भनेर अध्ययन गरिएको थियो, उत्पादन स्थलदेखि सरसफाइमा ध्यान नदिएकाले गुणस्तरमा समस्या देखियो,” उहाँले भन्नुभयो । एउटा भाँडोबाट अर्काे भाँडोमा दूध खन्याउने बेला गुणस्तरमा समस्या देखिने गरेको उहाँको भनाइ छ । दूधमा चिल्लो पदार्थ हेरेर मूल्य दिने हुँदा किसानले लागतअनुसार मूल्य नपाउने गरेको पाइएको उहाँको भनाइ छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका र मकवानपुरको थाहा नगरपालिकामा ५५ जना किसानले लगाएको आलु खेतीको अध्ययन गर्दा कीरा लागेर उत्पादन नष्ट हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । परम्परागत खेती प्रणाली, ज्ञानको अभावले गर्दा उत्पादन हुने बेलासम्म आलु धेरै नोक्सान हुने गरेको अध्ययनले देखाएको छ । आलुको प्रोसेसिङ, हार्भेस्टिङ गर्दा धेरै कुहिएर जाने गरेको देखिाएको छ । 

आलु उत्पादन गर्न उन्नत बीउ, नयाँ प्रविधि उपलब्ध गराउने, किसानलाई बेलाबेला तालिम दिन आवश्यक रहेको अध्ययनले देखाएको छ । प्रभावकारी रूपमा नियमन अनुगमन गर्न आवश्यक रहेको अध्ययनले देखाएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आव २०७७/७८ मा २४ लाख ७९ हजार ८९९ मेट्रिक टन दूूध उत्पादन भएको छ, जसमा भैँसीको १४ लाख १९ हजार ४१२ र गाईको १० लाख ६० हजार ४८७ मेट्रिक टन दूध उत्पादन भएको छ । 

यस्तै आव २०७७/७८ मा मुलकभर ३३ लाख २५ हजार २३१ मेट्रिक टन आलु उत्पादन भएको तथ्याङ्क छ ।