• ११ असोज २०८१, शुक्रबार

नेपालको हवाई सेवालाई प्रभावकारी बनाएर लैजानुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर २१ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको हवाई सेवालाई विस्तार र प्रभावकारी बनाएर लाने बताउनुभएको छ।  बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो, "नेपाल जस्तो भूगोल भएको देशमा हवाई सेवा महत्त्वपूर्ण र भरपर्दो छ। यसकारण यसलाई विस्तार र प्रभावकारी बनाएर लैजानुको विकल्प छैन।"

हिमाल, पहाड र तराईलाई जोड्ने भरपर्दो माध्यमको रूपमा रहेको हवाई सेवा नै प्रभावकारी रहेकाले यसको विस्तारमा विभिन्न कार्य भइरहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘नेपाललाई विश्वसँग जोड्ने हवाई सेवा नै हो। विश्वका विभिन्न देशबाट नेपाल लागि हवाई सेवाकै माध्यमबाट धेरै व्यक्ति आउने गरेका छन्। नेपालको हवाई सेवाको विकास र विस्तारमा जोड दिनुपर्छ।’’

नेपालका निजी एयरलाइन्सले पनि यसको पालना गर्ने गरेको उहाँको भनाइ छ। पछिल्लो समय नेपाली आकाशमा कुनै ठूला विमान दुर्घटनाहरू नभएको र नेपालले प्रगति गरेकाले सुरक्षा जोखिमको सूचीबाट नेपाल हट्ने उहाँको विश्वास छ।

मन्त्रालयले सन् २०२३ देखि २०३२ सम्म  ३५ लाख पर्यटक ल्याउने योजना बनाएको पनि उहाँले बताउनुभयो। हवाई क्षेत्रको विकासमा छिमेकी देश भारतको पनि पूर्ण सहयोग हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप भट्टराईले हवाई क्षेत्रमा सुधार आवश्यक भएको बताउनुभयो। हवाई क्षेत्रलाई पर्यटनको दृष्टिकोणले मात्र सोच्न नहुने उहाँको भनाइ छ। यसले देशको नै आर्थिक क्षेत्रमा प्रभाव पार्ने भएकाले यसलाई बृहत् रूपले सोच्नुपर्ने उहाँले बताउनुभयो।

अहिलेको हवाई  नीति केही पुरानो भएकाले पनि यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। अहिले नेपालले ४१ देशसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ। नेपालले इन्डोनेसिया, स्वीजरल्याण्ड, रुवान्डा र अमेरिकासँग पनि द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया अघि बढाएको छ। 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अहिलेसम्म ९२ विमान आवागमन भएको र ९२ विमान प्रस्थान गरेका छन्। जसबाट ११ हजार २०९ व्यक्ति नेपाल आएका छन् भने नौ हजार ९५४ व्यक्तिले नेपाल छाडेका छन्।