• १३ साउन २०८१, आइतबार
blog

विद्यालय तथा जिल्लास्तरीय हाजिरीजबाफ प्रतियोगितामा नवलपरासीका रमेश पराजुली सहभागी छन् भनेपछि सबैले भन्थे, “मेडल त त्यसैले लान्छ ।” हुन पनि त्यस्तै हुन्थ्यो, रमेश सहभागी समूूहले प्रथम वा द्वितीय पुरस्कार सधैँ नै जित्थ्यो । यो देखेर घरपरिवार र आफन्तले “तँ घुम्ने कुर्सीमा बस्नुपर्छ” भनेर प्रोत्साहित पनि गर्नुहुन्थ्यो । आखिर भयो त्यही ।

रमेशको पुख्र्यौली घर विहादी, पर्वत हो । उनी १८ महिनाजतिको हुँदा उच्च ज्वरो आयो । केही दिनपछि दाहिने खुट्टाले काम नै गर्न छोड्यो । आपूm अपाङ्गता हुनुका कारणबारे परिवारबाट रमेशले थाहा पाएको जानकारी यिनै थिए । बैसाखीको सहायताले हिँडडुल गर्नुहुने रमेशले सुनाउनुभयो, “हिँड्न नसक्ने भएपछि मलाई बुवाले पढाउनकै लागि गैँडाकोट, नवलपरासी लिएर आउनुभएको रे ।” 

स्कुलमा शिक्षकबाट रमेशले अत्यन्तै माया पाउनुभयो । पढ्नका लागि विभिन्न प्रकारका अतिरिक्त किताब ल्याएर दिन्थे, जसले गर्दा उहाँमा पढ्नका लागि झनै रुचि बढ्दै गयो । घरमा पनि परिवारका सदस्यलगायत सबैले उहाँलाई अत्यन्त माया गर्दथे । उहाँ भन्नुहुन्छ, “त्यतिखेर मैले सबैको सहयोग, माया तथा प्रेरणा नपाएको भए अहिले कहाँ यहाँ आइपुग्थेँ र ?”

रसायनशास्त्रमा स्नातकोत्तर गर्नुभएका रमेशले आफ्नो पढ्ने बानीलाई निरन्तरता दिँदै लोकसेवाका लागि पनि तयारी गर्नुभयो । पहिलो प्रयासमै २०७१ सालमा नायब सुब्बामा नाम निकाल्न उहाँ सफल हुनुभयो । रसायनशास्त्रअन्तर्गतको प्राविधिक समूहबाट केन्द्रीय सांस्कृतिक सम्पदा संरक्षण प्रयोगशाला, पाटनमा नियुक्ति भएलगत्तै उहाँको पहिल्यै दिएको लोकसेवा आयोगको परीक्षामा अधिकृत तहमा पनि नाम निस्क्यो । विभिन्न सरकारी कार्यालयमा सेवा गर्दै हाल उहाँ राष्ट्रिय योजना आयोगमा योजना अधिकृतका रूपमा जिम्मेवारीमा हुनुुहुन्छ । सरकारी संरचना अझै अपाङ्गतामैत्री नभएकोमा रमेशको गुनासो छ, “सरकारी भवन नै अपाङ्गतामैत्री बनिसकेका छैनन् । त्यसैले सरकारी संयन्त्र यस विषयमा गम्भीर हुनुपर्ने देखिएको छ । यस अवस्थामा हामी अरूलाई अपाङ्गतामैत्री संरचना बनाऊ भनेर कसरी उत्प्रेरणा गर्न सक्छौँ ?

गत मङ्सिर ४ गते न्याय सेवाअन्तर्गत लोकसेवा आयोगको नायब सुव्बामा नाम निकाल्न सफल बलेफी, सिन्धुपाल्चोककी सावित्री पौडेललाई भने लोकसेवा आयोगको तयारी गर्न तथा परीक्षा दिन त्यति सहज भएन । अरूलाई पढ्न लगाएर, रेकर्ड गरेर र सुनेर याद गर्नुपर्ने बाध्यता भयो । जन्मँदै आँखाको दृष्टि गुमाउन पुगेकी सावित्रीलाई अरूको भरमा परीक्षा दिनुपर्दा धेरै नै गाह्रो भयो । उहाँ भन्नुहुन्छ, “दृष्टिविहीनले राम्रोसँग तयारी गरेर मात्रै के गर्नु, लोकसेवा आयोगले खटाएको लेखन सहयोगीले आफूले भनेजस्तो गरी उत्तर लेखिदिन सकेन भने पास हुन सकिँदैन । त्यसैले लेखन सहयोगी पनि हामीले भनेको कुरालाई लेख्न सक्ने खालको हुने गरी दिनुपर्छ ।”

२०५५ असार २९ मा जन्मिएकी सावित्रीले स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ । ११ कक्षा पढ्दा एक जना शिक्षकले उनको लेखनशैली देखेर “हेर नानी तिमी अफिसर बन्नुपर्छ” भनिरहनुहुन्थ्यो र सावित्रीलाई त्यतिबेला “यो के भनेको होला ?” भन्ने लागिरहन्थ्यो । कलेज अध्ययनका क्रममा स्नातक तहको अध्ययन गर्न थालेपछि यसबारेमा अलिअलि गरेर बुझ्दै जानुभयो र थाहा भयो कि “अपाङ्गता भएका व्यक्तिलाई सरकारी सेवामा प्रवेश गर्नका लागि आरक्षणको पनि व्यवस्था छ ।”

कोरोना सङ्क्रमणको अवस्थामा भएको लकडाउनको समयलाई सावित्रीले एकदमै राम्रोसँग सदुपयोग गर्दै मेहनत गरेर लोकसेवाको तयारीमा जुट्नुभयो । तयारीका क्रममा उहाँले साथीलाई किताब पढ्न लगाएर आफूले सुन्ने गर्नुभयो । त्यसैगरी किताबलाई मोबाइलबाट स्क्यान गरी टेक्समा कन्र्भट गरेर तयारी गर्नुभयो । 

सरकारी सेवामा पनि न्याय सेवा नै किन त भन्ने जिज्ञासामा उहाँले “विभिन्न सङ्घसंस्थामा गएर इन्टर्नसिप गर्दा तथा कार्यक्रममा सहभागी हुँदा मलाई के लाग्यो भने अपाङ्गता अधिकारका लागि जति नै पैरवी गरिने भए पनि त्यसलाई कार्यान्वयन गर्ने सरकारी संयन्त्रले नै हो । अझ त्यसभित्रका कानुनी विभेद हटाउन आफैँ त्यस संयन्त्रभित्र छिर्नुपर्छ भन्ने लागेर नै न्याय सेवा रोजेको हुँ ।”

अपाङ्गतातर्फ अन्तर्राष्ट्रिय खेलाडी (पौडी तथा बास्केटबल)का रूपमा आफ्नो पहिचान बनाएकी सरिता थुलुङ नृत्य तथा कला क्षेत्रमा सक्रिय हुनुहुन्छ तर उहाँले आफ्नो पहिचान सँगसँगै स्वरोजगारलाई पनि अगाडि बढाउनुभएको छ । भृकुटीमण्डपभित्रको खुला बजारमा उहाँले एउटा लुगाकपडा पसल सञ्चालन गर्नुभएको छ । 

खेल तथा कला क्षेत्रमा सक्रिय रहे पनि जीविकोपार्जनका लागि उहाँले सात वर्षदेखि यो पसल सञ्चालन गरेको बताउँदै भन्नुभयो, “बिहे भएपछि पारिवारिक जिम्मेवारी पनि बढ्दै गयो । त्यसैले हिम्मत गरेर यो पसल सुरु गरेको हुँ । जुनसुकै क्षेत्रमा लागे पनि नियमित रूपमा एउटा आर्थिक उपार्जनको बाटो भएन भने जीवन कसरी चल्छ ?” जम्मा पाँच हजार रुपियाँको लगानीबाट सुरु गरेको व्यवसाय हाल पाँच÷छ लाखसम्म पुगिसकेको छ र खर्च कटाएर सरदरमा महिनाको ३० हजारजति आम्दानी हुने गरेको छ । 

प्रकाशपुर, सुनसरीमा २०४० असोज ४ मा जन्मिएकी सरिताले तीन वर्षको उमेरमा उच्च ज्वरो आए पनि पोलियोमाइलाइटिसका कारण अपाङ्गता वरण गर्नुप¥यो । सरिताको दाहिने खुट्टा अत्यन्तै कमजोर भएकाले हिँडडुल गर्नका लागि क्यालिपरको सहारा लिनुपर्छ । सरकारले अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगारका लागि सहुलियत दरमा उपलब्ध गराउने भनेको ऋण लिनका लागि उहाँले महिनौँ बैङ्क धाउँदा पनि ऋण पाउन नसकेको गुनासो गर्दै भन्नुभयो, “मैले वाणिज्य बैङ्कमा गएर प्रक्रिया गरेको थिए तर कहिले कुन शाखा कार्यालयमा जानुस् भन्ने, कहिले के कागज पुगेन भन्ने, कहिले यो समयमा दिन्छौँ भनेर आश्वासन दिने अनि फेरि पैसा आएको छैन भन्नेजस्ता विभिन्न बहाना बनाएर मलाई बैङ्कले ऋण उपलब्ध गराएन तर मलाई ऋण दिएको भए यो व्यापारलाई म अझै बढाउँदै लाने थिए । अपाङ्गता भएको व्यक्ति पनि काम गर्न सक्छ, आत्मनिर्भर हुन सक्छ भन्ने विश्वास नभएर होला, मलाई बैङ्कले ऋण दिएन ।”

एउटा खुट्टामा क्यालिपरको सहायताले दिनभरि नै उभिएर काम गर्नुपर्दा रामचन्द्र ठाकुरलाई कहाँ सजिलो छ र ? सुनसरीको भमरीमा २०३७ माघ ९ मा जन्मिएका रामचन्द्र पनि दुई वर्षको हुँदा पोलियोका कारणले नै अपाङ्गता वरण गर्न पुग्नुभयो । कलेज पढ्नका लागि २०५४ सालमा काठमाडौँ छिर्नुभएका उहाँ स्नातकसम्मको अध्ययन गरी स्वरोजगार हुनुभएको छ । सुरुवाती दिनमा समाजकल्याण परिषद्बाट केही रकम सहयोग पाएपछि उनलाई व्यवसाय सञ्चालन गर्न सजिलो भयो । हाल गोल्फुटारमा उहाँले हेयर कटिङ सैलुन सञ्चालन गर्नुभएको छ । 

“हामी कोहीभन्दा कम छैनौँ किनकि अरूले गर्न सक्ने काम हामीले पनि गरेर देखाएका छौँ” भन्दै अत्यन्तै आत्मविश्वास तथा मिजासिला स्वभावका उहाँले भन्नुभयो “बरु साङ्ग व्यक्तिलाई दिनको आठदेखि दस घण्टा उभिएर काम गर्न गाह्रो होला तर मैले करिब दुई दशकदेखि दिनभर उभिएर काम गरेर देखाएको छु, त्यसैमा गर्व लाग्छ ।” आफ्नै परिश्रमले पारिवारिक दायित्व निर्वाह गर्दै मासिक ४० हजारदेखि ६० हजार रुपियाँसम्म उहाँको आम्दानी हुने गरेको छ ।

२५ वर्षदेखि निरन्तर काठमाडौँमा कडा परिश्रम गरेर आफूलाई स्थापित गर्न सफल रामचन्द्रले अपाङ्गता भएका व्यक्तिहरू आफ्नो कारणले भन्दा पनि वातावरणीय तथा सामाजिक अवरोधका कारणले पछाडि पर्ने गरेको अनुभव सुनाउँदै उनीहरूलाई अगाडि बढाउन र आत्मनिर्भर बनाउन सरकारले उचित वातावरण तथा अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

माथि प्रस्तुत गरिएका व्यक्तिहरू केवल प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । यस्ता कैयौँ अपाङ्गता भएका व्यक्ति विभिन्न क्षेत्रमा स्थापित भएका छन् । त्यसैले अपाङ्गता भएका व्यक्तिलाई परिवार, समाज तथा राज्यले आवश्यक सहयोग तथा उचित अवसर दिएमा उनीहरूलाई अगाडि बढ्न सहज हुने थियो । आशा छ, यसपालिको अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसले पक्कै पनि यस क्षेत्रको विकासमा सम्बद्ध निकायको ध्यानाकर्षण गराउने नै छ ।