• १२ असोज २०८१, शनिबार

नेपालको अर्थतन्त्र सङ्कटमा छैन : अर्थमन्त्री शर्मा

blog

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै अर्थमन्त्री जनार्दन शर्मा । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, मङ्सिर १५ गते । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र सङ्कटमा नरहेको बताउनुभएको छ । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र सङ्कटमा छ भन्ने गरेको बताउनुभएको हो ।

उहाँले मुलुकको अर्थतन्त्रमा सङ्कट छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिएर बोल्न अर्थशास्त्री, व्यवसायी र राजनीति व्यक्तिहरूलाई आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्र र अर्थशास्त्रीलाई देशको अर्थतन्त्र कसरी सङ्कटमा परको छ ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘‘नेपालको अर्थतन्त्र सङ्कटमा छ भन्नु अर्थतन्त्रलाई नबुझ्ने कुरा हो । नेपालको अर्थतन्त्र सङ्कटमा होइन । हाम्रो अगाडि केही दबाब र चुनौतीहरू छन् । ती चुनौती र सामना गर्ने उपायहरू खोज्नुपर्छ । तर सङ्कटमा छ भन्नु गलत हो । नेपालको अर्थतन्त्रका आफ्नै मौलिकता र विशेषताहरू छन् । केही जीविका उपार्जन गर्ने गरी परम्परागत रूपमा र केही नयाँ रूपमा अगाडि बढेको छ । मिश्रित खालको अर्थतन्त्र भएकाले नेपालको अर्थतन्त्र एकै पटकमाथि पुगेर तल झर्ने प्रकृतिको होइन । सङ्कटको नभएर चुनौतीहरूको छलफल गर्नुपर्छ । अर्थतन्त्रका सुचाङक सुधारोन्मुख छन् ।’’

अर्थमन्त्री शर्माले अर्थतन्त्र सङ्कटमा नभएको भन्दै अर्थतन्त्रका चुनौतीका विषयमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारको काम गर्ने क्षमता नबढ्नु सङ्कट भएको भन्दै सरकारको क्षमता बढाउन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले नेपालको अर्थतन्त्र एकै पटक तल जाने र एकै पटकमाथि जाने खालको नभएको दाबी गर्नुभयो ।

नेपालको अर्थतन्त्रका सूचकहरू क्रमिक रूपमा सुधार हुँदै गएकाले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताउनुहुँदै मन्त्री शर्माले खुला सीमानाका करण राजश्व घटेको भन्दै खुला नाका व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले खुला नाका व्यवस्थित बनाउने विषयमा निर्वाचनका कारण सरकारले ध्यान दिन नसकेको भनाइ छ ।

‘‘रेमिटेन्स, विदेशी मुद्रा सञ्चिति र पर्यटन क्षेत्रमा भएको विकास हेर्दा त्यो पाउँछौँ । राजश्व सङ्कलनमा कमी भएको छ । प्रशासनिक र खुला सीमाना व्यवस्थित गर्ने विषयमा केन्द्रित छ । अहिले बजारमा माग घटेका कुराहरू छन् । कामको गति घटेको कारण माग घटेको हो । अब विकास निर्माणका कामलाई तीव्रता दिएसँगै माग बढ्ने सिर्जना हुन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘ अर्थतन्त्रमा प्रायः सूचकहरू सकारात्मक छन् भने कहाँ छ सङ्कट ? मुलुकको अर्थतन्त्र सङ्कटमा छ नभन्न सबै अर्थविद्, व्यवसायी र राजनीतिक व्यक्तित्वहरूले यहाँ चुनौती छ भनौँ तर सङ्कट छ भनेर नभन्न आग्रह छ । अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्न आवश्यक कदम चाल्न सरकार र राष्ट्र बैङ्क खुला छलफल गर्न तयार रहेको छ ।’’

उहाँले दूरी कम गर्ने गरी भौतिक पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । पूर्वाधारमा लगानी बढाउनसक्दा जुम्लाबाट १२ घण्टा र चितवनबाट १ घण्टामा काठमाडौं आउनसक्ने वातावरण बन्ने भन्दै लगानीको वातावरण सहज बनाउन आवश्यक रहेको अर्थमन्त्री शर्माको भनाइ छ ।

उहाँले लगानी साना आयात गर्ने वस्तुमा मात्रै नभएर आर्थिक विकासमा गुणात्मक छलाङ ल्याउने क्षेत्र पहिचान गर्नुपर्ने बताउनुभयो । नागरिकको क्षमता विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने अवस्था रहेको औँल्याउनुहुँदै मन्त्री शर्माले नेपालको अर्थतन्त्रको भविष्य उज्ज्वल रहेको भन्दै अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । युवालाई प्रविधि क्षेत्रमा रोजगार बढाउने र कृषि तथा पर्यटनमा रोजगारी बढाउने हो भने देश समृद्ध बन्ने धारणा उहाँले राख्नुभयो ।

मन्त्री शर्माले नयाँ निर्वाचनले दलहरूलाई आफ्नो विगतको कामको समीक्षा गर्ने अवसर दिएको पनि बताउनुभयो ।