• १३ साउन २०८१, आइतबार

मलेसिया हाँक्दै इब्राहिम

blog

दुई दशकभन्दा बढी समय ओझेलमा पारिएका मलेसियाका वरिष्ठ विपक्षी नेता अनवर इब्राहिम देशको नयाँ प्रधानमन्त्री बन्नुभएको छ । हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि ठूलो दलको नेताका रूपमा उहाँलाई राजा सुल्तान अब्दुल्लाहले प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । इब्राहिम र पूर्वप्रधानमन्त्री मुहिद्दिन यासिन दुवैका दलले चुनावमा बहुमत ल्याउन नसकेको अवस्थामा उहाँले कुन दलसँग सहकार्य गर्नु हुने होे अझै स्पष्ट भइसकेको छैन ।

निर्वाचनमा इब्राहिमको पाकाटन हरपान पार्टीले सबैभन्दा बढी सिट जिते पनि सरकार बनाउन पर्याप्त सिट जित्न सकेन । तत्कालीन प्रधानमन्त्री डा.महाथिर मोहम्मदको उत्तराधिकारी मानिने इब्राहिमलाई सन् १९९८ भ्रष्टाचार र समलैङ्गिकताको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको थियो । त्यतिबेला उहाँ उपप्रधानमन्त्री हुनुहुन्थ्यो । लोकप्रिय छवि बनाउनु भएका उहाँलाई कमजोर बनाउन पटक पटक यस्तो आरोप लगाएर जेल हाले पनि प्रमाणित हुन सकेन । अन्ततः उहाँ निर्दोष साबित हुनुभयो । 

मलेसियामा नोभेम्बर १९ मा मध्यावधि निर्वाचन भयो । यो निर्वाचनमा कसैको पनि बहुमत आएन । आमनिर्वाचनमा ९७ वर्षीय पूर्वप्रधानमन्त्री डा. महाथिर पराजित हुनुभयो । यो पराजयसँगै उहाँको राजनीतिक यात्रामा विश्राम लागेको छ ।  विगत ५० वर्षमा डा.महाथिरको यो पहिलो चुनावी हार हो । सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाका प्रधानमन्त्री रहेका उहाँ यसपालि पराजित मात्र हुनुभएन । उहाँले आफ्नो जमानत जोगाउन सक्नुभएन । उहाँले कुल सदर मतको आठ प्रतिशत मत पनि ल्याउनु भएन । 

सन् २०१८ मा प्रधानमन्त्री भएपछि उहाँले ‘ससारकै बढी उमेरको प्रधानमन्त्री’ का रूपमा गिनिज वल्र्ड रेकर्ड बनाउनु भएको थियो । त्यति बेला उहाँ ९३ वर्षका हुनुहुन्थ्यो । मलेसियमा यसपालि पनि कुनै पार्टीले बहुमत ल्याउन नसकेपछि राजनीतिक अस्थिरताले निरन्तरता पाउने सम्भावना छ । २२२ सिटको संसद्का लागि इब्राहिमको पाकातान हरपन पार्टीले ८२ सिट जितेको छ भने मुहिद्दिन यासिनको पेरिकातान नेसनल पार्टी ७३ सिट जितेर दोस्रो स्थानमा छ । त्यस्तै बारिसान नेसनलले ३० र गाबुन्गान पार्टी सारावाकले २२ सिटमा जितेको छ ।

डा.महाथिरको होमल्यान्ड फाइटर्स पार्टीले भने यसपालि नराम्रो पराजय भोगेको छ । उहाँको पार्टीले एउटा पनि सिट जित्न सकेन । चुनावी परिणाम घोषणापछि प्रधानमन्त्रीका दुई प्रतिद्वन्द्वी उम्मेदवार इब्राहिम र मुहिद्दिन यासिनले नयाँ सरकार आफूले बनाउने दाबी गर्नुभएको थियो । ठूलो पार्टीको हैसियतमा इब्राहिमलाई प्रधानमन्त्री बनाइएको छ । 

त्यहाँ प्रधानमन्त्री इस्माइली साब्री याकुबले संसद् विघटन गरेपछि मध्यावधि निर्वाचन भएको हो । सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्याशित विभिन्न घटनाक्रमकै कारण देशको आर्थिक तथा राजनीतिक अवस्थामा प्रभाव परेकाले तत्काल निर्वाचन गर्नुपरेको उहाँको भनाइ थियो । सन् २०१८ मा भएको निर्वाचनमा डा.महाथिर प्रधानमन्त्री निर्वाचित हुनुभयो । उहाँले दुई वर्ष पनि सरकार चलाउन पाउनुभएन । त्यसपछि यासिनले प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएको थियो । उहाँको सरकार पनि ढलेपछि प्रधानमन्त्री याकुबले सन् २०२१ को अगस्ट २१ मा शपथ लिनुभएको थियो । 

पछिल्ला दिनमा मलेसियामा राजनीतिक विवाद बढेको छ । सरकार बनाउने र गिराउने खेलले राजनीतिक विवाद बढेको हो । आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक हुन्छ । राजनीतिक स्थायित्वबिना आर्थिक विकास हुन सक्दैन । विगत केही वर्षयताको अस्थिर राजनीतिले मलेसियाको समग्र आर्थिक विकास प्रभावित भएको छ । 

जनचाहना अनुसार सन् २०१८ मा डा. महाथिर विश्वकै ज्येष्ठ निर्वाचित प्रधानमन्त्री बन्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका उहाँ ९३ वर्षको उमेरमा फेरि प्रधानमन्त्री निर्वाचित भएपछि विश्वमै चर्चा भयो । देशको अवस्था सुधारिने अपेक्षा गरिए पनि सुधार हुन सकेन । 

अहिले उहाँ ९७ वर्षको हुनुभयो । उहाँको पुनरागमनसँगै सन् १९५७ देखि सत्तारुढ रहेको युनाइटेड मलेयस् नेसनल अर्गनाइजेसन (यूएमएनओ) पार्टी पराजित भई सत्ताबाट बाहिरिएको थियो । डा.महाथिरको विपक्षी गठबन्धनले ११५ सिट जितेर सरकार बनायो । सरकार बनाउन ११२ सिट चाहिनेमा विपक्षी गठबन्धनले ११५ सिट जिती बहुमतको सरकार बनाएर मलेसियाको राजनीतिलाई नयाँ मोड दियो । चुनावमा पराजित सत्तारुढ गठबन्धन ८९ सिटमा खुम्चियो । चुनाव जितेपछि पत्रकारसँग कुरा गर्दै डा. महाथिरले भन्नुभएको थियो, “हामीलाई कुनै प्रकारको बदला चाहिँदैन । हामी त कानुनको शासन भिœयाउन चाहन्छौँ ।”  

सन् २०१८ को मे ९ मा सम्पन्न निर्वाचनमा बहुमत ल्याएपछि डा. महाथिरले मुलुकमा पुनः सुशासन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुशासनबिनाको आर्थिक समृद्धि पर्याप्त नहुनेमा उहाँको जोड थियो । मुलुकमा सुशासन नभएकै कारण भ्रष्टाचार र जातीय तनाव बढेको बताउँदै अब मुलुकलाई नयाँ गति दिन आफू नेतृत्वमा आएको उहाँको दाबी थियो । 

सन् १९५७ देखि सत्तामा रहेको दल र त्यसका नेताले नेतृत्व गर्न असफल भएपछि सन् २०१६ मा डा.महाथिरले सत्तारुढ दल छाडेर विपक्षी गठबन्धन बनाउनुभएको थियो । उहाँले त्यतिबेला भन्नुभएको थियो, ‘यूएमएनओ पार्टी पार्टीजस्तो रहेन अब यस पार्टीमा बस्नुको औचित्य समाप्त भएको छ ।’ आफूले रगतपसिना बगाएर हुर्काएको पार्टी परित्याग गरेका डा. महाथिरलेको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको थियो । पार्टीले नेतृत्व गर्न सक्दैन भन्ने लगेर नै उहाँले पार्टी परित्याग गरेको चुनावी परिणामले प्रमाणित ग¥यो ।  

बेलायत र जापानको उपनिवेश हुँदै सन् १९५७ मा स्वतन्त्र भएको मलेसियालाई डा.महाथिरको कुशल नेतृत्वकै कारण राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धशाली मुलुक बन्न सफल भएको हो । उहाँ सन् पहिलो पटक १९८१ देखि २००३ सम्म २२ वर्ष प्रधानमन्त्री बन्नुभयो । यो अवधिमा मलेसिया उहाँको कुशल नेतृत्वले ‘एसियन टाइगर’ बन्न पुग्यो । 

उहाँले सन् २००३ मा राजनीतिबाट सन्यासको घोषणा गर्नुभयो । सन् २००४ मा भएको आमनिर्वाचनमा सत्तारुढ दलले प्रचण्ड बहुमतसहित सरकार बनायो । प्रधानमन्त्रीमा अब्दुल्लाह बदावी निर्वाचित हुनुभयो । उहाँको शासनकालमा सुनामीलगायतमा प्राकृतिक विपक्षीको सामना गर्नुप¥यो । सन् २००८ मा सत्तामा आएका डा. महाथिरले हुर्काएका नेता नजिब अब्दुल रजाक र सत्तारुढ दलले जनअपेक्षित काम गर्न सकेन । फलस्वरूप सन् २०१३ को आमनिर्वाचनमा सत्तारुढ दल झिनो बहुमतमा सीमित भयो । सन् २०१३ पछि भ्रष्टाचारको मुद्दामा मुछिएका नजिबलाई राजीनामा दिन चौतर्फी दबाब प¥यो । तर उहाँले आफू भ्रष्टाचारमा संलग्न नरहेका दाबी गर्नुभयो । आफूले पुनः जित्ने दाबीसहित उहाँले निर्धारत समयअघि नै चुनावको घोषणा गर्नुभयो । उहाँ र उहाँको पार्टी दुवै अलोकप्रिय बने । चुनावमा डा.महाथिर नेतृत्वको विपक्षी गठबन्धनले सहजै बहुमत ल्याउन सफल भयो । सन् १९५७ देखि सत्तामा रहेको पार्टी पहिलो पटक पराजित हुन पुग्यो । पूर्वप्रधानमन्त्री रजाकलाई अन्ततः भ्रष्टाचारको मुद्दामा अदालतले दोषी ठहर गरी १२ वर्ष जेल सजाय तोकेको छ । 

२२ वर्षसम्म लगातार प्रधानमन्त्री बनी मलेसियामा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि दिएका डा.महाथिरले राजीनामा दिई सन्यास लिएपछि एक किसिमको राजनीतिक सन्नाटा छाएको थियो । उहाँ सत्ताबाट बाहिरिएपछि मलेसियाले अपेक्षित गति लिन सकेन । उहाँलाई राजनीतिमा फर्कन व्यापक जनदबाब प¥यो । सोही कारण ९३ वर्षको उमेरमा जनइच्छाअनुसार पुनः प्रधानमन्त्री निर्वाचित हुनुभयो । पछिल्लो कार्यकाल सोचेजस्तो सफल भएन । 

दक्षिणपूर्वी एसियाली मुलुक मलेसिया बहुजातीय, बहुभाषी तथा बहुधार्मिक मुलुक हो । डा.महाथिरको शासनकालमा पूर्वाधार र पर्यटन क्षेत्रको विकासले आर्थिक समृद्धि साथै सुशासन चुमेको यो मुलुक उहाँको शासनकालपछि सङ्कटमा परेको हो । मुलुक सङ्कटमा परेका कारण सङ्कटमुक्त गर्न फेरि डा.महाथिरकै नेतृत्व खोजिएकाले ९३ वर्षको वृद्ध उमेरमा पनि पुनः दोस्रो पटक युवा जोशका साथ नेतृत्व सम्हाल्ने प्रयास गर्नुभयो । उहाँ पुनः सत्तामा आएपछि अब मुलुकले नयाँ गति लिने अपेक्षा गरिएको थियो । सत्ता गठबन्धनभित्रको विवादले दुई वर्षमै उहाँले राजीनामा दिनुभयो । 

तीन करोड २० लाख जनसङ्ख्या रहेको, तीन लाख २९ हजार ८४७ वर्ग किमि क्षेत्रफलमा फैलिएको यो मुलुकमा मलाय, अङ्ग्रेजी, चिनियाँ, तमिल, तलेगु र मलालायम भाषा मुख्य रूपमा बोलिने गरिन्छ भने इस्लाम,बौद्ध, ताओ, हिन्दु, इसाई र सिक्किजम धर्मको प्रभाव छ । यहाँका पुरुषको औसत आयु ७३ वर्ष र महिलाको ७७ वर्ष छ ।

मलेसियाली भाषा, धर्म र संस्कृतिमा धनी छन् । आपसमा मिलेर बसेका उनीहरूबीच फुट ल्याउने प्रयास गर्दा पछिल्ला वर्षमा जातीय तनावका घटनासमेत भए । मुलुकको नेतृत्व नै भ्रष्टाचारमा मुछियो । यो अवस्था कायम रहेमा मुलुक द्वन्द्वमा जानसक्ने सम्भावनाप्रति चिन्तित बहुसङ्ख्यक जनताले डा.महाथिरलाई पुनः नेतृत्व लिन आग्रह गरे । उहाँले सहजै स्वीकार गरी नेतृत्व लिनुभयो । यस पटक उहाँ सफल हुनु भएन । उहाँसँगको गठबन्धन भत्काएर मुहिद्दिन यासिन प्रधानमन्त्री बन्नुभयो । उहाँले पनि सोचेजस्तो काम गर्न सक्नु भएन । 

मुलुकको सुशासन र समृद्धिका लागि कुशल शासक चाहिन्छ । राजनीतिक नेतृत्व सक्षम भएन भने मुलुक पछि पर्छ । डा.महाथिरपछि मलेसियाले सक्षम नेतृत्व पाएन फलस्वरूप नेतृत्व पनि विवादमा प¥यो र पार्टीले पनि चुनाव हा¥यो । चुनाव हार्नुमा नेतृत्वकै कमजोरी देखियो । अहिले अल्पमतको सरकार बनाएका प्रधानमन्त्री इब्राहिमले बहुमत जुटाउन चुनावमा सहभागी विभिन्न दलसँग सहकार्य र सहमति गर्नुपर्ने अवस्था छ । उहाँले केही गरी बहुमत जुटाउन सक्नुभएन भने यो सरकार पनि धेरै समय टिक्नसक्ने सम्भावना कम छ ।