• ११ असोज २०८१, शुक्रबार

घर–घरमा खानेपानी धारा

blog

सिन्धुली समाचारदाता

चनौटे (सिन्धुली), मङ्सिर १५ गते । सिन्धुलीको मरिण गाउँपालिका–३, चनौटेनिवासी विमला तामाङलाई अहिले आफ्नो घरको चुलोमै खानेपानी पुगेको महसुस हुन थालेको छ। खानेपानीका लागि निकै सास्ती खेप्दै आएका चनौटेको घर–घरका धारामा यसै साता खानेपानी झरेपछि वर्षौंदेखिको खानेपानी अभाव हटेको छ।

उपभोक्ता तामाङले भन्नुभयो, “गाउँमा लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएसँगै हामीले खानेपानी समस्याबाट मुक्ति पाएका छौँ। नभए खानेपानी खोज्दै बिहानभरि बित्थ्यो। अहिले घरको चुलोमै खानेपानी पुगेजत्तिकै मात्र भएको छैन, वर्षौंदेखिको खानेपानीको प्यास मेटिएको छ।”

आफैँलाई पिउन, गाईबस्तुलाई खुवाउन र बढी भएको पानीले करेसाबारीमा साग तरकारी रोप्नसमेत सहज भएको उहाँले सुनाउनुभयो। मरिण गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा खानेपानी योजना सम्पन्न भएको हो। 

गाउँपालिकाका अनुसार २०७८ भदौमा सम्झौता भई निर्माण सुरु भएको उक्त आयोजनाको निर्माणकार्य विभिन्न समस्याका कारण सम्झौता अवधिभन्दा चार महिना ढिलो निर्माण सम्पन्न भएको छ। ६२ लाख १८ हजार ८६८ रुपियाँ लागतमा निर्माण भएको यस खानेपानी आयोजनाबाट उक्त वडाका १०३ घरधुरीलाई बाह्रै महिना स्वच्छ खानेपानी सुविधा उपलब्ध भएको छ।

मरिणखोलानजिकै रहेको इनारबाट पाँच सय मिटरमाथि डाँडामा बनाइएको चारवटा ट्याङ्कीबाट घर–घरमा खानेपानी वितरण गरिएको वडाध्यक्ष जितबहादुर श्रेष्ठले जानकारी दिनुभयो। 

गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले धेरै मिहिनेत गरी खानेपानी योजना निर्माण गरेकाले त्यसको संरक्षण र रेखदेखमा स्थानीय उपभोक्ता आफैँ सचेत रहनुपर्ने बताउनुभयो।

उहाँले खोलाकिनारमा रहेका इनारबाट डाँडामा रहेको ट्याङ्कीमा पानी लिफ्ट गर्दा मिटरमा उठ्ने शुल्क सबै गाउँपालिकाले तिरिदिने बताउनुभयो। उहाँले भन्नुभयो, “कक्षा १२ सम्मको निःशुल्क शिक्षा र निःशुल्क खानेपानी गाउँपालिकाको अभियान हो। त्यहीअनुरूप गाउँपालिकाले काम गरिरहेको छ।”

वडाध्यक्ष श्रेष्ठले चनौटेमा यसअघि पनि गरिबी निवारण कार्यक्रम र वडा कार्यालयले पनि खानेपानीका लागि प्रयास गरेको थियो तर लामो समयसम्म पनि सम्भव भएको थिएन। 

भर्खरै निर्माण सम्पन्न खानेपानी योजनाबाट स्थानीयवासीसँगै सार्वजनिक विद्यालयमा अध्ययनरत अढाई सय विद्यार्थीसमेत लाभान्वित भएको उहाँको भनाइ छ।