• १३ साउन २०८१, आइतबार

राष्ट्र उठाउने मन्त्र

blog

अथर्ववेदमा मातृभूमिको महिमा छ । त्यसमा भनिएको छ, “हे मातृभूमि, हामीलाई अनन्त ज्ञान प्राप्त होस् । प्रत्येक दिन हामी अभैm समृद्ध बन्न सकौँ । दयालु, परोपकारी र उदार बन्न सकौँ ।” 

आज हरेक राष्ट्रले सार्वभौमसत्ता, राष्ट्रिय एकता र जनहितको रक्षाका लागि राष्ट्रिय मूलमन्त्र बनाएर सोहीअनुसार परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा नीति, अर्थनीतिलगायतका यावत् पक्षको संरक्षण गर्ने गरेको पाइन्छ । त्यो मूलनीतिमा राष्ट्रको तस्बिर देखिन्छ । विगत र वर्तमानबाट शिक्षा लिएर भविष्यको मार्गचित्र बनाइन्छ ।

राष्ट्रिय हितको रक्षा गर्ने शैली, रणनीति र रूपरेखा हरेक राष्ट्रको भूगोल, इतिहास, धर्म–संस्कृति र मूल्यमान्यताअनुरूप पृथक् हुने गर्छन् । राष्ट्रको रक्षा गर्ने कुरा सिमानाको रक्षा मात्र होइन, परम्परा, सभ्यता–संस्कृति र संस्कारको पनि रक्षा हो । केही मुलुकले अनिवार्य सैनिक शिक्षा दिएर विद्यालयको पाठ्यक्रममै ‘राष्ट्रहित’बारे व्यावहारिक ज्ञान दिने गरेका छन् । त्यसबेला इतिहास पनि पढाइन्छ । 

हालै भुटानले युवा विद्यार्थीलाई तीनमहिने सैनिक तालिम दिने निर्णय गरेको छ । विभिन्न अवस्थामा आवश्यकताअनुसार भोलिका दिनमा ती छात्रछात्राले सानै भए पनि योगदान गर्न सक्छन् । राष्ट्रको रक्षा गर्ने तत्व बुझ्न सक्छन् ।

इजरायल सन् १९४८ मा स्वतन्त्र राष्ट्रका रूपमा उदय भए पनि वरिपरिका राष्ट्रबाट घात–प्रतिघात भोग्दै अघि बढिरह्यो । भौगोलिक, ऐतिहासिक र रणनीतिक कारणले बाध्यतावश राष्ट्रको अस्तित्व जोगाउन त्यहाँ अनिवार्य सैनिक सेवा गर्नैपर्ने कानुन बनाइयो । १८ वर्ष पुगेपछि हरेक नागरिकले सैनिक तालिम गर्नैपर्छ तर इजरायलमा बसेका अरबमूलका जनतालाई सैनिक तालिम दिइँदैन ।

सन् २०१९ को जनगणनाअनुसार त्यहाँ अरबमूलका २१ प्रतिशत अर्थात् १८ लाख १९ हजार जनता छन् । अरबमूलका जनतालाई राष्ट्रिय सुरक्षाका दृष्टिले शङ्कास्पद मानिन्छ । आईडीएफ भनिने इजरायल डिफेन्स फोर्स विश्वका प्रबल सैन्य शक्तिमध्ये एक हो । यसको संरचना विशिष्ट छ । राष्ट्रको तस्बिर भनेको मानचित्र मात्रै होइन, त्यहाँको राष्ट्रिय चरित्र हो । राष्ट्र बचाउनुपर्छ भन्ने अदम्य भावनाले ओतप्रोत इजरायलभित्र अनेक समस्या भए पनि राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानजस्ता विषयमा दलहरूमा मतभिन्नता पाइँदैन । मरणासन्न अवस्थाबाट बौरिएको इजरायलप्रति जनता गौरवान्वित, उत्साहित र आशावादी छन् । मानचित्रमा विम्बित नहुने भावनात्मक चित्र हरेक राष्ट्रको आत्माको तस्बिर हो । साहित्य, कला, सङ्गीत, पत्रकारिता आदिमा मात्र होइन, कूटनीति, राजनीति, अर्थव्यवस्था र राष्ट्रिय सुरक्षामा राष्ट्रको विम्ब देखिन्छ । त्यो हेरेर युवावर्ग भविष्यप्रति आश्वस्त बन्छन् ।

संसारका प्राचीन राष्ट्र चीन, मिश्र (इजिप्ट), ग्रिस, इरान, इथियोपिया, जापान आदि भँैm नेपाल पनि नूतन र पुरातनकालभन्दा पहिलेको सनातन युगदेखि अस्तित्वमा रहेको छ । त्यसैले हाम्रो प्राचीन धर्मलाई सनातन धर्म भनिन्छ । प्रसिद्ध लेखक स्वेट मार्टेनले भारतको काशी (वाराणसी) सहरलाई ‘इतिहास भन्दा पहिलेको’ भनेका छन् । नेपाल पनि पाँच हजार वर्षभन्दा पुरानो लिखित इतिहास भएको ऐतिहासिक राष्ट्र हो भन्ने पर्याप्त प्रमाण छन् । जसरी आर्मेनियाका विद्वान् आफ्नो राष्ट्र प्राचीन भएकोमा गर्व गर्छन्, सयौँ राष्ट्र त्यसरी गौरवान्वित हुन सक्दैनन् ।

नेपाल कदापि पराधीन नभएका थोरै राष्ट्रमध्येको भाग्यमानी हो । हामीले संसारलाई सगर्व इतिहास सुनाउन सक्छौँ । प्राचीन धर्म–संस्कृतिको चर्चा गर्दा नेपाल सनातन धर्म, बोन, बौद्ध, प्रकृतिपूजक सबैको अध्ययनको केन्द्र बन्न सक्छ भन्न सक्छौँ । सगरमाथा र बुद्धका कारणले मात्र होइन, सनातनकालदेखि स्वतन्त्र रहेका कारणले पनि हाम्रो शिर उठेको हो ।

सम्राट् जुमोङले स्थापना गरेको कोरिया र सम्राट् साइरसले स्थापना गरेको इरानजस्ता प्राचीन राष्ट्र थोरै छन् । दक्षिण एसियामा नेपाल सर्वाधिक पुरानो स्वतन्त्र राष्ट्र हो । भावनात्मक रूपमा हेर्दा नेपाली–नेपालीलाई आपसमा मेलमिलाप गराउने काम प्राचीन धर्म संस्कृति, मानवता र भाषाले नै गरेको विद्वान्को मत पाइन्छ । अमेरिकाका प्रसिद्ध फिल्म निर्माता तथा निर्देशक म्याक्स जोसेफले भनेका छन्, “हाम्रो राष्ट्र सर्वाधिक शक्तिशाली छ । यहाँका राष्ट्राध्यक्ष राजनीति गर्दैनन् तर राष्ट्रलाई अभैm बलियो बनाउने योजना बनाउँछन् र सरकारले त्यो मूलनीतिअनुरूप काम गर्छ ।”

दुर्भाग्यवश नेपालका अधिकांश राजनीतिकर्मीमा राष्ट्र नै सर्वोपरि हुन्छ भन्ने चेतना, अठोट र विश्वास न्यून देखिन्छ । सरकार सञ्चालन गर्ने र गराउनेहरूबीचमा विश्वासको सङ्कट छ । यदाकदा केही मन्त्रीले प्रधानमन्त्रीको आलोचना गरेको सुनियो । यो संसदीय संस्कृति हुँदै होइन । आफैँले चालक दलको सदस्य बनेर महासागर तार्नुपर्ने पानीजहाजका सञ्चालकले मुसा बनेर ठूलो प्वाल पारेको भन्दै एक जना प्रधानमन्त्रीले जहाज डुबाउने मन्त्रीलाई ‘मुसा’ भनेका थिए । यसले गर्दा २०४६ सालपछि कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गर्न पाएनन् । राष्ट्रिय मूलनीति अल्मलियो ।

संस्कृतमा एउटा प्रसिद्ध वाणी छ – “स्वस्मै स्वल्पं समाजाय सर्वस्वं ।” तात्पर्य हो, आफ्ना लागि थोरैजस्तो लागे पनि समाजका लागि त्यस्तो सत्कर्म सर्वस्व हुन्छ । हामी नेपाली झन्डै तीन करोडको हाराहारीमा छौँ । हरेक दिन राष्ट्रका लागि पचास पैसा मात्र दान दिने हो भने दिनहुँ एक करोड पचास लाख रुपियाँ जम्मा हुन्छ । त्यसले गाउँमा एउटा स्वास्थ्य केन्द्र वा प्राथमिक स्कुल बन्छ । यस्तो भावना पुष्पित–पल्लवित भएमा राष्ट्र समृद्ध गराउन ठूल्ठूला भाषण गर्नै पर्दैन तर अकुत सम्पत्ति कमाउन राज्यकोषको अर्बौं रुपियाँ सीमित व्यक्तिका हातमा पुग्ने गरेको छ । राष्ट्रलाई आर्थिक अनुशासनमा राख्न नसक्दा ठूलो क्षति भएको अर्थशास्त्रीको तर्क मिथ्या छैन ।

विधिको शासन अर्थात् सुशासन, राजनीतिक, आर्थिक, नागरिक, सामाजिक आदि क्षेत्रले दायित्व बोध गर्ने चरित्रको विकास र राष्ट्रलाई सँगोलको घर मान्ने हो भने स्वतः राष्ट्र जुरुक्क उठ्छ । दलहरू घरका कोठा हुन् । जग भास्सिँदै जाने, छानो मक्किने र भित्ताहरू भत्किने स्थितिमा जीर्ण घर बलियो नबनाएसम्म सबैजना असुरक्षित रहन्छन् । राष्ट्र उठ्न सकेन भने अन्य हजारौँ उपायले पनि सुख हुँदैन । हरेक पाइलामा ‘राष्ट्र सर्वोपरि हुन्छ’ भन्ने सोच र सोहीअनुसारको जिम्मेवारी लिनेहरू नीतिनिर्माण र कार्यान्वयन गर्ने तहमा पुगे भने मात्र राष्ट्रको रूपान्तरण सम्भव हुन्छ । धेरैको निचोड छ, “हरेक नागरिकलाई राष्ट्रले संरक्षण, संवद्र्धन र सम्पोषण गरेपछि उसले राष्ट्र मेरो हो भन्ने ठान्छ । सीमित व्यक्तिलाई काखी च्यापेर अन्य दल, अन्य जात, अन्य धर्म वा अन्य क्षेत्र भन्दै विभेद गरिएमा त्यो ‘डेमोक्रेसी’ ठहरिँदैन ।”

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको आठ वर्र्षपछि मात्र सन् १७७६ मा स्वतन्त्र भएको अमेरिकामा धनी र निर्धनबीच ठूलो अन्तराल थियो । कोही सयकडौँ दासदासी राखेर बसेका थिए भने धेरैजसो त झुप्रामा थिए । सन् १९७० को दशकपछि केही वर्ष अमेरिकी विश्वविद्यालयमा अङ्ग्रेजी भाषा–साहित्य पढाउनुहुने इलाम निवासी प्राध्यापक तारानाथ शर्मा भन्नुहुन्थ्यो, “न्युयोर्कको म्यानहटनबाट उत्तरमा हार्लेम भन्ने दरिद्र बस्ती थियो । थोत्रा घर, फोहोरी मान्छे, नेपालकै जस्ता खाल्डाखुल्डी सडक आदि देख्दा सन् १७७६ मा ब्रिटेनबाट स्वाधीन हुँदा अमेरिका कस्तो थियो होला भनेर म सोच्ने गर्थें ।”

यजुर्वेदको नवौँ अध्यायको तेइसौँ कण्डिकामा ‘वयं राष्ट्रे जागृयाम पुरोहिता’ भनिएको छ । यसको सार हो, हामी पुरोहित (राष्ट्रिय मर्यादा, राष्ट्रिय हित, राष्ट्रिय गौरव र राष्ट्रिय चरित्र उत्थान गर्नेहरू) मिलेर राष्ट्रलाई जाग्रत र जीवन्त बनाएर राख्छौँ । वेदमा उल्लेख ‘राष्ट्र’ शब्द हजारौँ साल पुरानो हो । अङ्ग्रेजीमा ‘नेसन’ शब्द, चीनमा गुअजिया, जापानमा कोक्का, इटालीमा नजिओने, स्पेनमा नासिअन भन्नाले राष्ट्र नै बुझिन्छ तर राष्ट्रोत्थानका अमरवाणी, सूत्र र मन्त्र युरोप, अमेरिकाका पुराना ग्रन्थमा अत्यन्त न्यून छन् ।

राष्ट्र भन्ने शब्दको अर्थ बृहत् भावनात्मक एकताको प्रतिविम्ब हो । ठूलो राष्ट्रभित्रै छुट्टै पहिचान लिएर पृथक् ढङ्गले बनेको भूखण्डलाई राजनीतिशास्त्रले देश (कन्ट्री) भनेको छ । सोभियत सङ्घ अर्थात् ‘युनियन अफ सोभियत सोसलिल्ट रिपब्लिक’ कुनै बेला अमेरिकाजस्तै प्रबल थियो । अमेरिकाको प्रतिस्पर्धी थियो । २६ डिसेम्बर १९९१ मा त्यो राष्ट्र टुक्राटुक्रा भएर पन्ध्रवटा देशमा बाँडियो ।

आर्मेनिया, अजरबैजान, बेलारुस, काजाखस्तान, किर्गिजस्तान, लिथुआनिया, मोल्दोभा, रसिया, ताजिकिस्तान, युक्रेन, तुर्कमेनिस्तान, लात्भिया, चेचन्या, उज्वेकिस्तान आदि ‘बाक्लो दाल खाने’ रहरमा छुट्टिए तर सँगोलमा बस्दा जुन सुरक्षा, 

खुसी र प्रगति थियो, त्यो रहेन । यस्ता उदाहरणबाट थाहा हुन्छ, राष्ट्रिय एकता रहे मात्र राष्ट्रको उन्नयन हुन्छ । नत्र हामी पनि त्यसरी नै गिर्दै जान्छौँ, जसरी धेरै राष्ट्र गिरेका छन् ।