जीवछ यादव 
लहान, मङ्सिर ११ गते । सिरहा जिल्लाको चारवटै प्रतिनिधि सभा क्षेत्रमा–एमाले जनता समाजवादी गठबन्धनले जितेको छ भने सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई हानी पुगेको छ। सिरहा–१ बाट प्रतिनिधि सभामा नेकपा (एमाले)का उम्मेदवार रामशङ्कर यादव नेपाली कांग्रेसका उम्मेदवार पदमनारायण चौधरीलाई पराजित गर्नुभएको छ। सिरहा–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकिशोर यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै विजयी हुनुभएको छ।
सिरहा–३ मा नेकपा (एमाले)का उम्मेदवार लीलानाथ श्रेष्ठले नेकपा (माओवादी) केन्द्रका उम्मेदवार विश्वनाथ साहलाई पराजित गर्नुभएको छ। यसैगरी सिरहा–४ मा जसपाका उम्मेदवार वीरेन्द्रप्रसाद महतोले जनमत पार्टीको उम्मेदवार वीरेन्द्रप्रसाद साहलाई पराजित गर्दै विजयी हुनुभएको छ।
सिरहामा रहेको आठ प्रदेश सभा सदस्यहरूमा एमाले गठबन्धनले चार, जनमत दुई, लोकतान्त्रिक समाजवादी पार्टी एक, एकीकृत समाजवादी पार्टीले एक स्थानमा जितेका छन्। सिरहा–१ (क)बाट नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद चौधरी, १ (ख)बाट जसपा उम्मेदवार राजकुमार गुप्ता, २ (क)बाट जनमत पार्टीका सञ्जय यादव, २ (ख)बाट नेकपा एमालेका शत्रुधनप्रसाद कोइरी निर्वाचित हुनुभएको छ। यसैगरी ३ (क)बाट नेकपा (एमाले)को मनोजकुमार सिंह, ३ (ख)बाट एकीकृत समाजवादीका प्रमोदकुमार यादव, ४ (क)बाट जनमत पार्टीको त्रिभुवनप्रसाद साह, र ४ (ख)बाट लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित हुनुभएको छ।
नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव जित्न नसक्नुको कारण गठबन्धनभित्र आन्तरिक एकता र आपसी विश्वास नभएको सिरहा–१ को २ बाट लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभामा उम्मेदवार रहनुभएका अशोककुमार यादवले बताउनुभयो। उहाँका अनुसार सिरहामा अस्तित्वमा रहेको चार दलभित्र चुनावी रणनीति प्रतिबद्धता र एमाले जसपाबाट फैलाएको भ्रम चिर्न नसक्दा चुनावमा पराजित हुनुपरेको हो।
यता सिरहा–३ बाट नेकपा (माओवादी) केन्द्रबाट प्रतिनिधि सभाका उम्मेदवार रहनुभएका विश्वनाथ साह भन्नुहुन्छ, ‘नेपाली कांग्रेसले गठबन्धनभित्र इमानदारी नदेखाएकोले चुनावमा पराजय भोग्नुप-यो। सिरहा–२ मा नेपाली कांग्रेसबाट उम्मेदवार हुनुभएको चित्रलेखा यादवका अनुसार गठबन्धनमा रहेका माओवादीको मत धनगढीमाई नगरपालिकामा नआउँदा चुनावी परिणाम अनुकुुल हुन सकेन। प्रजातन्त्र आएपछि सिरहामा नेपाली कांग्रेसलाई शून्यमा झर्नु परेको यो पहिलो चुनाव हो। चुनावी प्रक्रियामा सहभागी भएपछि नेकपा (माओवादी) केन्द्रका लागि पनि ऐतिहासिक क्षति भएकोले यसको समीक्षा गरेर भएको कमि कमजोरीहरूलाई सच्याउन दुवै पार्टीका अगुवा नेताहरू लाग्नुपर्ने नागरिक अगुवा अम्बराज मिश्रको सुझाव छ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                