• १३ असोज २०८१, आइतबार

विद्यालय पुनर्निर्माणको काम अन्तिम चरणमा

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, मङ्सिर ११ गते । गत २०७२ को भूकम्पबाट क्षति पुगेका विद्यालय पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्प गएको साढे सात वर्ष पुग्दा विद्यालय पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो । शिक्षा विकास समन्वय एकाइका अनुसार जिल्लामा भूकम्पबाट क्षति पुगेकामध्ये १० वटा विद्यालयको भवन निर्माणको काम अन्तिम चरणमा पुगेसँगै पुनर्निर्माणको काम अन्तिम चरणमा रहेको जनाइएको छ । 

एकाइ प्रमुख गोकर्णध्वज कार्कीका अनुसार भूकम्पमा क्षति पुगेकामध्ये आठकोठे एउटा, चारकोठे छवटा, दुईकोठे तीनवटा विद्यालयको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । 

उहाँले खानीखोला गाउँपालिकाको जनविकास माध्यमिक विद्यालयको आठकोठे, शुभचामुण्डा मावि बनेपा, बागदेवी मावि रोसी गाउँपालिका, पञ्चकन्या मावि रोसी गाउँपालिका, सिर्जनशील मावि चौँरीदेउराली, चण्डेनी मावि मण्डनदेउपुर र कालीदेवी मावि महाभारत गाउँपालिकाको चार/चारकोठे भवनको काम अन्तिम चरणमा रहेका छन् । 

त्यस्तैगरी टाँसी बाल विकास आधारभूत विद्यालय चौँरीदेउराली, हरिसिद्धि आधारभूत विद्यालय महाभारत र मेन्दोफोल आधारभूत विद्यालय महाभारतको दुईकोठे भवनको काम अन्तिम चरणमा पुगेको एकाइ प्रमुख कार्कीले बताउनुभयो । 

एकाइका इन्जिनियर श्रेया झाले जिल्लामा भूकम्पले क्षति पुगेका विद्यालयमा शौचालय निर्माण गर्ने कामअन्तर्गत आठवटा विद्यालयमा शौचालय निर्माण र एउटा विद्यालयमा खानेपानी व्यवस्थापनको काम अन्तिम चरणमा रहेको भन्दै निर्माण सम्पन्न गर्न बाँकी रहेका १० वटा विद्यालयको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो । 

भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत जिल्लामा विद्यालय व्यवस्थापन समितिमार्फत २६९ वटा, एसियाली विकास बैङ्कको सहयोगमा (ईईएपी) अन्तर्गत २८ वटा, डीआरएसपी–१ अन्तर्गत १० वटा, भारत सरकारको सहयोगमा १० वटा विद्यालयको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेका छन् । 

जिल्लामा भूकम्पले क्षति पुगेको विद्यालयका १४१ शौचालयमध्ये हालसम्म १३३ वटाको काम सम्पन्न भएको र ८७ वटा विद्यालयका खानेपानी योजनामध्ये ८६ वटा विद्यालयमा खानेपानीको काम सकिएको छ । प्रमुख कार्कीले निर्माण सम्पन्न हुन बाँकी रहेको विद्यालय भवन, शौचालय र खानेपानीको काम सम्पन्न गर्न केन्द्रीय आयोजना एकाइबाट ८८ लाख ६६ हजार रुपियाँ भुक्तानी आउन बाँकी रहेको बताउनुभयो । नेपाल सरकारले जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक अर्ब ३५ करोड १३ लाख ८६ हजार र शिक्षा विकास समन्वय एकाइमार्फत १७ करोड ५० लाख ८० हजार रुपियाँ खर्च भएको छ । 

यसैगरी एसियाली विकास बैङ्कले ईईएपी कार्यक्रमअन्तर्गत दुई अर्ब ७० करोड ४८ लाख, डीआरएसपी–१ अन्तर्गत ६२ करोड ८८ लाख २८ हजार, डीआरएसपी–२ अन्तर्गत ५९ करोड ७३ हजार ६० हजार र डीआरएसपी–३ अन्तर्गत २८ करोड ७१ लाख रुपियाँ बजेट आएको प्रमुख कार्कीले बताउनुभयो ।