• १३ साउन २०८१, आइतबार

नयाँ नेतृत्वको दायित्व

blog

यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको नतिजा अधिकांशजसो सार्वजनिक भएको छ । जसअनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । यद्यपि सङ्घ र प्रदेशमा एकल बहुमत कुनै दलको पनि पुग्ने सम्भावना कम छ । यो भनेको विगतको जस्तै मिलिजुली सरकार बनाउनुपर्ने हुन्छ । निर्वाचनको परिणामअनुसार मिलिजुली सरकार बन्यो भने विगतमा झैँ अस्थिरता चाहिँ देखिन सक्छ । यसलाई अब बन्ने नेतृत्वले रोक्न जरुरी छ ।

यदि पहिलेझैँ हुने हो भने नेपालमा आउने दिनमा भ्रष्टाचार नियन्त्रण हुनुको साटो झन् बढ्ने सम्भावना देखिन्छ । यसो भयो भने मुलुकको भविष्य अन्धकारतर्फ धकेलिन सक्छ । त्यसैले ठूला दलका नेताहरू आजैदेखि सुध्रन आवश्यक छ । अब नयाँ सरकार बनाउने कसरत सुरु भइसकेको छ । ठूलो दलको नाताले कांग्रेसको नेतृत्वमा सरकार बन्ने धेरै सम्भावना छ । जनताले निर्वाचनमार्फत दिएको सन्देश पनि सरकारको नेतृत्व कांग्रेसले नै गरोस् भन्ने हो । अब बन्ने सरकार जसको नेतृत्वमा 

बने पनि नेपालीको चाहना र राष्ट्रको आवश्यकताअनुसार राष्ट्रको हितमा काम गर्ने सरकार बन्नुपर्छ । किनभने भ्रष्टाचार नियन्त्रण कानुनले मात्र नभई आफ्नै दृढ सङ्कल्पबाट हुन्छ । हिजोको कार्यशैलीले अब नेतृत्वले मुलुक हाँक्न सम्भव हुँदैन, सम्भव पनि छैन । 

नेपालमा भ्रष्टाचार व्याप्त छ । भ्रष्टाचार संस्थागत नै भइसकेको छ । हुन त भ्रष्टाचार धेरै थोरै विश्वमै छ । एसियामा यो झनै झाँगिएको छ । नेपालमा विकास निर्माणको काममा प्राविधिकलाई १० प्रतिशत पैसा दिनुपर्ने एक खालको परम्पराजस्तै भइसकेको छ । यही भएकाले नेपालमा विकास निर्माणको काम समयमा हुँदैन र भएको काम पनि गुणस्तरीय हुन नसकेकाले बन्ने र बिग्रने सँगसँगै हुने गरेको छ । यही भ्रष्टाचारले गर्दा नेपाली जनता निराश भएका छन् । यसको असर हाम्रो वर्तमान राजनीतिक प्रणालीमा समेत पर्ने सम्भावना छ । यस पटकको निर्वाचनमा पहिलेको भन्दा कम मत खसेको निर्वाचन आयोगबाट सार्वजनिक भइसकेको छ । अब आउने नयाँ नेतृत्वले पनि पहिलेझैँ काम गर्ने र जनताले उस्तै पीडा भोग्नुपर्ने हो भने केही दिनमै विरोधको नयाँ शृङ्खला सुरु हुन सक्छ । पुराना हुन् वा नयाँ, पाँच वर्षका लागि निर्वाचित सांसदले पहिलो दिनदेखि नै नेपाली जनताको मर्म र भावना बुझेर काम गर्ने सोच शैली नबनाउने हो भने निकट भविष्यमा विरोधको सामना गर्नुको विकल्प छँदै छैन । 

प्रजातन्त्र पुनस्र्थापनापछिका कुरा गर्ने हो भने पनि २०४८ सालदेखि यताका करिब ३० वर्ष जनताले पीडा सहेका छन् । यो अवधिमा जनताले भ्रष्टाचारको विरोध नगरेका होइनन् तर विरोध गर्दागर्दै पनि भ्रष्टाचार रोकिएन । बरु झन्झन् मौलाएर गयो । अहिले हरेक क्षेत्रमा बिचौलियाको जगजगीजस्तो देखिन थालेको छ । नेतालाई भ्रष्टाचारको विरोधमा प्रतिबद्ध गराएर जनताले सङ्घ र प्रदेश सभामा मत दिएर सांसद बनाएका छन् । उम्मेदवारले पनि जनताको भावनाअनुसार कसम खाएर भ्रष्टाचारको विरोध गरेकाले मत पाएर जितेका हुन् । यो कसम पहिलेझैँ हात्तीका देखाउने दाँत मात्र हो भने नेताको राजनीतिक भविष्य सङ्कटमा आउने निश्चित छ । यो काम नयाँ वा पुराना सबै नेताले अनिवार्य रूपमा गर्नुपर्नेछ । अबका राजनीतिकर्मीले इज्जतसँग बस्न र राजनीतिक भविष्य बचाउन भ्रष्टाचार गर्ने र गराउने कल्पना पनि गर्न हुँदैन । अब नेतृत्वले यो यथार्थलाई हृदयङ्गम गरेर व्यवहारमा चरितार्थ गर्न आवश्यक छ । 

मङ्सिर ४ गते भएको निर्वाचनमा नयाँ अनुहार आएका छन् । केही हदसम्म यसको फाइदा स्वतन्त्र दललाई मिलेको छ । पुराना र ठूला दलका अहिले जितेका नेतालाई पनि पुरानै ढर्राले काम गर्ने गुञ्जाइस देखिँदैन । अब जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न हुनु भनेको उल्टो धार पानी बग्नेसरह हुनेछ । पुरानालाई मतदाताले जिताएको पनि चुनावमा भ्रष्टाचारको विरोधमा गरेको प्रतिबद्धताकै आधारमा हो । त्यसैले नयाँ दल र नेताले पनि पहिलेझैँ ढाँट्न सकिन्छ भन्ने नसोचे हुन्छ । पुरानै शैलीबाट अघि बढ्न सकिन्छ भन्ने विषय दिमागबाट हटाउनैपर्ने भएको छ । यो किन पनि भने एक त नेपाली जनता भ्रष्टाचारबाट उकुसमुकुस भइसकेका छन् । यही पाराले अघि बढ्ने हो भने मुलुककै भविष्य सङ्कटमा पर्ने अवस्था आउन सक्छ । 

नेपाली जनताको अहिलेको चिन्ता भनेको नेपाल श्रीलङ्का र युक्रेनजस्तो नबनोस् भन्ने नै हो । नदीको पानी सफा पार्न मुहान नै सफा गर्न आवश्यक पर्छ । राजनीतिक नेतृत्व भनेको मुलुकको भाग्य र भविष्यको मुहान हो । त्यसैले यसअघि भ्रष्टाचार धेरै भएर नै मुहान फोहोर भएको हो । भ्रष्टाचार नियन्त्रण गर्न मुहान सफा गर्न अनिवार्य भएकाले नेताबाटै सफाइ सुरु गर्न जरुरी छ । अब पनि सुधार नहुने र नगर्ने हो भने समग्रमा देशको सम्पूर्ण प्रणाली नै धर्मराउने छ । त्यसैले यस्तो सङ्कट कुनै हालतमा आउन नदिन सुरुकै दिनदेखि नेतृत्वले हेक्का राखेर काम गर्नु बुद्धिमानी हुनेछ । नेपालमा भ्रष्टाचार नेताको आडमा कर्मचारीको संलग्नतामा भइरहेकोमा दुईमत हुन सक्दैन । कर्मचारीलाई नियन्त्रण गर्ने काम नेताको नै हो । जो काम गर्ने क्रममा महìवपूर्ण तहमा रहने गर्छन् । भ्रष्टाचार नियन्त्रणका लागि मूलतः नेतृत्व आफैँ सफा हुन जरुरी छ । यसो भए मात्र अहिलेको भ्रष्टाचारको डङ्गुर हट्न सक्छ । यसैले यस पटकको निर्वाचनमा मतदाताले नयाँ दल र युवालाई परिवर्तनका लागि स्वागत गरेका हुन् ।

यसरी मत दिएर युवालाई जिताउनु भनेको अहिले नेपालमा भइरहेको भ्रष्टाचार र तमाम् विकृतिलाई हटाएर समयमै विकास निर्माणको काम गरेर जनताको जीवनस्तर उठाउनकै लागि हो भन्नेमा दुईमत हुँदैन । यो राम्रो सङ्केत हो । यो विश्वास र सफलतालाई बचाउन सके आउने दिनमा सफलताको शिखरमा पुग्ने बाटो खुल्नेछ । नेपाली जनताले नयाँ र युवालाई विश्वास गरेका दुई कारण छन् । पहिलो भनेको यसअघिका दल र नेताले नेपाली जनताको चाहनाअनुसार राम्रो काम गरेर मुलुकमा अपेक्षित विकास गराउन नसक्नु नै हो । दोस्रो, युवाले आजको विश्व र नेपाली जनताको आवश्यकता बुझेकाले पहिलेका नेताले झैँ आफ्नो स्वार्थमा लिप्त नभई नातावाद, कृपावाद र परिवारवाद नगरी नेपाल र नेपालीको हितमा काम गर्नेछन् भन्ने विश्वास हो । 

त्यसैले यस पटक सांसद जितेका युवाले नेपाल र नेपालीको हितमा काम गरेर मतदाताको विश्वासलाई जोगाउनुपर्छ । सांसदले जनताको यो विश्वासलाई अक्षुण्ण राखेर परिवर्तनको संवाहक बनेर मुलुक हाँक्न सक्नुपर्छ । अनि मात्र नेपालमा भ्रष्टाचारलगायतका मौजुदा सङ्कट टर्न सक्छ । अब नयाँ सरकारको पहिलो दायित्व यही हुनेछ ।