• १३ असोज २०८१, आइतबार

विराटनगर आईसीपी : थप पूर्वाधार निर्माणको प्रक्रिया सुरु

blog

नवराज कट्टेल

विराटनगर, मङ्सिर ११ गते । विराटनगर–१८, बुधनगरमा निर्माण गरिएको कस्टम यार्ड विस्तार प्रक्रिया अगाडि बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले कन्टेनर यार्ड, रेल यार्ड र पहुँचमार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । 

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार कन्टेनर र रेल यार्डका लागि ७० करोड रुपियाँको लागत अनुमान गरिएको छ । तत्कालका लागि कस्टम यार्ड र एकीकृत जाँच चौकी (आईसीपी) जोड्ने पहुँचमार्ग विस्तारका लागि ६० लाख रुपियाँको लागत अनुमान गरिएको छ । 

भारतको बथनाहादेखि विराटनगर बुधनगर आईसीपीस्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालनमा ल्याउन नेपालले गर्नुपर्ने आवश्यक तयारी सुरु गरिएको हो । 

कार्यकारी निर्देशक गजुरेलका अनुसार पहिलो चरणमा कार्गो रेलले नेपाल कस्टम यार्डसम्म ल्याएका कन्टेनरलाई मालवाहक सवारी साधनबाट आईसीपीको भन्सार यार्डसम्म लैजान प्रयोग हुने करिब दुई सय मिटर सडकलाई स्तरोन्नति गरिने छ । त्यसपछि कस्टम यार्ड र आईसीपीबीचको भागमा रेल यार्ड र कन्टेनर यार्ड निर्माण गरिने छ । यी दुवै प्रक्रियाका लागि गत भदौ १७ गते बोलपत्र आह्वान गरिएको थियो, जसको सम्झौता यही हप्तामा हुनेछ । 

कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो, “रेल यार्ड र कन्टेनर यार्डका लागि ठेक्का आह्वान गरिएको छ । अब प्लेटफर्म विस्तार, आईसीपीभित्रसम्म पहुँच मार्ग र आईसीपीभित्र कन्टेनर राख्न यार्डको काम गर्नुपर्नेछ । सम्झौता भएसँगै आगामी डेढ महिनाभित्रदेखि काम सुरु गरिने भएको छ ।” 

मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग सम्पन्न भएपछि बुधनगरको नेपाल कस्टम यार्डसम्म कार्गो रेल ल्याउने तयारीसमेत भइरहेको छ । त्यसका लागि कन्टेनर लिएर आउजाउ गर्ने सडक स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखिएको छ । नेपाल कस्टम यार्ड र आईसीपीबीचको दुई सय मिटरको सडक कालोपत्रे भएको छ तर भारी सवारी साधनको भारबहन थेग्ने अवस्थामा छैन । 

नेपाल कस्टम यार्ड र आईसीपी बीचमा ८७५ मिटर लम्बाइ र ३१ मिटर चौडाइको यार्ड पहिलो चरणमा निर्माण हुनेछ । त्यसपछि दोस्रो चरणमा आईसीपीभित्रको खाली जमिनमा थप ४० मिटर चौडाइ कन्टेनर प्लेटफर्म निर्माण गरिनेछ । त्यसपछि आईसीपीभित्रै ७१ मिटर चौडाइको  कन्टेनर प्लेटफर्म हुनेछ । 

रेलमार्गको १८.६ किलोमिटरमध्ये बथनाहा रेल–वे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको सात किलोमिटर दूरीमा २०७६ कात्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो । त्यसपछि बारम्बार रेलमार्ग विस्तार प्रयोजनका लागि आवश्यक सामग्री लिएर रेल आइरहेको छ ।