• ९ मंसिर २०८१, आइतबार

आज काठमाडौंमा यो वर्षकै बढी चिसो

blog

काठमाडौं, मङ्सिर ६ गते । काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज (मङ्गलबार) काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ ।

सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै मौसम पूर्वानुमान महाशाखाले तापक्रम क्रमशः घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै चिसो सुरु हुन्छ । केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । राति प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव सात डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको छ ।